वरिपरि तारजाली छ। करिब आठ फिटमाथि पनि जालीले घेरिएको छ। ठाउँठाउँमा बल्ब झुण्ड्याइएको छ। तारजालीभित्र खुला आकासमूनि कालिज दौडिन्छन्। घरिघरि भुइँबाट भुरर्र उडेर गाडिएको बाँसमा बस्छन्।
पोथी कालिज आफैंले खनेका खाडलमा पसेका देखिन्छन्। कुकुर, बिरालो वा अन्य जन्तु नजिक आउँदा तर्सिन्छन्। रातमा जाली वा बाँसमा नठोक्किउन् बत्ती बालिन्छ।
सात जना युवा मिलेर गत वर्ष फागुनदेखि वाइल्ड लाइभ एग्रो प्रालि नामक कम्पनीमार्फत् तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ गरगरुवामा कालिज पाल्न थालेका हुन्।
सात सञ्चालकमध्ये युवराज केसी, कृष्ण बस्नेत र तुलसीराम बस्नेत तुलसीपुरकै हुन्। निर्मल नेपाल र वीरेन्द्र गिरी बाँकेबाट आएका हुन् भने हेमराज पाण्डे र जनकनाथ योगी बर्दियाका हुन्।
बाँके, बर्दियाजस्ता अति उष्ण स्थानमा कालिज पाल्न सम्भव हुन्न। भित्री मधेस अन्तर्गत पर्ने दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएकाले त्यहाँका साथीहरूसँग मिलेर कालिज पाल्न थालेको तुलसीरामले बताए। गत वर्ष फागुनदेखि कालिज पालनको काम अघि बढाइएको उनले बताए।
युट्युब हेरेर कालिजबारे ज्ञान
बाँकेका गिरी र दाङका केसी साथी हुन्। युट्युबमा देखेको भिडिओबाट बाँकेका गिरी कालिज पालनप्रति आकर्षित भए।
गिरी काठमाडौंको दक्षिणकालीस्थित कालिज फार्म हेर्न गए। नौलो व्यवसाय र राम्रो सम्भावना देखेपछि उनले दाङका केसीसँग कुरा गरे।
दाङबाट केसी, बस्नेतद्वय बाँके पुगेर छलफल गरे। बर्दियाका साथीसँग नयाँ सम्भावनाबारे कुरा गरे। सबैको मनमा केही गर्ने हुटहुटी थियो। कालिज पालनमा सबैको हुटहुटी मिल्यो।
कहाँ, कसरी काम थाल्ने भन्ने विषयमा अध्ययन तथा परामर्श गर्न थाले। बाँके र बर्दियाजस्ता उष्ण ठाउँमा कालिज पाल्न सम्भव नदेखिए पछि उनीहरूले दाङ रोजे।
तुलसीपुर १२ ग्वारखोलाको छेउमै साढे दुई बिघा जग्गा वार्षिक ८० हजार तिर्नेगरी १५ वर्षका लागि लिजमा लिए।
बस्नेतका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ। दाङको तापक्रम सालाखाला त्यस्तै हुन्छ। यद्यपी दाङको तापक्रम ३८, ३९, ४०, ४१ डिग्रीसम्म पुग्ने गरेको छ। त्यसैले कालिज फार्म सञ्चालक अझै ढुक्क छैनन्।
‘अब आउने वैशाख, जेठ र असारपछि मात्रै हामी ढुक्क हुन सक्नेछौं, अहिले त डर नै छ’ बस्नेतले भने।
दाङमा पहिलो पटक व्यवसायिक रूपमा पालिएको कालिज नेपालको हैन, बेल्जियमको हो।
गत वर्ष फागुनमा उनीहरूले पोखराबाट प्रति बचेरा दुई हजारका दरले २० लाख रुपैयामा हजार बचेरा किनेर ल्याएका हुन्।
पोखराका फार्म सञ्चालकले बेल्जियमबाट कालिजका अण्डा ल्याएर पोखरामै ह्याचिङ गरी बचेरा उत्पादन गरेका थिए।
बस्नेतका अनुसार दाङ ल्याएको दुई दिनमै अढाई सय बचेरा मरेपछि उनीहरू आत्तिएका थिए।
‘हामीसँग ज्ञान पनि थिएन र भौतिक पूर्वाधार पनि थिएन,’ बस्नेतले भने ‘यहाँ ल्याउँदा पानी परिरहेको थियो, सायद वातावरण मिलेन र चिसोले बचेरा मरे।’
बचेरा र कालिज पाल्न फरक वातावरण चाहिन्छ भन्ने बुझाइ बस्नेतको छ।
‘बचेरालाई अलि धेरै तापक्रम भए पनि केही फरक पर्दैन,’ बस्नेतले भने ‘तर हुर्किसकेकालाई गर्मीमा गाह्रो हुँदो रैछ। यसपालि हुर्केका कालिज गर्मीमा मर्छ कि भन्ने चिन्ता छ।’
बस्नेतका अनुसार कालिजले एक सिजनमा मात्रै अण्डा दिन्छ। माघ-फागुनदेखि अण्डा पार्न सुरू हुन्छ र जेठ असारसम्म पार्छ।
६ महिना पुगेपछि कालिज वयस्क बन्छ र मासुका लागि उपयुक्त मानिन्छ।
भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ।
कालिजले घाँस, मकै खान्छ। अण्डा दिने पोथीको लागि प्यारेन्ट कुखुरालाई दिने दाना पनि दिनु उपयुक्त हुने बस्नेतले बताए।
उनीहरूले अहिले पालेका कालिजलाई कुनै रोग नलागेकाले औषधी पनि दिएका छैनन्।
‘कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ। त्यसैले चुच्चो मुखमा क्याप लगाउनु पर्छ। विदेशमा त्यही गरिन्छ। यहाँ भने चुच्चो काटिएको छ,’ बस्नेतले भने।
आपसमा लडेर नमरून् भनेर चुच्चो काट्ने गरिएको बस्नेतले बताए। एक वर्षमा उनीहरूले झन्डै साढे तीन सय भाले कालिज बेचिसकेका छन्।
‘एउटाको ३ हजार ५ सय पर्छ, तौल गरिँदैन किन्ने मानिसहरू फार्ममै आउँछन्’ उनले भने।
पोथी भने बिक्री नगर्ने गरेको उनले बताए। कालिजको संख्या बढाउन अझै एक वर्ष नबेच्ने योजना रहेको बस्नेतले सुनाए। उनीहरूले आफ्नो फार्मका कालिजले पारेका अण्डालाई ह्याचिङ गरेर बचेरासमेत हुर्काइरहेका छन्।
झन्डै अढाई सय बचेरा हुर्किरहेका छन्।
‘बजारमा माग त धेरै छ, यो वर्ष हामी पोथी कालिज र बच्चा एउटा पनि बेच्दैनौं। धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्नेछौं,’ बस्नेतले भने।