सागर डिस्टिलरीले आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ।
कम्पनीले साउन १२ गते बोर्डबाट आइपिओ निष्कासन गर्ने अनुमति पाएको हो।
कम्पनीले सर्वसाधारणको लागि १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ। कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीबाट 'बी प्लस रेटिङ' पाएको छ। यसले कम्पनीको दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम युक्त रहेको संकेत गर्छ।
सन् २०१४ मा स्थापना भएको यस कम्पनी सन् २०२३ मे २१ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो।
कम्पनीको वार्षिक मदिरा उत्पादन ५० लाख लिटर छ। कम्पनीले रोयल ब्लु, ग्रे वुल्फ, नेप्से बुल्स, गभर्नर नामका मदिरा उत्पादन गर्दै आइरहेको छ।
कम्पनीले माल्ट स्प्रिट उत्पादनको नयाँ प्लाट स्थापना गर्न लागेको छ। यसको लागि ३३ करोड ४० लाख रूपैयाँ लागत लाग्ने र यसमध्ये ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत सेयर जारी गरेर पुँजी जुटाउने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीमा आशुतोष खेतानको १४.५२ प्रतिशत, अल्का गोयलको १०.६३ प्रतिशत र सन्दिप जलानको ९.१४ प्रतिशत सेयर स्वामित्व छ।