नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको चक्काजामविरुद्ध कम्पनीमा आबद्ध सवारीसाधन देशैभर संचालनमा आएका छन्। व्यवसायीको सिन्डिकेटबाट नझुकी दर्जनौं कम्पनीले यात्रुहरुलाई सेवा दिइरहेका छन्।
पछिल्लो समय चर्चामा आएको मयुर यातायातले विहान ४ बजेदेखि सेवा दिइरहेको अध्यक्ष मोहनबहादुर क्षेष्ठले जानकारी दिए। यातायात व्यवस्था विभागले आजको लागि ‘रुट फ्रि’ गरेका कारण आफूहरुले अन्य रुटमा पनि गाडी पठाएको उनले बताए।
‘हाम्रा २४ बसमध्ये एउटा भकुन्डे बेसी, एउटा पाँचखाल र बाँकी थानकोटबाट रत्नपार्क हुँदै धुलिखेलसम्म पठाएका छौँ, अब २५ गते गाडीको संख्या ५० वटा पुर्याउँदै छौँ’ उनले भने।
मयुरसँगै राजधानीभित्र साझा, ओरेन्ज, अन्नपूर्ण र महानगर यातायातका गाडीले सेवा दिइरहेका छन्। महानगर यातायातका संचालकहरु गाडी चलाउने र नचलाउनेमा विभाजित देखिँदा उसका सम्पूर्ण बस संचालनमा आउन सकेनन्।
तिबाहेक उपत्यकाभित्र शहरी, सिटी, कार्यविनायक, न्यू घले ट्राभल, सुहान, हलेसी दर्शन, कैलेश्वरी, टुरिष्ट यातायात, जयश्री महालक्ष्मी, कन्काई, पन्चकन्या, अर्पिन, नमस्ते नेपाल, गोकर्णेश्वर, स्वयम्भू, कार्यविनायक, मेरो प्यारो नेपाल, चम्माइकी जय, निलबाराही, महाचण्डेश्वरी मनकामना दर्शन, भद्रकाली माइ, मेट्रो सिटी तथा शैलेश्वरी यातायातले सेवा दिइरहेको विभागका शाखा अधिकृत केशव जमरकट्टेलले जानकारी दिए।
त्यस्तै उपत्यका बाहिर पनि कम्पनी आबद्ध गाडीहरुले सेवा दिइरहेका छन्। बज्रबाराही, घोडाघोडी यातायात प्रालिका सवारीसाधन पनि संचालनमा आएका छन्। बज्रबाराहीका सवारी टिकाभैरव–रत्नपार्क–चापागाउँमा संचलनमा आएका छन्।
त्यस्तै घोडाघोडी यातायातका सवारीसाधनहरु नयाँ बसपार्क–चाबहिल–गौशाला–नयाँ बानेश्वर–माइतीघर– त्रिपुरेश्वर रुटमा संचालनमा छन्।
काठमाडौं उपत्यकामा ट्याक्सी तथा केही टेम्पोहरु पनि संचालन भइरहेको यातायत व्यवस्था विभागले जनाएको छ।
काठमाडौंबाहेक बाहिरी जिल्लाहरुमा पनि केही सवारीसाधन संचालनमा आएका छन्। आफूहरु नै सिन्डिकेटबाट पीडित भएकाले चक्काजामको विरुद्धमा सवारीसाधन चलाइएको साकिरा यातायात प्रालिका राजेन्द्र लुइँटेल बताउँछन्। ‘मर्मतमा रहेका १÷२ वटा बाहेक सबै गाडी चलेका छन्। हाम्रो २३ वटा काठमाडौबाट र २३ वटा पुर्वबाट छुटिसके’ उनले भने।
सुर्खेत बुलबुले यातायातका गाडीहरु पनि विनाअवरोध चलेको लोक बहादुर ठाडा मगरले जानकारी दिए। आफूहरु पनि सिन्डिकेटको बिरुद्धमा रहेको उनी बताउँछन्।
रोल्पा यातायात प्रालि, नमस्ते प्युठान, देउती नागरिक यातायात, आशिर्वाद यातायात, चुरीमाई यातायात, शुभविहानी यातायात, रुकुम यातायात, इन्द्रेणी यातायात, नागरिक यातायात, भेरी यातायात, सहारा यातायात, टुरिष्ट बस एसोसिएसन लगायतका सवारीसाधन पनि उपत्यकाबाहिर संचालनमा आएका छन्।