केही वर्षअघिसम्म अनवर असरफ औजार चलाउँदै दिनभर कारखानामा एक्लै खटिन्थे। जिउभरि धुलैधुलो हुन्थ्यो। उनलाई धुलोमैलोको र भोकतिर्खाको ख्याल धरी हुँदैन थियो।
अचेल उनको दैनिकी फेरिएको छ। एसी लागेको कोठमा बसेर कामदारलाई अह्राउँदै गरेका भेटिन्छन् उनी।
जनकपुरधामको रामानन्द चोकस्थित 'टेक्निकल युपिभिसी एण्ड अलमुनियम उद्योग'का सञ्चालक अनवरलाई एउटा सटरदेखि उद्योगसम्मको यात्रा तय गर्न ८ वर्ष लाग्यो। उनलाई उद्यमी बन्न भने त्योभन्दा अघिदेखिका संघर्ष र अभावले प्रेरित गरेका हुन्।
उद्योगमै भेटिएका उनले आफूले राम्रो पैसा कमाउनका लागि विदेशमा सिप सिकेकोदेखि आफ्नो उद्योग खोलेसम्मका कथा हामीलाई सुनाए।
महोत्तरीको लोहरपट्टी नगरपालिका–७, भ्रमरपुराका अनवरले उच्च शिक्षा पढ्न पाएनन्। जसोतसो एसएलसी चाहिँ उत्तीर्ण गरे।
गरिबीका कारण उनी सानैदेखि पैसा कमाउनुपर्ने दबाबमा थिए। एसएलसी उत्तीर्ण भएपछि आफ्नै देशमा काम खोजी गरे पनि पाएनन्। पढाइ थोरै थियो, हातमा सिप थिएन, मायाले काम कसैले दिँदैनथे।
केही महिना ज्यालामा मजदुरी गरे तर दुःखअनुसार कमाइ नहुने, नयाँ सिप पनि केही नसिकिने।
अन्ततः गाउँका अन्य युवाझैं अनवर पनि २०६३ सालमा १८ वर्षको उमेरमा कतार गए। त्यहाँ ‘अल्मुनियम फर्निसिङ’ कम्पनीमा हेल्पर भएर काम गरे। त्यो कम्पनी अल्मुनियमको झ्यालढोका र फलामको ग्रिल बनाउँथ्यो।
‘त्यति बेला जोसिएर कतार गएँ तर त्यहाँ पनि लेबर (मजदुर) भएर दुःख गर्नुपर्यो। दिनभर काममा खट्नुपर्थ्यो तर तलब थोरै थियो,’ उनले भने ‘काम जान्ने मान्छेले धेरै तलब पाउँथ्यो, नजान्नेले दुःख पाउँथ्यो।’
दुःख त अनवरले पनि कति पाए कति। तर उनले काम सिके। सामान ओसारपसार गर्ने हेल्पर हुँदै झ्यालढोका बनाउने कामको सहयोगी भए। करिब दुई वर्ष काम गर्दा उनी जान्ने भए। मेसिन चलाउन, नाप लिन, काटकुट र जोडजाड गर्न जानेपछि तलब बढ्दै गयो।
यसरी उनले लगातार ८ वर्ष कतारमा काम गरे। हातमा सिप भयो। घरखर्च पनि राम्ररी टर्यो, थोरैतिनो पैसा पनि जम्मा भयो।
पैसा भए पनि आफ्नो घरपरिवार, गाउँठाउँको सम्झनाले छाडेन।
‘सुरूमा केही उपाय नहुँदा धेरै दुःख गरेँ। दिनरात खटेँ। सिप भयो, ठिकैको पैसा पनि कमाएँ,’ उनले भने, ‘यति भएपछि अर्काको देशमा अर्काको अधीनमा बसेर काम गर्न मन लागेन, आफ्नै देश फर्कें।’
फर्किन त फर्के तर अब के गर्ने!
कतारमा कमाएको पैसाले एउटा घडेरी किने। केही पैसा बचाएर राखे। आफूले जानेको कामबाट कमाइ हुने सम्भावना खोजी गरे। अन्ततः उनी एउटा सानो कारखाना खोल्ने निर्णयमा पुगे।
सोहीअनुसार २०७२ सालमा जनकपुरधामको रामानन्द चोकमा एउटा सटर भाडामा लिए। आवश्यक उपकरणहरू किने। त्यसमा एक लाख रुपैयाँ खर्च भयो। काम सुरू गरे।
अलिअलि काम आउन थालेको थियो, नयाँ संविधानले मधेसका माग सम्बाेधन नगरेको भनेर आन्दोलन सुरू भयो। करिब ६ महिना केही पनि काम भएन तर घरभाडा तिरिरहनु पर्यो। व्यवसाय चल्ने नचल्ने टुंगो भएन।
परिवारजनबाट फेरि कतार नै जान दबाब पर्यो। उनी इच्छुक थिएनन्, हेर्दै जाऊँ भनेर बेवास्ता गरे। विस्तारै मधेसको अवस्था सामान्य बन्दै आयो। फेरि काम सुरु गरे। मान्छेको चासो बढ्यो। अर्डर आउन थाल्यो।
दिनदिनै आम्दानी बढ्दै गयो। बितेको आठ वर्षमा राम्रो कमाइ भयो। हालसम्ममा कारखानामा एक करोड रुपैयाँभन्दा बढीको पुँजी छ।
अनवर भन्छन्, ‘हार मानेर फेरि विदेश गएको भए अहिलेसम्म उतै हुन्थेँ। आँट गरेर आफ्नै देशमा काम गरें। यो देशमा केहीको पनि टुंगो हुँदैन भनेर कारखाना नखोल्न सल्लाह दिनेहरू अहिले राम्रो गर्यौ भन्छन्।’
हाल उनको उद्योगमा दैनिक अल्मुनियमका ५० वटासम्म र युपिभिसीका २० वटासम्म झ्यालढोका बन्छन्। उनी एक्लैले सुरू गरेको कारखानामा हाल ८ जना कामदार छन्।
उनका अनुसार माग बढ्दै छ, कारखानामा काम पनि थपिँदै छ। आगामी दुई वर्षमा कम्तीमा १६ जना कामदार हुनेछन्।
उनको व्यापार बढेको छ, कमाइ पनि राम्रै छ तर बाहिरबाट अरूले देखेको जस्तो सजिलो गरी भएको होइन। काम सुरु हुँदाहुँदै ६ महिना मधेसको आन्दोलनले काम रोकियो। कामको गति बढ्दै थियो फेरि कोरोना भाइरस संक्रमणको महामारी फैलियो। झन्डै एक वर्ष काम ठप्प भयो।
दुई वर्षयता कामले राम्रो लय समातेको छ तर बजारमा अल्मुनियमका झ्यालढाकाको माग घट्न थालेको छ। उनका अनुसार अल्मुनियमको ठाउँ युपिभिसीले लिँदै छ। अनवरले अल्मुनियम घटाउँदै युपिभिसीको काम बढाउने तयारी सुरु गरेका छन्।
‘माग पनि परिवर्तन हुँदै गएको छ। अल्मुनियमभन्दा युपिभिसी महँगो छ तर यसको सामान राम्रो देखिन्छ,’ उनी भन्छन्, ‘युपिभिसीको काम बढाउने तयारी गर्दै छु।’
उनको कारखानामा झ्यालढोका, पार्टेसन, कार्यालय र आवास सजावट लगायतको काम हुन्छ।
अनवरलाई खाडी मुलुक कतारको रापमा गरेको दुःखले धेरै सिप र केही पैसा दियो। सबैभन्दा बढी चाहिँ आफ्नै देशमा काम गर्न सक्छु भन्ने आँट दियो। त्यही सिप, पैसा र आँटले उनलाई आफ्नै माटोमा सन्तोष दिएको छ।
दुःख नै सही, उनका लागि कतार पनि धन्य छ।
‘आफ्नो देशमा काम गर्नुको छुटै मजा छ। मार्केटिङ गर्न जानियो र मिहिनेत गर्न सकियो नेपालमै राम्रो कमाइ हुन्छ,’ अनवर भन्छन्, ‘काम गर्न जान्नुपर्छ, बल गरेरमात्र हुँदैन। हातमा सिप हुनैपर्छ।’
उनका लागि सबैभन्दा पछिल्लो समस्या सामानको माग घट्नु हो। आर्थिक मन्दीका कारणले माग घटेको उनको अनुमान छ। । ‘डिमान्ड (माग) घटेको छ। हुनुपर्ने जति काम भएको छैन,’ उनी भन्छन्, ‘उधारो कारोबार बढेको छ। भुक्तानी ढिलो हुन थालेको छ।’
मिटरब्याजीको हल्लाले पनि व्यापारमा असर परेको उनको ठहर छ। उनका अनुसार साहु–महाजनले ऋण लगानी गर्न छाडे। ऋण लिएर काम गर्ने क्रम घट्यो।
आफ्नो जस्तो सानो उद्योगलाई कुनै पनि तहको सरकारले सहयोग नगरेको अनवरको गुनासो छ। बैंकले ब्याजदर बढाउने गर्दा पनि समस्या परेको छ। हाल उनी १५ प्रतिशत ब्याजमा बैंकको किस्ता तिर्दै छन्।
बैंकमा ऋण लिन जाँदा कमिसन माग्ने गरेको उनको अरोप छ। ‘बैंकका कर्मचारी र बिचौलियाले कमिसन मागेर व्यवसायीलाई हैरान पारेका छन्। यसले व्यवसायीको मनोबल घटाएको छ,’ उनी भन्छन्, ‘व्यवसायीले बैंकबाट ऋण लिनैपर्छ। त्यहाँ बिचौलिया आउँछन्। कमिसन नदिई हुँदैन।’
व्यवसायमा अनेक चुनौती छन्। प्रत्येक व्यवसायीले कुनै न कुनै चुनौती र समस्या सामना गर्नैपर्छ। चुनौती र समस्या पार लगाउँदै अघि बढ्नुपर्छ। अनवर यही वास्तविक धरातलमा विश्वास गर्छन् र त्यसैअनुसार अघि बढ्दै छन्।