सन् २०१६ मा यात्रु संख्याको आधारमा पहिलो भएको नेपाल एयरलाइन्स सन् २०१७ मा दोस्रोमा झरेको छ। लामो समयदेखि २ वटा विमानबाट मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सन् २०१५ मा दुई एयरबस–३२० विमान थप गरेसँगै २०१६ मा काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमा सबैभन्दा बढी यात्रु बोकेको थियो।
सन् २०१६ को मध्यसम्म ४ विमानबाट अन्तर्राष्ट्रिय उडान गरेको एयरलाइन्सले एउटा विमानलाई विश्राम दिएपछि २०१७ मा भने दोस्रोमा झरेको हो।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमध्ये सन् २०१७ मा भारतीय एयरलाइन्सहरुको बर्चश्व रहेको छ। यात्रु संख्याको आधारमा पहिलो नम्बरमा भारतको जेट एयरवेज परेको छ।
विमानस्थल कार्यालयका अनुसार २०१७ मा जेटले ४ लाख ६९ हजार यात्रुलाई सेवा दिएको छ भने नेपाल एयरलाइन्सले ३ लाख ८८ हजार यात्रुलाई सेवा दिएको छ।
वर्षभर ३८ लाख यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेकोमा अर्को नेपाली एयरलाइन्स हिमालयले १ लाख ७९ हजार यात्रु बोकेको छ।
स्थापनाको तेस्रो वर्षमा प्रवेस गरेर ३ विमानबाट उडान गरिरहेको हिमालयले कतारको दोहा, साउदी , दुबई र मलेसियामा उडान गरिरहेको छ।
हिमालय एयरलाइन्सको उपस्थिति बलियो भएसँगै अन्तर्राष्ट्रिय हवाई व्यापारमा नेपाली ध्वजाबाहकको हिस्सा भने बढेको छ। अघिल्लो वर्ष १२ प्रतिशत रहेको यात्रु हिस्सा यो वर्ष बढेर १५ प्रतिशत पुगेको छ।
उडान गर्ने एयरलाइन्सको संख्या धेरै भएपनि चिनियाँ एयरलाइन्सको हिस्सा भने न्यून देखिएको छ। नेपाल भारतबीचको हवाई यात्रा सबैभन्दा सघन देखिएको विमानस्थलको तथ्यांकले प्रष्ट पारेको छ।
तीनवटामात्र एयरलाइन्सले काठमाडौंबाट भारतका विभिन्न सहरमा उडान गर्ने भारतीय एयरलाइन्सले गएको वर्ष ७ लाख ८९ हजार यात्रुलाई सेवा दिएका छन्। त्यस्तै नेपाल एयरलाइन्सको पनि मुख्य व्यापारको गन्तव्य पनि भारतको नयाँ दिल्ली नै हो। दिनको दुई उडान एयरलाइन्सले दिल्ली गरिरहेको छ।
काठमाडौंमा पाँचवटा चिनियाँ एयरलाइन्सले उडान गरिरहेको भएपनि उनीहरुको यात्रुसंख्या भने न्यून रहेको छ।
विमानस्थलको तथ्यांकअनुसार वर्षभर पाँचवटा चिनियाँ एयरलाइन्सले ३ लाख ४८ हजार यात्रुलाई सेवा दिएका छन्। यीमध्ये तिब्बत एयरलाइन्सले भने अगष्टदेखिमात्र उडान सुरु गरेको थियो। तिब्बतले पाँच महिनामा २० हजार यात्रु बोकेको छ।
नेपालबाट अन्तर्राष्ट्रिय हवाई यात्र गर्नेहरु पर्यटकभन्दा पनि श्रमिकको बाहुल्यता रहेको पाइन्छ। एयरलाइन्सहरुको जोड पनि त्यस्तै देखिएको छ। बैदेशिक रोजगारीको क्रममा नेपालीहरु धेरै जाने खाडी मुलुकमा यात्रुहरुको संख्या धेरै देखिएको हो।
नेपालीहरु बैदेशिक रोजगारीको लागि धेरै जाने क्षेत्रमा हवाई सेवा दिने एयरलाइन्सहरुको उपस्थिति र उनीहरुको ब्यापारबाट पनि त्यही देखिएको छ।
काठमाडौंबाट बढी यात्रु बोक्ने एयलाइन्सको १० सूचीमा ६ वटा खाडी विशेष उडान गर्नेहरु छन्। कतार एयरवेज,फ्लाई दुबइ, एयर अरेबिया, ओमन एयर, हिमालय एयरलाइन्स र र मालिन्डो एयरलाइन्स यो सूचीमा छन्।
त्यस्तै एयर एसिया, बहराइन एयर, मलेसियन एयरले पनि उल्लेख्य अाेगटेका छन्।
देश र क्षेत्रगत हिसाबले खाडी तथा मलेसियाजस्ता देशमा उडान गर्ने एयरलाइन्सहरुले यात्रु हिस्सा ३४ प्रतिशत छ। त्यस्तै भारतीय एयरलाइन्सको २० प्रतिशत छ भने नेपालीको १५ प्रतिशत। चिनियाँ एयलाइन्सले ९ प्रतिशत ओगटेका छन्।
हवाई व्यापार बढ्यो तर फाइदा विदेशीलाई मात्र!सन् २०१६ को तुलनामा सन् २०१७ मा २ लाख ९७ हजार ७७४ यात्रु बढेको विमानस्थलले जानकारी दिएको छ।
सन् २०१६ मा ३५ लाख १० हजार ७४२ जनाले विमानस्थलबाट यात्रा गरेका थिए भने ०१७ मा ३८ लाख ८ हजार ५१६ जनाले यात्रा गरेका छन्। विमानस्थलबाट २९ वटा विदेशी र २ नेपाली एयरलाइन्सले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका छन्।
हवाई क्षेत्रमा सम्भावना बढिरहँदा त्यसको फाइदा विदेशी एयरलाइन्सले लिइरहेका छन्। विमानस्थलको तथ्यांकअनुसार अघिल्लो वर्ष कुल यात्रु संख्यामा जम्मा ११ प्रतिशत नेपाल एयरलाइन्सको नाममा थियो। करिव १ प्रतिशत हिमालय एयरलाइन्सको थियो। बाँकी ८८ प्रतिशत यात्रु विदेशी एयरलाइन्सले बोकेका थिए।
यो वर्षमात्र तीनवटा विदेशी एयरलाइन्स थपिएका छन्। यो सँगै कुल २९ विदेशी र २ नेपाली कम्पनीले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका छन्। नेपाली एयरलाइन्सको उपस्थिति कमजोर देखिएको छ। यद्यपी याे वर्ष हिस्सा बढेर १५ प्रतिशत पुगेकाे छ।
नेपालमा आन्तरिक उडान गरिरहेका एयरलाइन्स वा आउन चाहने जो कसैलाई पनि अनुमति लिनै कठिन भएको तर विदेशीले आवेदन दिनेवित्तिकै पाउने गरेकाले यस्तो अवस्था आएको व्यवसायीहरुको तर्क छ।
उडान अनुमति दिने कार्यविधिअनुसार कुनै पनि नेपाली एयरालाइन्सले अन्तर्रा्ष्ट्रिय उडानको अनुमति पाउन पाँच वर्ष उडान अनुभव, ५० करोड पुँजी र तीनवटा विमान त्यसमा जेट विमान हुनुपर्ने मापदण्ड राखिएको छ।
प्रत्येक ३÷३ वर्षमा संसोधन हुनुपर्ने उक्त कार्यविधि विस २०६६ पछि संसोधन भएको छैन। हाल ए देखि सी क्लाससम्मका लाइसेन्स छन्। सी वर्गको लाइसेन्स लिनकै लागि माथिका मापदण्ड पुरा गर्नुपर्ने अवस्था छ।
वर्तमान कानूनी व्यवस्थाले लगानी गरी उडान गर्न सक्ने व्यवसायी खुम्चिएर बस्नुपर्ने अवस्था आएको श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलको भनाइ छ। तर विदेशीले भने धमाधम अनुमति पाउने गरेको उनले बताए।
‘हवाई सुरक्षा बाहेकका अन्य विषयमा सरकारले अनावस्यक मापदण्ड बनाएको छ’ मित्तलले सेतोपाटीसँग भने, ‘उडान गर्नसक्ने सक्षम एयरलाइन्सलाई अनुमति दिने व्यवस्था हुनपर्छ।’
लामो समयदेखि हेलिकप्टर सेवामा रहेको श्रीले गएको असोजदेखि फिक्स्ड विङबाट सेड्युल उडान गरिरहेको छ। उसले हालैमात्र अन्तर्रा्ष्ट्रिय उडान इजाजतको लागि आवेदन दिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने उक्त कार्यविधि पुर्नविचार गर्ने तयारी गरेको छ। समयसापेक्ष परिवर्तन गर्दै जानुपर्ने व्यवस्थाअनुसार नै मन्त्रालयले उक्त कार्य्विधि संसोधनको लागि समिति बनाइसकेको सहसचिव सुुरेश आचार्यले जानकारी दिए।