परिवार र साथीहरूसँग बसेर पोलेको मासु खाने रहर धेरैलाई होला। तर यसका लागि दाउरा खोज्न र आगोको धुँवा खेप्नुको झन्झट उत्तिकै।
ग्राहकहरूको यही समस्या मध्यनजर गर्दै 'ग्रिल दरबार'ले नेपाली स्वादमा ग्रिल चिकेन र ग्रिल माछा पस्किन थालेको छ।
जावलाखेलस्थित नेपाल टेलिकम भवनको ठीकपछाडि छ ग्रिल दरबार। यसको पुरानो शाखा शंखमुलमा छ। लकडाउनपछि जावलाखेलमा नयाँ शाखा खोलेको ग्रिल दरबारमा सह–सञ्चालक प्रवीन पौडेल बताउँछन्।
दुई वर्षअघि सञ्चालनमा आएको ग्रिल दरबार यहाँको ग्रिल तथा स्मोकी चिकेनका लागि चर्चित छ। यसका सञ्चालकहरू हुन् प्रवीन पौडेल, अनुप सापकोटा र नितेश भट्टराई। उनीहरू अन्य रेस्टुरेन्टमा नपाएको नेपाली स्वाद पूरा गर्न ग्रिल दरबार खोलेको बताउँछन्।
'ग्रिल्ड तथा स्मोकी चिकेन विदेशतिर धेरै चर्चित परिकारमध्ये पर्छ। नेपालमा पनि अचेल यसको माग बढेको छ,' प्रवीनले दावी गर्दै भने, 'हामीले कयौं रेस्टुरेन्टका ग्रिल्ड चिकेन खायौं। तर ती परिकारको स्वाद हाम्रो नेपाली स्वादसँग मिलेको पाएनौं। त्यसैले नेपालीको स्वाद ध्यानमा राख्दै ग्रिल दरबार सञ्चालनमा ल्याएका हौं।'
सञ्चालकमध्ये प्रवीन र अनुप स्कुलदेखिकै साथी हुन्। नितेश भने कलेजका साथी। तीनै साथी अहिले इञ्जिनियर हुन्। ग्रिल दरबारको आइडिया भने स्नातक पढिरहेकै बेला आएको प्रवीनले बताए।
'इञ्जिनियरिङका विद्यार्थी भएकैले हामी सधैं नयाँ कुराबारे छलफल गरिरहन्थ्यौं,' प्रवीनले भने, 'हामीलाई आफ्नो पढाइ सम्बन्धीसँगै नयाँ काम गर्न मन थियो। धेरै ठाउँ घुमिरहँदा हामी जता पनि खानासँग धेरै जोडिएको पायौं। त्यसैले पनि हाम्रो चासो रेस्टुरेन्टतिर ढल्किएको हुनसक्छ।'
रेस्टुरेन्ट व्यवसाय र खाना पकाउनेबारे धेरै ज्ञान नभए पनि उनीहरूले धेरै खोजबिन र सिकेर मात्र ग्रिल दरबारको मुख्य परिकार ग्रिल्ड तथा स्मोकी चिकेन ल्याएको बताउँछन्।
'रेस्टुरेन्ट खोल्नुअघि छ महिना त अध्ययन-अनुसन्धानमै बितायौं,' प्रवीन भन्छन्, 'ग्रिल्ड र स्मोकी चिकेन बनाउन चाहिने मसला, त्यसलाई राम्रोसँग पकाउने तरिका सबै बुझेर यो व्यवसायमा आएका हौं।'
उनका अनुसार ग्रिल्ड चिकेन बनाउन मासुलाई २४ घन्टा 'म्यारिनेट' गरिन्छ। त्यो मासुलाई दसदेखि पन्ध्र मिनेटसम्म ओभनमा ग्रिल गरेपछि तयार हुन्छ। ग्रिल्ड माछा बनाउने तरिका पनि यही हो।
मासु नेपाली ग्राहकको स्वादसँग मिलाउन यसमा मुख्यगरी नेपाली मसल नै प्रयोग गरिने उनी बताउँछन्। अझ मासुसँगै आउने टिमुरको अचारले यसको स्वाद धेरै बढाउँछ।
यहाँ ग्रिल्ड चिकेनको तीन सय चालीस रूपैयाँ पर्छ भने माछाको आठ सय बीस रूपैयाँ।
ग्रिल्ड चिकेन र स्मोकी ग्रिल्ड चिकेन 'हट', 'भेरी हट' र 'बर्निङ हट' स्वादमा आउँछ। आफ्ना ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर मासुको प्रयोगशाला परीक्षण रिपोर्ट पनि जाँच्ने गरेको प्रवीनको भनाइ छ।
ग्रिल दरबारको परिकारका साथै यसको वातावरण डिजाइन उत्तिकै सुन्दर छ। काठ र पेन्टिङले सजिएको यो ठाउँ परिवार, साथीसँग समय बिताउन रमणीय छ।
'ग्राहकले स्टिकी नोटमा हाम्राबारेमा आफूलाई लागेको कुरा लेखेर पनि टाँस्न सक्छन्,' उनले भने, 'कसैलाई हाम्रो खाना मनपरेन वा केही चित्त बुझेन भने औंल्याउन सक्नुहुन्छ। ग्रिल दरबार आएर पैसा खेर गएको महशुस भए, नतिरी जाँदा पनि हुन्छ।'