नेपाल एयरलाइन्सका दुईवटा नयाँ विमान आगामी साता आउने भएका छन्। यसअघि नै खरिद सम्झाैता भएर आउन बाँकी दुई विमान नेपालका लागि चीनबाट उडिसकेका एयरलाइन्सले जानकारी दिएको छ।
चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२(वाइ ट्वेल्भ) सिरिजका दुईवटा नयाँ विमान काठमाडौंका लागि उडिसकेको र आगामी साता नेपाल आइपुग्ने एयरलायन्सका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
मोडर्न आर्क(एमए ६०) र वाइ–१२ सिरिजाका २÷२ वटा विमान ल्याइसकेको राष्ट्रिय ध्वजाबाहकले बाँकी विमान आगामी साता काठमाडौं ल्याउने छ।
विमान ल्याउन नेपाल एयरलाइन्सका अधिकारीहरु अघिल्लो साता चीन गएका थिए।
विमान भने कम्पनीकै पाइलटले उडाएर काठमाडौंसम्म ल्याउने छन्। आवस्यक प्रक्रिया पुरा भएपछि नियमित उडान गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘कम्पनीकै पाइलटले उडाएर ल्याउने छन् त्यसमा जति धेरै लोड भयो त्यति ढिला हुने भएकोले हाम्रा अधिकारीहरु भने नियमित उडानबाटै फर्किने छन्’ श्रेष्ठले भने।
तर यसअघि आएका चिनियाँ विमान उडान भन्दा बढी ग्राउन्डेड भएर बसेका छन्। जसको कारण एयरलाइन्सले नोक्सानी बेहोर्नुपरेको छ। पाइलट अभाव, पाटपुर्जा उपलब्ध नहुने जस्ता कारणले विमानबाट खासै लाभ लिन नसिकएको स्वयम् अधिकारीहरु नै बताउछन्।
श्रेष्ठ भने अहिले आउने विमानको लागि पाइलट तयार भइसकेको र नागरिक उड्डयन प्राधिकरणको अनुमति पाउनेवित्तिकै उडान गरिने बताउछन्।
यसअघि आएका विमान पाइलट अभावमा थन्किएका छन्। २ वाइ–१२ को लागि एउटामात्र क्याप्टेन छन्। जसको कारण पुर्ण क्षमतामा उडान हुनसकेको छैन।
सरकारी स्तरमा सम्झौता भएको र यसअघि नै भुक्तानी दिइसकिएकोले ल्याउनैपर्ने बाध्यतामा फसेको एयरलाइन्सले यी विमानबाट व्यवसायिक लाभ भने देखेको छैन।
सम्झौता र लागत गोप्य राखिएको यो विमान खरिदमा पौने तीन अर्बमात्र नेपालले तिर्नुपर्ने बताइएको छ।
विस २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौता बमोजिम कूल ६ वटा जहाज नेपाल एयरलाइन्सले ल्याउने र त्यसमा दुईवटा अनुदान र ४ वटा सहुलियत ऋणमा सहमति भएको थियो।
२०७१ बैशाखमा पहिलो एमए ६० जहाज ल्याएको निगमले कात्तिकमा वाई १२ जहाज अनुदान स्वरुप ल्याएको थियो।
त्यस्तै एउटा एमए ६० र एउटा वाइ–१२ २०७३ मा ल्याएको थियो।
संचालनको केही समयभित्र नै दुवै चिनियाँ जहाजमा निरन्तररुपमा प्राविधिक, मर्मतसम्भारमा समस्या ,प्रशिक्षक पाइलटको अभाव,बिमा रकम महंगो,स्पेयर पार्टसको मूल्य अभावजस्ता समस्याबाट एयरलाइन्स पिडित भएपछि चिनियाँ पक्षले सम्बोधन गर्ने बताएको थियो।
चिनियाँ पक्षको उक्त आश्वासन पछि दोस्रो चरणमा विमान आएका थिए। तर पनि उक्त समस्या अझै समाधान भएको छैन। यी विमान थपिएपछि नेपाल एयरलाइन्ससँग आन्तरिक उडानका लागि ८ वटा विमान हुने छन्।
हाल एयरलाइन्ससँग ५६ सिट क्षमताका एमए ६०, १७ सिट क्षमताका वाई १२ र १९ सिट क्षमताका ट्वीनटर २÷२ वटा छन्।
हाल ६ वटा विमानबाट देशका २० गन्तव्यमा उडान गरिरहेको एयरालाइन्सले जनाएको छ। बाँकी आउने विमानबाट दुर्गम क्षेत्रमा थप उडान गर्ने र केही ठाउँमा नयाँ उडन पनि गर्ने बताइएको छ।
विमान थप हुँदै गएपनि एयरलाइन्सले दिने सेवामा भने खासै बृद्धि भएको छैन। गएको चार वर्षमा ४ चिनियाँ विमान आएपनि बजार हिस्सा भने बढेको छैन।