घरको भित्री तथा बाहिरी सुन्दरता बढाउन प्रयोग हुने विभिन्न सामग्री उत्पादक तथा वितरकहरुको कुम्भ मेला भारतीय प्रान्त गुजरातको गान्धीनगरमा सुरु भएको छ।
बिहीबारदेखि सुरु भएको उक्त मेलामा सेरामिक्स उद्योग क्षेत्रमा भएका नयाँ प्रविधि, डिजाइन तथा ज्ञानसीपको आदानप्रदान गर्ने उद्देश्यले संसारभरका व्यवसायीहरुको जमघट भएको छ। ‘भाइब्रेन्ट सेरामिक्स एक्स्पो एण्ड समिट २०१७’ नामको उक्त एक्स्पो बलिउड अभिनेता जेके सराफले उद्घाटन गरेका थिए।
हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा सुरु गरेको भाइब्रेन्ट गुजरातको विषयगत संस्करणको रुपमा सेरामिक्सको पनि समिट हुन थालेको हो।
अघिल्लो वर्षदेखि सुरु भएको यो एक्स्पोलाई संसारकै ठूलो सेरामिक्स एक्स्पो भएको दावी गरिएको छ। राज्यभित्र लगानीको वातावरण बनाउन, लगानी ल्याउनको लागि पहिलोपटक सन् २००३ मा भाइब्रेन्ट गुजरात सम्मेलन भएको थियो।
सेरामिक्स उद्योग क्षेत्रमा उत्पादकत्व बढाउन नयाँ प्रविधिको खोजी, भातीय उत्पादनको बजार विस्तार, भर्खरै आविष्कार भएका प्रविधिको प्रसार र संसारभरका व्यवसायी तथा उपभोक्तामाझ उत्पादनको जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सम्मेलनका प्रमुख कार्यकारी अधिकृत सन्दिप पटेलले जानकारी दिए।
कुनैपनि फिनिसिङ्ग वस्तुको यो संसारकै ठूलो एक्स्पो भएको उनको दावी छ। ओक्टागन कम्युनिकेशन र मोर्बी सेरामिक्स एसोसिएसनको सयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा ४ सयभन्दा बढी ब्रान्डका २७३ भन्दा बढी स्टल र संसारका ६४ देशबाट २ हजारभन्दा बढी व्यवसायीहरु सहभागी रहेको आयोजक तथा मोर्बी सेरामिक्सका अध्यक्ष निलेस पटेलले जानकारी दिए।
आयोजकका अनुसार ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इटाली, अमेरिका, ओमन, रसिया, थाइल्याण्ड, बगलादेश, नेपाललगायतका मुलुकबाट व्यवसायी तथा व्यवसायीक संगठनहरुको सहभागिता रहेको छ।
पछिल्लो समय सेरामिक्स उत्पादनको माग बढ्दै गइरहेको र सन् २०२० सम्म वार्षिक २८७ अर्ब अमेरिकी डलरको कारोबार हुने एक्स्पोका सिइओ पटेलको प्रक्षेपण छ। संसारभर माग बढ्दै गइरहेको र भारतमा त्यसको उत्पादन बढ्दै गइरहेको उनको भनाइ छ।
अघिल्लो वर्षको एक्स्पोबाट हौसला मिलेको र त्यसैले यो वर्ष पनि निरन्तरता दिइएको उनले बताए। ‘एक्स्पोबाट छायाँमा परेका डिजाइन एकैपटक विश्वभर पुग्ने, नयाँ आइडिया एकआपसमा साटफेर हुने, नयाँ वस्तु तथा गुणस्तरीय वस्तुको बारेमा व्यवसायीमार्फत उभोक्तासम्म छिटो पुग्नेजस्ता कारणले एक्स्पो लाभदायक साबित भएको र ऐतिहासिक इभेन्टमा परिणत भएको पटेलको भनाइ छ।
सेरामिक्स सामग्रीको उत्पादनमा भारत चीनपछिको दोस्रो ठूलो मुलुक हो। गुजरातको ‘मोर्बी सेरामिक्स’ विशेष औद्योगिक क्षेत्र मानिन्छ। सन् १९९४ मा स्थापना भएको उक्त क्षेत्रमा हाल ६४० उद्योग रहेका छन् जसले वर्षमा १ अर्ब ६० करोड वर्गमिटर सेरामिक्स सामग्री उत्पादन गर्छन् भने भारतको ९० प्रतिशत माग यहीबाट पुरा हुन्छ।
तर भारत उत्पादनमा अगाडि बढ्दै जाँदा यसको उत्पादनमा प्रयोग हुने प्राकृतिक स्रोतको हिस्सा घटाउँदै जानुपर्नेमा सरोकारवालाहरुको जोड दिएका छन्। पानी, उर्जा र अक्साइडको कमभन्दा कम प्रयोग गरी धेरै उत्पादन बढाउनुपर्नेमा उनीहरुकको जोड छ।
पाँच दर्जन नेपाली व्यवासयी सहभागीआइतबारसम्म चल्ने उक्त एक्स्पोमा पाँच दर्जन बढी नेपाली व्यवसायी पनि सहभागी भएका छन्। नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा संस्थागतरुपमा पाँच दर्जन व्यापारीहरु यहाँ पुगेका छन् भने कम्पनीमार्फत, व्यक्तिगतरुपमा आउनेहरुको संख्या पनि धेरै रहेको छ।
नेपालमा ठूला ठूला संरचना बन्ने क्रम सुरु भएको र सेरामिक्सका उत्पादनमा विशेष चासो राख्ने गरेकोले यसको माग बढीरहेको छ। त्यस्तै व्यक्तगतरुपमा बनाइने आवासीय घरमा राम्रोसँग डिजाइन इन्टिरियर गर्ने र सामाग्री पनि त्यस्तै प्रयोग गर्ने चलन बढेकोले सेरामिक्सकाको माग बढीरहेको व्यवसायीको अनुभव छ।
एक्स्पोमा नेपाली व्यवसायीहरुले मात्र होइन नेपालका नीति निर्माताले पनि यसबाट धेरै कुरा सिक्न सकिने नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।
‘गुजरातको मोर्बीमा जसरी एउटा औद्योगिक क्षेत्रमा एउटा उदयीमान औद्योगिक वस्तुको उत्पादन गरियो र यो कसरी संसारमा अग्रणी हुँदैछ हाम्रो लागि पनि सिकाइको एउटा विषय हो’ श्रेष्ठले भने।
नेपाली व्यवसायीले पनि यहाँ आएका नयाँ डिजाइन तथा प्रविधिको बारेमा जानकारी पाउने र त्यसबाट नोपलको आन्तरिक बजारलाई छनौटको दायरा अझै फराकिलो पार्न सफल हुने श्रेष्ठको विश्वास छ।
एक्स्पोमा वाल टाइल, फ्लोर टाइल स्यानीटरी वेयरिङ्ग, वाथ फिटिङ, आर्टिटेक्ट तथा इन्टिरियरका नयाँ नयाँ डिजाइनको प्रदर्शनी भइरहेको छ। प्रविधी हस्तान्तरण, विदेशी लगानी संयुक्त उद्यम लगायतका विषयमा छलफल पनि भइरहेको छ।
गैरधातु तथा गैरजैविक पदार्थबाट बन्ने विभिन्न सामानहरुको उत्पादन, वितरण, अनुसन्धान नै सेरामिक्स उद्योग हो। सामान्य बोलीचालीको भाषामा टायल, बेसिन, घरको सजावत तथा सम्पूर्ण इन्टिरियरमा काम लाग्ने वस्तु नै सेरामिक्स उत्पादन हुन्।