शुक्रबार आन्दोलनको नाममा गाडी नचलाउने यातायातको तत्कालै रुट परमिट खारेज हुने भएको छ।
सबै जिल्लाका यातायात कार्यालयहरुलाई प्रत्येक रुटहरुमा गाडी चले नचलेको टिपोट गरेर विभागमा बुझाउन निर्देशन दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए।
‘गाडी नचलाउनेहरुको लिस्ट आइपुगेपछि हामी तत्कालै परमिट खारेज गर्छौ’ भट्टराइले सेतोपाटीसँग भने ‘प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा पनि व्यवसायीहरुलाई अन्दोलन फिर्ता गरेर वार्तामा आउन भनिएको छ।’
सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन्।
यो निर्णयको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २१ गते चक्काजाम, २७ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरेको छ।
समितिमा आबद्ध व्यवसायीहरुले बिहीबार मध्यान्हदेखि नै टिकट काउन्टर बन्द गरेका छन्। महासंघले चक्काजामको निर्णय गरेपनि कम्पनीका नामबाट संचालित सवारीसाधनले भने आफ्नो सेवालाई निरन्तरता दिने भएका छन्।
यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता जनाएका हुन्।
विभागका निर्देशक तिर्थराज खनालले आवश्यक परेको खण्डमा संचालन हुने सवारीसाधनमा हतियारसहितका सुरक्षाकर्मीहरु समेत परिचालन गर्ने प्रतिवद्धता जनाउँदै निर्वाध रुपमा सवारी साधन संचालन गर्न आग्रह गरे।
महासंघ प्रति असन्तुष्ट समितीहरुसँग पनि कुरा चलिरहेको र उनीहरुले पनि गाडी चलाउन सक्ने विभागका महानिर्देशक भट्टराइले बताए।