सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवन राइनोजका बायाँ हाते स्पिनर रन्जित कुमारले ५ विकेट लिएपछि लगातार तीन खेलमा जित निकालेको विराटनगर आफ्नो चौथो खेलमा पराजित भयो। चितवनले विराटनगरमाथि ४८ रनको जित निकालेको हो।
चितवनले भने आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्दै प्लेअफ यात्रामा राहत बटुलेको छ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा अलआउट भयो।
खराब सुरुवात गरेको विराटनगरका शीर्ष तीन ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
लोकेश बम ७ रन, जर्ज मुन्से र नरेन भट्ट ४-४ रनमा पेभेलियन फर्किए। बमलाई दोस्रो ओभरमा कमलसिंह ऐरीले विकेटपछाडि अर्जुन साउदले क्याच गराृए। तेस्रो ओभरमा मुन्से सोहेल तन्विरको बलमा दिपक बोहोराबाट क्याच भए।
त्यसपछि यो सिजन पहिलो पटक मौका पाएका बायाँ हाते युवा स्पिनर रन्जित कुमार बलिङमा आए। पाँचौ ओभरको तेस्रो बलमा साम हिजलेटलाई २२ रनमा एलबिडब्लूको धरापमा पारे। त्यसअघि हिजलेटले ११ बलमा ३ छक्काको मद्दतमा २२ रन जोडिसकेका थिए। दुई बलपछि रन्जितले बसिर अहदमलाई पनि शून्यमा क्याच गराउँदै एकै ओभरमा दुई विकेट लिए। अघिल्लो सिजन उनले पाँच खेले पनि २ विकेट मात्र लिन सकेका थिए।
सातौं ओभरमा नरेन भट्ट आउट भए। उनलाई कमलले कप्तान कुशल मल्लबाट क्याच गराए।
एघारौं ओभरमा फेरि रन्जितले उत्कृष्ट बलिङ गरे। उनले दोस्रो बलमा नारायण जोशीलाई १० र तेस्रो बलमा सूर्य तामाङलाई डकआउट गरे। १३औं ओभरमा शुभम रन्जनेलाई सइफ जइबले ६ रनमा बोल्ड गर्दा चितवन सजिलो स्थितिमा देखियो।

तर त्यसपछि मर्स्याङ डि लाङ आक्रामक रुपमा देखिए। उनले चितवनका बलरलाई लगातार आक्रामण गरेपछि खेल लम्बिएको थियो।
१३औं ओभरमा ६४-८ को स्थितिमा रहेको विराटनगरलाई उनले एकल प्रयासमा अघि बढाउन खोजेका थिए। तर उनी १६औं ओभरमा ३९ रन बनाएर आउट हुन पुगे। २२ बलमा २ चौका र ४ छक्का प्रहार गरेका उनलाई कमलसिंह ऐरीले बोल्ड गरेका थिए। प्रतिश जिसीसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरेपछि विराटनगरले सय रन कटाएको थियो।
अन्त्यमा प्रतिश जिसीले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरेर ३० जोडे। तर उनी चितवनका कप्तान कुशल मल्लबाट १६.५ ओभरमा बोल्ड हुँदा विराटनगर अलआउट भयो।
बलिङमा चितवनका रन्जित कुमारले ५ विकेट लिने क्रममा ४ ओभरमा २१ रन दिए। कमलसिंह ऐरीले २ विकेट लिए भने सोहेल तन्विर, सइफ जइब र कुशल मल्लको नाममा १-१ विकेट रह्यो।
त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन जोड्यो।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६५ रन जोडे। बोपारा अन्तिम ओभरमा शुभम् रन्जनेको बलमा साम हेजलेटबाट क्याच भएका थिए।
बोपाराले जारी सिजनमा तीन खेल खेल्दा तीनै खेलमा अर्धशतक पूरा गरेका हुन्। यसअघि उनले लुम्बिनी लायन्सविरूद्ध ६६ रन र कर्णाली याक्सविरूद्ध ५२ रन बनाएका थिए। अघिल्लो सिजन पनि उनले तीन अर्धशतक प्रहार गरेका थिए। उनी एनपिएलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर समेत हुन्।
आजको खेलमा उनले चार रनमा जीवनदान पाएका थिए। दशौं ओभरको पाँचौं बलमा नरेश भट्टको बलमा रवीको क्याच बाउन्ड्री लाइनमा प्रतिश जिसीले छाडेका थिए। आजको खेलमा अर्धशतक प्रहार गरेसँगै उनी जारी सिजनको सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले तीन खेलमा तीन अर्धशतको मद्दतमा १८३ रन बनाइसकेका छन्।
त्यसअघि ओपनरद्वय दीपक बोहराले ५ रन र डेभिड मलानले १७ रन बनाए। बोहरालाई विराटनगरका तीव्र गतिका बलर मार्स्याङ डि लाङले दोस्रो ओभरमा विकेटकिपर लोकेश बमबाट क्याच गराए। चौथो ओभरमा लाङले मलानलाई बोल्ड गरेका थिए।
त्यसपछि देव खनालले चितवनको इनिङ उकास्न खोजे। तर उनी नवौं ओभरमा सन्दीप लामिछानेको बलमा २८ रन बनाएको अवस्थामा साम हिजलेटबाट क्याच भए।
मध्यक्रमका ब्याटर साइफ जइबले जोडेको ३२ रन पनि चितवनका महत्वपूर्ण सावित भयो। उनले ३० बलमा १ चौका र १ छक्का प्रहार गरे। उनी पनि सन्दीपकै बलमा १४औं ओभरमा क्याच भए। क्यान हुनुअघि अघिल्लो बलमा उनले सन्दीपलाई छक्का प्रहार गरेका थिए।
कप्तान कुशल मल्लले नटआउट २० रन बनाए। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दा अमरसिंह रौटेलाले नटआउट ३ रन जोडे।
बलिङमा विराटनगरका कप्तान सन्दीप र डि लाङले २-२ विकेट लिए। १ विकेट रन्जनेको नाममा रह्यो। आजको खेलमा २ विकेट लिएसँगै सन्दीपले जारी सिजनमा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा अग्रता बनाएका छन्। उनले चार खेलबाट ९ विकेट लिइसकेका छन्।