निजी स्वामित्वका एयरलाइन्सले विमान खरिद गर्नुअघि पाइलट तथा आवस्यक जनशक्तीको व्यवस्थापन गर्छन्। तर नेपाल एयरलाइन्स भने उल्टो गतिमा हिडिरहेको छ।
चिनियाँ कम्पनीले निर्माण गरेका तथा सरकारी सम्झौताअनुसार यसअघि आएका विमान उडान पाइलट र पाटपुर्जाको अभाव ग्राउन्डेड भएपनि २ विमान थप गरेको छ।
चिनियाँ विमान निर्माता कम्पनी चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माणले बनाएका वाई १२ सिरिजका त्यस्ता विमान उडाउने एयरलाइन्ससँग हाल एकजनामात्र पाइलट छन्।
यसअघिका २ विमान उडान नसकेर ग्राउन्डेड गरेर बसेको एयरलाइन्सले विमान थपगरेसँगै झनै घाटा थपिने निश्चित भएको एयरलाइन्सकै अधिकारीहरुको भनाइ छ।
कुनै निश्चित मोडलको विमान उडान निश्चित पाइलट हुनपर्छ त्यसरी चिनियाँ विमान उडान २ जना क्याप्टेनमात्र निगमसँग थिए। त्यसमा पनि एकजनाको लाइसेन्स नविकरण नहुँदा हाल एकजनामात्र छन्।
एयरलाइन्सका अनुसार हाल एउटा मात्र नियमित उडानमा छ भने अर्को ग्राउन्डेड छ। नृपेन्द्र भट्टराई र उद्धव घिमिरे क्याप्टेन रहेकोमा घिमिरेको लाइसेन्स नविकरण हुन सकेको छैन। प्रशिक्षक पाइलट नभएका कारण उनको लाइसेन्स नविकरण भएको छैन।
निगमका प्रवक्ता रविन्द्र श्रेष्ठ भने आवस्यक जनशक्तीको व्यवस्था भइसकेको र नयाँ विमान उडान पाइलट अभाव नहुने बताउछन्।
‘हामीले वाइ १२ इ विमान उडान पाइलटलाई तालिम गराइरहेका छौं’ उनले भने,‘विमानले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउनेवित्तिकै हामी नियमित उडान थालनी गर्छौं।’
पाइलटमात्र होइन चिनियाँ विमान पाटपुर्जा अभावले पनि थलिएको छ। जसले राष्ट्रिय ध्वाजाबाहकलाई फाइदाभन्दा घाटा धेरै दिलाएको छ।
विमानको सानो समस्या आएपनि पाटपुर्जा उपलब्ध नहुँदा महिनादिनसम्म पर्खनुपर्ने बाध्यता रहेको छ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार भने चिनियाँ नयाँ वर्ष सकिनेवित्तिकै पाटपुर्जा र पाइलटको समस्या समाधान हुने बताउछन्।
'उनीहरुले नयाँ वर्ष सकिनेवित्तिकै पाइलट र पाटपुर्जाकाे समस्या समाधान गरिदिने बताएका छन्' उनले भने,'पाटपुर्जाकाे लागि हामीले गाेदाम उपलब्ध गराएपछि काठमाडाैंमै उपलब्ध गराइदिने उनीहरुले प्रतिबद्धता दाेहाेर्याएका छन्।'
चिनियाँ पक्षले दुई क्याप्टेन, एक पशिक्षक पाइलट उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेकोले विगतको जस्तो समस्या नहुने उनको भनाइ छ।
तर चिनियाँ पक्षले यो भन्दा अगाडि विमान ल्याउँदा पनि प्रतिवद्धता जनाएको थियो जुन अझै पुरा भएको छैन। त्यही कारण नेपाल एयरलाइन्स विमान ल्याउने पक्षमा थिएन।
राजनीतिक तहबाट सम्झौता भएको, भुक्तानी दिइसकेका कारणले ल्याउनुनका विकल्प नरहेको पर्यटन मन्त्रालयका अधिकारीको भनाइ छ।
विस २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौता बमोजिम कूल ६ वटा जहाज नेपाल एयरलाइन्सले ल्याउने र त्यसमा दुईवटा अनुदान र ४ वटा सहुलियत ऋणमा सहमति भएको थियो।
२०७१ बैशाखमा पहिलो एमए ६० जहाज ल्याएको निगमले कात्तिकमा वाई १२ जहाज अनुदान स्वरुप ल्याएको थियो। त्यस्तै एउटा एमए ६० र एउटा वाइ–१२ २०७३ फागुनमा ल्याएको थियो।
करिब पौने चार अर्ब रुपैयाँमा ल्याइएको भनिएका विमान खरिदको सम्झौता भने गौप्य राखिएको छ।