१९ वर्षीय बायाँहाते स्पिनर रञ्जित कुमारका कारण विराटनगरले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोर्नुपर्यो।
बुधबार चितवन राइनोजका रञ्जितले ५ विकेट लिएपछि लगातार तीन खेल जितेर अपराजित रहेको विराटनगरको यात्रामा पूर्णविराम लाग्यो। रञ्जितकै कारण चितवनले ४८ रनको निकाल्दै प्लेअफमा आफ्नो पाइला एक कदम अघि बढायो।
अघिल्ला दुई खेलमा मौका नपाएका रञ्जितकै कारण विराटनगर धराशायी होला भनेर सायद कसैले सोचेका थिएनन्।
चितवनले अनुभवी तीव्र गतिका बलर रिजन ढकालको स्थानमा रञ्जितलाई अवसर दिएको थियो, जुन उनले उत्कृष्ट बलिङमार्फत प्रमाणित गरे।
चार ओभरमा जम्मा २१ रन खर्चिएका रञ्जितले पाँचौँ ओभरमा पहिलो स्पेल बलिङ गर्दा नै दुई विकेट लिएर शानदार सुरुवात गरेका थिए।
सो ओभरमा साम हिजलेटले पहिलो बलमा २ रन र दोस्रो बलमा छक्का प्रहार गरे पनि तेस्रो बलमै रञ्जितको बलमा एलबिडब्ल्यू धरापमा परे। लगत्तै बसिर अहमद शून्य रनमै आउट भए।
सातौँ ओभरमा दोस्रो स्पेल गर्दा उनले नरेन भट्टलाई ४ रनमा सिकार बनाए। नवौँ ओभरमा तेस्रो स्पेलमा जम्मा ४ रन मात्र खर्चिए।
एघारौँ ओभरमा दोस्रो बलमै नारायण जोशी (४ रन) र सूर्य तामाङ (० रन) लाई क्याच आउट गराएर उनले आफ्नो चार ओभरको कोटा मात्र पूरा गरेनन्, विराटनगरकोमध्यक्रमलाई पूरै ‘कोल्याप्स’ पारिदिए।
वीरगञ्ज महानगरपालिका-१२, मुर्लीका रञ्जितले मधेश प्रदेशसँगै नेपाल ‘ए’ टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका छन्।
सामान्य परिवारमा जन्मिएका रञ्जितलाई अघिल्लो सिजन चितवनले ५ खेलमा मौका दिएको थियो तर उनले जम्मा २ विकेट मात्र लिएका थिए।
6
यो सिजन रिटेन गरिएका रञ्जितले आजको खेलमा अवसर पाउने बित्तिकै उत्कृष्ट प्रदर्शन गर्ने कुरा होटेलको कोठामै सोचिसकेका रहेछन्।
उनले भने, ‘आज बिहान कोठाबाट निस्कँदै मलाई भाइब्स आइरहेको थियो कि आज मेरो दिन हो। राम्रो प्रदर्शन गरेर टिमलाई जिताउँछु भनेर सोचेको थिएँ— चाहे फिल्डिङबाट होस् वा बलिङबाट, जसरी पनि योगदान दिन्छु भन्ने लागिरहेको थियो।’
पाँच विकेट लिएको खेलमा टोलीले जित हासिल गरेकोमा उनी निकै खुसी छन्।
टोलीका सिनियर खेलाडीहरूले दिएको सहयोग र सल्लाहले योजनाअनुसार बलिङ गर्न सफल भएको उनले बताए।
साथै मैदानमा उपस्थित भएर साथ दिएका चितवनका समर्थकहरूप्रति पनि कृतज्ञता व्यक्त गरे।
‘चितवनका फ्यानहरूलाई पनि धन्यवाद भन्न चाहन्छु, जो मैदानमा आएर हामीलाई हौसला र समर्थन दिनुभयो,’ उनले भने।
पाँच विकेट लिएलगत्तै सबैभन्दा पहिला आफ्ना आमा-बुबा र गुरुहरूलाई सम्झिएको उनले बताए।

बोपाराको तेस्रो अर्धशतक र रञ्जितको ५ विकेटले अघि बढेको चितवन
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा अलआउट भयो।
खराब सुरुवात गरेको विराटनगरका शीर्ष तीन ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
लोकेश बम ७ रन, जर्ज मुन्से र नरेन भट्ट ४-४ रनमा पेभेलियन फर्किए। बमलाई दोस्रो ओभरमा कमलसिंह ऐरीले विकेटपछाडि अर्जुन साउदले क्याच गराृए। तेस्रो ओभरमा मुन्से सोहेल तन्विरको बलमा दिपक बोहोराबाट क्याच भए।
त्यसपछि यो सिजन पहिलो पटक मौका पाएका बायाँ हाते युवा स्पिनर रन्जित कुमार बलिङमा आए। पाँचौ ओभरको तेस्रो बलमा साम हिजलेटलाई २२ रनमा एलबिडब्लूको धरापमा पारे। त्यसअघि हिजलेटले ११ बलमा ३ छक्काको मद्दतमा २२ रन जोडिसकेका थिए। दुई बलपछि रन्जितले बसिर अहदमलाई पनि शून्यमा क्याच गराउँदै एकै ओभरमा दुई विकेट लिए। अघिल्लो सिजन उनले पाँच खेले पनि २ विकेट मात्र लिन सकेका थिए।
सातौं ओभरमा नरेन भट्ट आउट भए। उनलाई कमलले कप्तान कुशल मल्लबाट क्याच गराए।
एघारौं ओभरमा फेरि रन्जितले उत्कृष्ट बलिङ गरे। उनले दोस्रो बलमा नारायण जोशीलाई १० र तेस्रो बलमा सूर्य तामाङलाई डकआउट गरे। १३औं ओभरमा शुभम रन्जनेलाई सइफ जइबले ६ रनमा बोल्ड गर्दा चितवन सजिलो स्थितिमा देखियो।
तर त्यसपछि मर्स्याङ डि लाङ आक्रामक रुपमा देखिए। उनले चितवनका बलरलाई लगातार आक्रामण गरेपछि खेल लम्बिएको थियो।
१३औं ओभरमा ६४-८ को स्थितिमा रहेको विराटनगरलाई उनले एकल प्रयासमा अघि बढाउन खोजेका थिए। तर उनी १६औं ओभरमा ३९ रन बनाएर आउट हुन पुगे। २२ बलमा २ चौका र ४ छक्का प्रहार गरेका उनलाई कमलसिंह ऐरीले बोल्ड गरेका थिए। प्रतिश जिसीसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरेपछि विराटनगरले सय रन कटाएको थियो।
अन्त्यमा प्रतिश जिसीले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरेर ३० जोडे। तर उनी चितवनका कप्तान कुशल मल्लबाट १६.५ ओभरमा बोल्ड हुँदा विराटनगर अलआउट भयो।
बलिङमा चितवनका रन्जित कुमारले ५ विकेट लिने क्रममा ४ ओभरमा २१ रन दिए। कमलसिंह ऐरीले २ विकेट लिए भने सोहेल तन्विर, सइफ जइब र कुशल मल्लको नाममा १-१ विकेट रह्यो।
त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन जोड्यो।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६५ रन जोडे। बोपारा अन्तिम ओभरमा शुभम् रन्जनेको बलमा साम हेजलेटबाट क्याच भएका थिए।
बोपाराले जारी सिजनमा तीन खेल खेल्दा तीनै खेलमा अर्धशतक पूरा गरेका हुन्। यसअघि उनले लुम्बिनी लायन्सविरूद्ध ६६ रन र कर्णाली याक्सविरूद्ध ५२ रन बनाएका थिए। अघिल्लो सिजन पनि उनले तीन अर्धशतक प्रहार गरेका थिए। उनी एनपिएलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर समेत हुन्।
आजको खेलमा उनले चार रनमा जीवनदान पाएका थिए। दशौं ओभरको पाँचौं बलमा नरेश भट्टको बलमा रवीको क्याच बाउन्ड्री लाइनमा प्रतिश जिसीले छाडेका थिए। आजको खेलमा अर्धशतक प्रहार गरेसँगै उनी जारी सिजनको सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले तीन खेलमा तीन अर्धशतको मद्दतमा १८३ रन बनाइसकेका छन्।
त्यसअघि ओपनरद्वय दीपक बोहराले ५ रन र डेभिड मलानले १७ रन बनाए। बोहरालाई विराटनगरका तीव्र गतिका बलर मार्स्याङ डि लाङले दोस्रो ओभरमा विकेटकिपर लोकेश बमबाट क्याच गराए। चौथो ओभरमा लाङले मलानलाई बोल्ड गरेका थिए।
त्यसपछि देव खनालले चितवनको इनिङ उकास्न खोजे। तर उनी नवौं ओभरमा सन्दीप लामिछानेको बलमा २८ रन बनाएको अवस्थामा साम हिजलेटबाट क्याच भए।
मध्यक्रमका ब्याटर साइफ जइबले जोडेको ३२ रन पनि चितवनका महत्वपूर्ण सावित भयो। उनले ३० बलमा १ चौका र १ छक्का प्रहार गरे। उनी पनि सन्दीपकै बलमा १४औं ओभरमा क्याच भए। क्यान हुनुअघि अघिल्लो बलमा उनले सन्दीपलाई छक्का प्रहार गरेका थिए।
कप्तान कुशल मल्लले नटआउट २० रन बनाए। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दा अमरसिंह रौटेलाले नटआउट ३ रन जोडे।
बलिङमा विराटनगरका कप्तान सन्दीप र डि लाङले २-२ विकेट लिए। १ विकेट रन्जनेको नाममा रह्यो। आजको खेलमा २ विकेट लिएसँगै सन्दीपले जारी सिजनमा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा अग्रता बनाएका छन्। उनले चार खेलबाट ९ विकेट लिइसकेका छन्।