हामीमध्ये धेरैले पत्रपत्रिकामा बाटो पत्ता लगाउने खेल एक न एकपटक त खेल्यौं होला! झुक्किने बाटो अनि फेरि बीचमा हराउँदै, घुम्दै गन्तव्यमा पुर्याउन सिकाउने यो खेल रमाइलै हुन्छ।
यस्तै बाटो पत्ता लगाउने खेल वास्तविक जीवनमै खेल्न मन छ? छ भने ललितपुर, कुमारीपाटीस्थित 'मिरर-मेज' जानुहोस्। त्यहाँ तपाईंले कलमले होइन, आफैं हिँडेर बाटो पत्ता लगाउने खेल खेल्न सक्नुहुन्छ। काठमाडौं, चाबहिलमा पनि छ है!
'यो बाटो पत्ता लगाउने खेलजस्तै हो। तर यहाँ कलमले होइन आफू हिँडेरै गन्तव्य पत्ता लगाउनु पर्छ,' मिरर-मेजका सह–सञ्चालक तेन्जिङ नुरु शेर्पा भन्छन्, 'यहाँ भित्र छिरेपछि ऐनाको संसारमा हराएजस्तो अनुभव हुन्छ।'
ओहो, ऐनै-ऐनाको भुलभुलैया!
चारैतिर ऐनाले घेरिएकाले जताजतै आफैंलाई देखिन्छ, निस्किने बाटो पनि कुन चाहिँ हो भनेर ठम्याउन मुश्किल पर्छ। वास्तविक र ऐनामा देखिएकोमध्ये कुन बाटो साँचो हो भनेर मान्छेहरू झुक्किन्छन्।
यो खेलको मुख्य चुनौती नै खेलका लागि तोकिएको निश्चित समयभित्र सही बाटो पत्ता लगाएर बाहिर निस्किनु हो।
यस्तो खेल विदेशमा निकै रूचाइन्छ। नेपालमा भने आफूहरूले पहिलोपटक भित्र्याएको मिरर-मेजका सञ्चालकहरूको दावी छ।
मिरर-मेज तीन जनाले सञ्चालन गरेका हुन्- तेन्जिङ, रेसिका आचार्य र निमा शेर्पा।
यसको योजना भने सुरूमा रेसिका र तेन्जिङले बुनेका हुन्।
हाल २२ वर्ष मात्र पुगेका तेन्जिङ र रेसिका कलेजदेखिकै साथी हुन्। उनीहरू दुवैले बिजनेस विषयमा स्नातक सकेका छन्। मिरर-मेजको आइडिया उनीहरूलाई कलेज पढ्दापढ्दै आएको थियो।
दोस्रो वर्ष पढ्दै गर्दा उनीहरूले 'आन्ट्रप्रेनरसिप' कक्षा पढ्नु पर्ने थियो। यो विषयमा विद्यार्थीलाई सिर्जनात्मक व्यवसायको आइडिया सोच्न लगाएर त्यसलाई कसरी सुरू गर्ने भनेर सिकाइन्छ। पहिल्यैदेखि उद्यमी बन्ने जोस बनाएका तेन्जिङ र रेसिकाका लागि यो नयाँ अवसर थियो। त्यसैले उनीहरूले नेपालमा सञ्चालन नभएका कामको आइडिया खोज्न थाले।
'हामीलाई विशेषगरी मनोरञ्जन क्षेत्रमा काम गर्ने सोच थियो,' तेन्जिङले भने, 'फिल्म हल, रेस्टुरेन्ट, फनपार्क त अगाडि नै भइसकेकोले त्यसमा हात हाल्न मन थिएन।'
उनका अनुसार त्यही बेला रेसिकाले आफू ए-लेभल पढ्दा मलेसिया गएको सम्झिन्। मलेसिया भ्रमण जाँदा उनी त्यहाँको मिरर-मेज गएकी थिइन्। त्यो ठाउँ उनलाई एकदमै रमाइलो लागेको थियो।
'अनि नेपालमा अहिलेसम्म कसैले सुरू नगरेको थाहा पाएपछि यसैमा काम गर्ने सोच उनले फुराइन्,' तेन्जिङले सम्झिँदै भने, 'मलाई पनि आइडिया मनपर्यो र यसमै काम गर्ने निधो गर्यौं।'
पढाइका लागि आइडिया त फुर्यो, तर दुई तन्नेरी विद्यार्थीसँग व्यवसाय गर्न लगानी थिएन। आफ्नै कमाइको स्रोत पनि भएन। त्यसैले उनीहरू दुवैले आ-आफ्ना परिवारलाई व्यवसायको योजना सुनाए। छोराछोरीले सानै उमेरदेखि केही नयाँ काम गर्न खोजेको देख्दा परिवार खुसी भए। नेपालमा यस्तो खाले व्यवसाय टिक्न सक्ला वा नसक्ला भन्ने डर त सबैलाई थियो नै।
त्यही बेला तेन्जिङकी दिदी निमाले उनीहरूलाई सहयोग गर्ने भइन्। अनि निमा, तेन्जिङ र रेसिका मिलेर सन् २०१९ मा मिरर-मेज सञ्चालन गरेका हुन्।
मिरर-मेज बनाउन उनीहरूले मलेसियाबाट यसबारे जान्ने विशेषज्ञ बोलाएका थिए। नेपालमा यस्तो ठाउँ नबनेकाले सल्लाह-सुझाव लिने मान्छे नपाएपछि बाहिरबाट बोलाउनुपरेको तेन्जिङ बताउँछन्।
'यसको डिजाइन सुरूमा मैले आफैं गरेको थिएँ। तर मेरो डिजाइन देखेर मलेसियाका विशेषज्ञ हाँस्नुभयो,' उनले सुनाए, 'यो भुलभुलैया बनाउन सोचेजस्तो सजिलो रहेनछ। यसमा गणित मिलाएर ऐनालाई कुन कोणमा राख्ने भनेर हिसाब गर्नुपर्ने रहेछ। आफ्नै तरिकाले राख्दा प्रतिबिम्ब राम्रोसँग बन्दैन। ऐना पनि हाम्रो घरको जस्तो होइन, बाक्लो खालको राख्नुपर्ने रहेछ।'
बीस फिट लम्बाइ र बीस फिट चौडाइको मिरर-मेजमा सय वटा जति ऐना प्रयोग गरिएको तेन्जिङले जानकारी दिए।
व्यवसाय नै नयाँ भएपछि यसलाई तयार पार्ने खर्च पनि निकै लाग्यो उनीहरूलाई। तेन्जिङका अनुसार यसको पूरा काम सकेर सञ्चालनमा ल्याउँदासम्म करिब चालीस लाख रूपैयाँ खर्च भयो। कुमारीपाटीमा खुलेको केही महिनापछि उनीहरूले चाबहिलमा पनि मिरर-मेज खोले।
'चाबहिलको मिरर-मेज अलि फरक र क्षेत्रफल पनि कुमारीपाटीको भन्दा धेरै छ,' तेन्जिङले भने।
कुमारीपाटीको मिरर-मेजमा ग्राहकले तीन वटा थिमका खेल अनुभव गर्न पाउँछन्– ब्लु, डार्क र हरर।
ब्लु थिममा भित्र नीलो बत्ती मात्रै बालिएको हुन्छ। डार्कमा सबै कोठा अँध्यारा हुन्छन् भने हररमा भूतको आकृति राखेर डरलाग्दो बनाउने प्रयास गरिएको छ। चाबहिलमा भने ब्लु, लेजर र इन्फिनिटी थिम छ। इन्फिनिटीमा ऐनाले घेरिएको एउटा सानो कोठाभित्र झिलिमिली बत्ती नै बत्ती हुन्छ।
यहाँभित्र छिरेपछि बाहिरबाट ढोका लगाइन्छ। कसैलाई निसास्सिएजस्तो महसुस हुन सक्छ। तर सहज होस् भनेर भित्र पंखा र भेन्टिलेटर राखिएको छ।
'कोही मानिस भित्र जान निकै उत्सुक हुन्छन् र खुसीले दौडिँदा ऐनामा ठोक्किएर चोटपटक पनि लाग्न सक्छ,' तेन्जिङ मिरर-मेजका चुनौती सुनाउँछन्, 'त्यसैले हामी सबैलाई सुरूमै विस्तारै, बरू ऐनामा छुँदै हिँड्न भन्छौं। यसका लागि हातमा पन्जा र जुत्ता बाहिर कभर लगाउन दिन्छौं।'
एउटा भुलभुलैयामा दस मिनेट रमाउन सकिन्छ। विद्यार्थी कार्ड भएकालाई दस मिनेटको दुई सय रूपैयाँ पर्छ। अरूलाई दुई सय पचास रूपैयाँ।
कसैलाई तीनवटै थिम अनुभव गर्न मन भए 'कम्बो प्याकेज' छ। यसमा आधा घन्टा समय दिइन्छ। तीन थिमका लागि विद्यार्थीले पाँच सय रूपैयाँ र अरूले छ सय रूपैयाँ तिर्नुपर्छ।
तेन्जिङका अनुसार यस्तोखालको मनोरञ्जन नेपालमा पहिलोपटक भएकाले मानिसहरू धेरै आकर्षित भइरहेका छन्। सामाजिक सञ्जालले पनि ग्राहक बढाएको छ। धेरै जना त टिकटक बनाउनै आउँछन्।
शनिबार र बिदाको दिनमा यहाँ बढी भिड हुन्छ। हप्तामा करिब पाँच सय जति मानिस परिवार र साथीसँग रमाइलो गर्न आउँछन्। मंगलबार भने मिरर-मेज बन्द हुन्छ।
'अहिलेका ग्राहकबाटै महिनामा दुई लाख जति कमाइ भइरहेको छ,' तेन्जिङले भने।
कोरोना लकडाउनले गर्दा बीचमा मिरर-मेज रोकिएको थियो। सञ्चालनमा आएको केही महिनामै काम ठप्प हुँदा सञ्चालकहरूले आर्थिक समस्या पनि खेपे।
तेन्जिङ भन्छन्, 'सुरूमा मिरर-मेज खोल्दा ग्राहक निकै कम आउँथे। सामाजिक सञ्जालको मद्दतले बल्ल चर्चा पाउन थालेको थियो, त्यो पनि लकडाउनले रोकियो। अब भने लयमा आएको छ।'
लकडाउन नभएको उनीहरूले अर्को ठाउँमा पनि मिरर-मेज खोल्ने योजना बनाएका थिए। तर तत्काललाई तेन्जिङ, रेसिका र निमाले यो योजना रोकेका छन्। भएका दुइटालाई नै कसरी राम्ररी अगाडि लैजाने भनेर सोचिरहेको उनीहरू बताउँछन्।
'मिरर-मेजको आइडिया नआएको भए यति बेला हामी पढ्न वा कामका लागि विदेश पलायन भइसक्थ्यौं होला,' तेन्जिङ भन्छन्, 'अब त नेपालमै बसेर अरू नयाँ व्यवसाय गर्ने सोचमा छौं।'