सबै एयरलाइन्सहरूले दिउँसोमात्र उडान गर्ने प्रतिस्पर्धा गर्दा एयर ट्राफिक बढेको पाइएको छ। निश्चित समयभित्रै उडान गर्नुपर्ने बाहेकका विमानस्थलमा पनि सबैले दिउँसोको समयलाई मात्र आधार बनाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाम बढेको छ।
मौसमी प्रतिकुलता हुने हिमाली र पहाडी जिल्लाका विमानस्थलमा निश्चित समयभित्रै उडान गर्नुपर्ने प्राविधिक बाध्यता भए पनि रातिसम्म उडान गर्न मिल्ने विमानस्थलमा पनि सबैले दिउँसैमात्र उडान गर्न खोज्दा मुख्य हब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको हो।
हिमाली जिल्लाका विमानस्थलमा मौसमी प्रतिकुलताको कारण दिउँसो उडान गर्न कठिन मानिन्छ। तर रात्रिकालीन उडान पनि गर्न मिल्ने नेपालगञ्ज, भैरहवा, धनगढी, विराटनगर र सिमराजस्ता विमानस्थलमा पनि अधिकांश एयरलाइन्सहरूले ६ बजे अगाडिमात्र उडान तालिका लिएका छन्।
मौसमी प्रतिकुलता, सिमित क्षमतालाई दोष दिएर एयर ट्राफिक स्वभाविकरूपमा बढेको अधिकारीहरूको भनाइ रहँदै आएको थियो। तर नागरिक उड्डयन प्राधिकरण, एयरलाइन्सहरूकै हानाथापको कारण जाम बढेको र यात्रुले सकस पाएको विमानस्थलका एक अधिकारीले बताए।
सुगम क्षेत्रका ठूला रनवे र रात्रिकालीन उडान गर्न मिल्ने पूर्वाधार भएका विमानस्थलमा धेरै उडान गर्ने एयरलाइन्सहरूको उडान तालिका पनि अधिकांशको बेलुका ६ बजे अगाडिमात्र छ। नागरिक उड्डय प्राधिकरणको समर उडान तालिका अनुसार बुद्ध एयरको अन्तिम तालिका ६ः५५ बजे रहेको छ। त्यस्तै, सौर्य एयरलाइन्सको ५ः४५ र यति एयरलाइन्सको ५ः५० बजेको अन्तिम तालिका छ।
सबै एयरलाइन्सलाई एउटै समयमा उडान तालिका दिँदा यस्तो अवस्था आएको विमानस्थलका एयर ट्राफिक अधिकारीहरूको आरोप छ।
व्यवस्थापन क्षमताभन्दा बाहिर गएर तालिका दिँदा उडान स्वतः ढिला भएको एक अधिकारीले बताए।
उडान तालिका ५ बजेको पाए पनि रात्रिकालीन उडान हुने विमानस्थलहरूमा भने अहिले पनि बेलुका ९ बजेसम्म एयरलाइन्सहरूले उडान गरिरहेका छन्।
अहिले विमानस्थलमा २ घण्टा कुर्नु सामन्य भइसकेको छ।
उडान ढिला भए पनि सबैले पाँच बजे अगाडिको तालिका लिएका छन्। त्यहीअनुसार यात्रुहरू विमानस्थलमा पुग्छन् तर उडान भने स्वभाविक ढिला हुन्छ।
एकैपटक धेरै एयरलाइन्स ‘सेड्युल’मा हुँदा विमानस्थलको क्षमता र मौसमलाई दोष दिएर एयरलाइन्सहरू उम्किने गरेका छन्।
अहिलेका २५ प्रतिशत आन्तरिक उडान बेलुका ५ देखि ७ बजेको समयमा सार्दा स्वभाविक गतिमा उडान हुने र अहिलेजस्तो यात्रुले कुर्नु नपर्ने एक अधिकारीले बताए।
एकातिर उडान तालिका पाँच बजे अगाडि धेरै छ भने अर्कोतिर ५ देखि ७ बजेसम्म खुला भएको विमानस्थलका प्रबन्ध निर्देशक राजकुमार क्षेत्रीले बताए।
पाँच बजेसम्मको उडान तालिकालाई सात बजेसम्म विस्तार गर्दा जाम कम हुने र यात्रुको सास्ती पनि कम हुने स्वयम् पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बुझाइ छ।
सबैलाई एउटै समयमा उडान तालिका दिएर बेलुका खाली राखेर यात्रुलाई सास्ती दिने काम भएको भन्दै मन्त्रीले तत्काल तालिका हेरफेर गर्न प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिए।
‘पछाडिको समय खाली हुँदाहुँदै पनि यात्रुलाई विमानस्थलमा बोलाएर सास्ती दिनको लागि तालिका दिइएको मैले पनि पाएको छु’ उनले भने,‘मैले तत्काल हेरफेर गर्न निर्देशन दिइसकेको छु।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाम कम गर्नको लागि आन्तरिक उडानलाई व्यवस्थित गर्ने छलफल अगाडि बढाइएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताए।
अहिलेका आन्तरिक उडानलाई बेलुका आठ बजेसम्म विस्तार गर्ने र त्यसको लागि एयरलाइन्सहरूलाई ‘कन्भिन्स’ गर्ने काम भइरहेको उनले जानकारी दिए।
‘कतिपय एयरलाइन्सहरू सकारात्मक पनि हुनुहुन्छ आखिर उहाँहरूले अहिले पनि पाँच बजेको भनेर टिकट काटे पनि आठ बजेसम्म उडानुभएकै छ,’गौतमले सेतोपाटीसँग भने,‘रात्रिकालीन उडान गर्न मिल्ने विमानस्थलका उडानहरूलाई केही पछाडि राख्छौं।’