प्रदेश राजधानीको होडमा रहेको दाङको तुलसीपुर विमानस्थलमा काठमाडौंदेखि हवाई सेवा सुरु हुने भएको छ। विमानस्थल भएर पनि हवाई सेवा नभएको दाङमा समिट एयरले यही पुस २३ गतेदेखि उडान सुरु गर्ने जानकारी दिएको छ।
प्रदेश मुकामको राजनीति चर्किएको समयमा दाङका जनप्रतिनिधिहरुले उडानको लागि पहल गरेका थिए। सोहीअनुरुप यसअघि पनि गोमा एयरबाट चलाउने हालको समिट एयरले उक्त रुटमा उडान गरेको थियो।
तुलसीपुरको टरिगाउँ विमानस्थलमा हप्ताको दुई उडान गर्ने र त्यसको भाडादर पनि निश्चित भइसकेको समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिए।
२०७० सालमा पिंच भएको विमानस्थलमा २०७२ जेठपछि तत्कालिन गोमा एयरले उडान सुरु गरेको थियो।हप्ताको दुई उडान गर्ने जनाएको गोमाले व्यवसायिक लाभ नदेखेपछि सेवा बन्द गरेको थियो।
[caption id="attachment_119178" align="alignnone" width="960"]
टरिगाउँ विमानस्थल[/caption]
पंचायतकालमा स्थापना भएर संचालमा आएको उक्त विमानस्थल २०५२ सालमा बन्द भएको थियो। त्यसपछि पुनः २०६० सालदेखि संचालनमा आएपनि २०६६ पछि भने बन्द अवस्थामा थियो।
३० मिटर चौडाई, र ७ सय ६० मिटर लम्बाइको कालोपत्रे धावनमार्ग भएको विमानस्थल१२ बिगाह क्षेत्रफलमा फैलिएको छ।
काठमाडौं,पोखरा र सुर्खेतलाई आधार बनाएर देशका विभिन्न क्षेत्रमा उडान गरिरहेको एयरलाइन्सले काठमाडौंदेखि फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ र सुर्खेत नेपालगंजलाई आधार बनाएर सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गरिरहेको छ।