हिमालय एयरलाइन्सले प्रक्रिया थालेको तीनवर्ष पुग्नैलाग्दा पनि नयाँ दिल्ली उडान अनुमति पाउन सकेको छैन।
२०७२ फागुनमा पहिलो एयरबस ए–३२० ल्याउनेवित्तिकै काठमाडौं–दिल्ली रुटमा व्यवसायिक उडान गर्नेरी अनुमतिको लागि प्रक्रिया थालेको एयरलाइन्सकाे उडान इजाजत प्रक्रियामै रहेको अधिकारीहरु बताउछन्।
पहिलो व्यवसायिक उडान नै काठमाडौं–दिल्ली–काठमाडौं रुटमा गर्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको हिमालयले हाल तीनवटा एयरबस ए–३२० सिरिजका विमानमार्फत मलेसिया, साउदी अरब, सयुक्त अरब इमिरेट्सको दुबई र कतारको दोहामा उडान गरिरहेको छ।
इन्धिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टले हिमालयलाई स्लट उपलब्ध गराइसक्दा पनि उडान अनुमतिमा कन्जुस्याई गरिएको छ।
एयरलाइन्सका वरिष्ठ अधिकारीहरुका अनुसार काठमाडौंमा रहेको भारतीय दुतावासको कुटनीतिक क्लियरेन्स नदिँदा अनुमतिमा ढिलाई भइरहेको छ। अघिल्लो वर्षदेखि इन्दिरा गान्धी विमानस्थलले नयाँ स्लट कसैलाई पनि दिन नसकिने घोषणा गरिसकेको छ। तर हिमालयले भने त्यो भन्दा अगाडि नै स्लट पाइसकेको छ।
चिनियाँ लगानी रहेको निजी क्षेत्रको एयरलाइन्स हिमालयलको दिल्ली उडान अनुमति अन्यौल बनेको छ। भारतीय अधिकारीहरुले जहिले पनि प्रक्रियामा रहेको जवाफ दिने गरेको र सो क्रम तीनव र्षदेखि जारी रहेको एक उच्च अधिकारीले जानकारी दिए।
हाल काठमाडौं–दिल्ली रुटमा भारतका तीन र नेपाल एयरलाइन्सले दैनिक उडान गरिरहेका छन्। इन्डियन एयरलाइन्स, जेट एयरवेज, इन्डिगो एयर र नेपाल एयरलाइन्सले दैनिक उडान गरिरहेका छन्।
सबैभन्दा बढी व्यापार र नाफा हुने मानिएको उक्त रुटमा उडान अनुमति नपाएको हिमालयले अन्यत्र भने उडान विस्तार गर्दै जाने बताउँदै आएको छ।
काठमाडौंबाट चीनका विभिन्न सहरमा व्यवसायिक उडान सुरु गर्ने योजनामा रहेको हिमालयको चिनियाँ उड्डयन निकायले इन्स्पेक्सन गरिसकेको छ।