चौधरी ग्रुपका अध्यक्ष एवं. सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वब्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन्।
‘विकसित राष्ट्रहरूले नै अन्तर्राष्ट्रिय ब्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागि परेका छन्’ अमेरिकाको लस एन्जलसमा मिल्केन इन्स्टियुटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने।
पछिल्लो समय ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा कडाईको नीति लिनु तथा चीन सरकारले पनि अमेरिकी उत्पादनमाथि कडाई गर्न खोज्नुले विश्वबजारलाई नकारात्मक प्रभाव पार्ने चौधरीले बताए।
उनले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको उल्लेख गर्दै विकसित राष्ट्रमा पनि जुनसुकै बेला जोखिम बढ्ने तर्क गरे।
‘अमेरिकालगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनि कुन बेला कस्तो नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन’ उनले भने।
विकासशिल देशहरूमा उदाउदै गरेको ‘मिडिल क्लास’उपभोक्तातर्फ पनि लगानीकर्ताले ध्यान दिन जरूरी रहेको उनले बताए।
‘विकसित मुलुकमा सफल भएका व्यवसायिक अवधारणाहरू विकासशिल मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ’ अध्यक्ष चौधरीले भने।
विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको र यो प्रयासमा साथ दिन आग्रह गरे।