हामी प्रयोग नभएका वा खेर गएका कागज र प्लास्टिक प्रायः अरू फोहोरसँगै फाल्छौं। धेरै भए ती फोहोर व्यवस्थापन गर्न कहिलेकाहीँ बेग्लै पैसा पनि तिर्नुपर्छ।
तर यस्ता कागज र प्लास्टिक दिँदा उल्टै पैसा पाइन्छ भन्ने तपाईंहरूमध्ये धेरैलाई थाहा छ कि छैन?
डोको रिसाइक्लर्स नामक कम्पनीले पुनः प्रयोग गर्न मिल्ने कागज र प्लास्टिक लिइदिन्छ। आफ्नो घर वा अफिसमा भएका कागज र प्लास्टिक अलग्गै राखेर पछि डोकोलाई दियौं भने त्यसबापत पैसा पनि पाइन्छ।
डोको फोहोर व्यवस्थापन तथा त्यसलाई फेरि प्रयोगमा ल्याउने कम्पनी हो। यो कम्पनीले वातावरण संरक्षणलाई ध्यानमा राख्दै लागि काम गरिरहेको छ। यसका पाँच सञ्चालक छन्- राघवेन्द्र महतो, कुशल हर्जानी, रुनीत सार्या, पंकज पुन्जियार र आश्मा बस्नेत। उनीहरू डोकोलाई सामाजिक उद्यम भनेर चिनाउँछन्।
'डोकोमार्फत् हामीले करिब चार वर्षदेखि देशका विभिन्न ठाउँबाट पुनः प्रयोग गर्न मिल्ने सामान उठाएर व्यवस्थापन गरिरहेका छौं,' कम्पनीका सञ्चालकमध्येका राघवेन्द्रले भने।
यसको आइडिया सुरूमा राघवेन्द्रले नै फुराएका थिए। थाइल्यान्डमा एमबिए गरेर फर्किएका उनी समाजका निम्ति काम गर्न चाहन्थे। यो कुरा उनले आफ्ना साथी कुशल र रुनीतलाई सुनाए। राघवेन्द्रको विचार उनीहरूलाई मनपर्यो।
के गर्न सकिन्छ भन्दै उनीहरूले सबै मान्छले आफ्ना वरिपरि भोगिरहेका समस्या खोजे। त्यसमा फोहोर व्यवस्थापन क्षेत्र निकै अव्यवस्थित पाए। यही समाधान गर्ने सोचेर डोकोको अवधारणा अगाडि सारे। सन् २०१७ मा स्थापित डोकोमा तीन महिनापछि पंकज र आश्मा पनि जोडिए।
'डोकोको जन्म काठमाडौंको फोहोरको थुप्रो व्यवस्थापन गर्ने इच्छाबाट सुरू भएको हो,' सञ्चालकमध्येका रुनीतले भने, 'यो सामाजिक उद्यमको मुख्य लक्ष्य नै बढ्दो फोहोरको समस्या समाधान गर्ने र वातावरण मैत्री काम गर्ने हो।'
७५ लाख लगानीमा सुरू भएको डोकोमा अहिले ३५ जना कर्मचारी छन्। व्यवसाय विस्तारसँगै लगानी पनि बढिरहेको उनी बताउँछन्।
रुनीत कम्पनीको लेखा विभाग हेर्छन् भने सञ्चालनको जिम्मा पंकजको हो। राघवेन्द्र ग्राहक र सामाजिक सञ्जालको पाटो सम्हाल्छन्। हाल अमेरिकामा बस्दै आइरहेकी आश्मा कम्पनीको स्ट्राटेजी प्लानिङ बनाउँछिन् र कुशल डोकोका अध्यक्ष रूपमा छन्।
रुनीत, राघवेन्द्र र पंकजले सँगै इञ्जिनियरिङ पढेका हुन्। कुशलले भने विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् र आश्माले सामाजिक विज्ञानमा स्नातकोत्तर। उनीहरूले थाइल्यान्ड, जर्मनी, अमेरिका, भारत लगायत देशमा पढेका हुन्।
भिन्न विधामा अध्ययन र अनुभव भए पनि फोहोर व्यवस्थापनको काम रोज्नुको कारण खुलाउँदै अर्का सञ्चालक पंकज भन्छन्, 'विदेशबाट पढेर फर्किँदा नेपालमै केही काम गर्नुपर्छ भन्ने सोच थियो। आफ्नो पढाइ क्षेत्रमा नयाँ काम गर्ने योजना बनाएको पनि थिएँ। डिग्री लिएर हामीले धेरै पैसा कमाउन सक्थ्यौं तर हाम्रो ध्यान पैसामा मात्र थिएन। समाजमा केही फरक ल्याउने काम गर्ने इच्छा थियो। त्यही बेला राघवेन्द्रले डोकोबारे सुनाए र यसैमा काम गर्ने निधो भयो।'
उनीहरूका अनुसार डोको सञ्चालनमा ल्याउँदा नेपालमा यसखालको कुनै व्यवसायिक कम्पनी थिएन। अर्थात् विभिन्न तरिकामा फोहोर व्यवस्थापन गर्ने र फोहोरबाटै नयाँ सामान उत्पादन गरेर बिक्री गर्ने।
सुरूआती छ महिनासम्म उनीहरूको कामलाई कसैले गम्भीर रूपमा लिएका पनि थिएनन्। पछि विस्तारै फैलिँदै गएको र मानिसहरूले महत्व बुझ्न थालेको उनीहरूको भनाइ छ।
डोकोका विभिन्न सेवामध्ये ग्राहकले जम्मा पारेर राखेका पुनः प्रशोधन/प्रयोग गर्न मिल्ने फोहोर उठाउने हो। पंकजले भने, 'यसका लागि सदस्यता प्रणाली छ। हामी हप्तामा एकपटक गाडी लिएर नियमित ग्राहकका ठाउँमा सामान लिन जान्छौं।'
डोकोका सदस्य विशेषगरी कर्पोरेट अफिसहरू हुन्। सदस्यताका लागि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। सुरूमा डोकोका कर्मचारी सम्बन्धित कम्पनीको फोहोर व्यवस्थापनको अवस्था हेर्न आउँछन्। त्यसअनुसार 'वेस्ट अडिट' तयार गरी त्यहाँ कस्ता प्रणाली ल्याउनुपर्छ भनेर योजना बनाउँछन्। अनि कम्पनीका सबै कर्मचारीलाई व्यवस्थापन सुधार्न परामर्श तथा सुझाव पनि दिन्छन्।
पंकजका अनुसार सदस्यता शुल्क आठ सयदेखि हजार रूपैयाँसम्म छ। यो मूल्य कम्पनीबाट निस्किने फोहोरको परिमाणअनुसार हुन्छ। डोकोले बजारमा फोहोर कागज वा प्लास्टिकको भाउका आधारमै ग्राहकलाई पैसा दिने उनको भनाइ छ।
'पुनः प्रयोग गर्न मिल्ने कागज र प्लास्टिक धेरै किसिमका हुन्छन्। ग्राहकले सकेसम्म आ–आफ्ना किसिमले छुट्याएर राख्न सके त्यहीअनुसार पैसा बढी पाउँछन्,' पंकजले प्रस्ट्याउँदै भने, 'सामान छुट्याउन नसकिएको र सबै एकै ठाउँमा राखेर दिए पनि त्यसको मूल्य दिन्छौं।'
पैसा दिँदा उनीहरूले रसिद पनि दिन्छन्। यसको विवरण डोकोको वेबसाइटमा राखिने र ग्राहक आफैंले हेर्न सक्ने उनले जानकारी दिए। हरेक फोहोरको मूल्य फरक भएकाले कुनको कति पैसा आउँछ भनेर जानकारी पनि वेबसाइटबाटै पाउन सकिन्छ।
यसबाहेक कुनै कम्पनी वा बैंकका गोप्य कागजात वा हार्डड्राइभहरू राम्ररी मास्न परे डोकोसँग मसिना टुक्रा पार्ने 'स्रेडिङ' मेसिन छ। कम्पनीका अनुसार कागजात लिएर भक्तपुर, सानो ठिमीस्थित डोको कारखाना गए कागज टुक्राएको शुल्क लाग्दैन। डोकोलाई आफ्नै ठाउँमा बोलाउँदा भने शुल्क लाग्छ। तर यसरी बोलाउन डोकोले तोकेअनुसार निश्चित किलो कागज भने हुनुपर्छ। यसको गोपनियताको सुनिश्चितता पनि डोकोले प्रदान गर्छ।
डोकोलाई अफिसहरूले मात्र होइन, उपभोक्ताले पनि फोहोर दिन सक्छन्। तर यसका केही सर्त छन्।
'प्रत्येक घरले एक-दुई किलो फोहोर जम्मा गरेर बोलाउँदा हामीलाई थोरै सामानका लागि आउजाउमा समस्या पर्छ,' रुनीतले भने, 'बरू फोहोर टन्न सम्हालेर राख्नु अनि बोलाउनु। थोरै नै छ तर पनि हामीलाई बोलाउनुहुन्छ भने चाहिँ हामी केही शुल्क लिन्छौं।'
उनीहरूले आफ्ना नियमित ग्राहकलाई वर्षको अन्तिममा एउटा प्रमाणपत्र पनि दिन्छन्। सो पत्रमा उपभोक्ताले वर्षमा कति कागज जोगाएर कति रूख काट्नबाट रोकेको भन्ने उल्लेख गरिन्छ।
यसरी बटुलेका कागज र प्लास्टिक डोकोले के गर्छ त?
पंकजका अनुसार सबभन्दा पहिले यिनको मिहिन वर्गीकरण हुन्छ र त्यहीअनुसार छुट्याइन्छ। अनि त्यसलाई प्याक गरेर कागज र प्लास्टिक पेलेर सामान बनाउने विभिन्न कारखानामा बेचिन्छ।
'हामीकहाँ पुनः प्रयोग/प्रशोधन गरेर कुनै कम्पनीले एक्लै उत्पादन बनाउन सक्दैन। यसमा थुप्रै काम जोडिएको हुन्छ। नेपालमा यस्ता कारखाना नभएकाले हामीले भारतका कारखानासँग सहकार्य गरेका छौं,' उनले भने।
डोकोले सामान बेच्न दुई वर्षअघि 'तत्व' नामक बेग्लै वेबसाइट बनाएको छ। यसमा मदिराका बोतलबाट बनाइएका विभिन्न डिजाइन र प्रयोजनका गिलास, ल्याम्प, मैनबत्ती स्ट्यान्ड, कम्पोस्ट बकेट, डस्टबिन, बाँसको ब्रस-काइँयो, तामाका भाँडा, वाइनका बोतलमा लगाउन मिल्ने सिलिकनका बिर्को लगायत वातावरणमैत्री र पुनः प्रशोधित सामानहरू पाइन्छ। यीमध्ये केही सामग्री भारत र चीनबाट आयात गरिएका हुन्।
'मानिसहरूमा दिगो र वातावरणमैत्री सामान प्रयोगको बानी बसोस् भनेर हामीले आयात गरेर बेचिरहेका हौं,' पंकजले भने, 'यो हाम्रो मुख्य व्यवसाय होइन। तर यसैले बिस्तारै डोकोको लक्ष्यलाई अगाडि बढाइरहेको छ।'
बिग्रेका ल्यापटप वा अन्य विद्युतीय उपकरण पनि डोकोलाई दिन सकिन्छ। यी सामान मिल्ने भए बनाएर सस्तोमा तत्व वेबसाइटमै बिक्रीका लागि राखिन्छ।
तर डोकोले पुनः प्रयोग/प्रशोधन गरेर बनाएका सामान महँगो भएको गुनासो पनि आइरहेको हुन्छ। यसबारे रुनीत भन्छन्, 'ठूलो परिमाणमा उत्पादन गर्दा सामान सस्तो पर्ने हो। तर हामीकहाँ सबै सामान हातले बनेको हुन्छ। त्यसमा लाग्ने मेहनत, समय र तिनलाई ग्राहकसम्म पुर्याउने खर्चका कारण महँगो पर्ने हो।'
डोकोले फोहोर व्यवस्थापनबारे विभिन्न चेतनामूलक कार्यक्रम पनि गर्छ। विभिन्न कार्यालय, कलेज, विद्यालय वा पालिका, टोलको अनुरोधमा कम्पनीले फोहोर व्यवस्थापन जागरूक कार्यक्रम तथा तालिम सञ्चालन गर्दै आएको छ।
आफूहरूले वातावरण संरक्षणनिम्ति काम गरिरहे पनि सरकारी निकायबाट भने कुनै सहयोग नपाएको डोको सञ्चालकहरू गुनासो गर्छन्।
उनीहरूले उदाहरण दिँदै भने, 'हामीले केही सहयोग र आफ्नै खर्चमा ट्युबलाइट र तारहरू क्षति गर्ने मेसिन लाखौं खर्चेर आयात गर्यौं। ती मेसिन कुनै उत्पादन गरेर आर्थिक फाइदा लिन ल्याइएको होइन, वातावरण जोगाउन प्रयोग गर्ने हो। सानो स्तरमा चलिरहेका हामीजस्ता कम्पनीलाई महँगा मेसिन ल्याउन सहज हुँदैन। यस्तो बेला सरकारको सहयोग निकै खाँचो हुन्छ। तर सरकारी निकायबाट सजिलो बनाइदिने कुनै काम भएको छैन।'
अहिले डोकोले काठमाडौं उपत्यका र बाहिरका कम्पनीबाट फोहोर उठाएर ल्याइरहेको छ। घरमा दिने सुविधा हाल काठमाडौंमा मात्र छ। तर विस्तारै घरायसी क्षेत्रमा सेवा सहज बनाउँदै लाने र काठमाडौं बाहिर पनि फैलाउने योजना कम्पनीको छ।