सहिद परिवार
भदौ २३ गते, बिहान साढे ८ बजेको थियो।
रचना खतिवडा भान्सामा खाना बनाउँदै थिइन्। उनका २२ वर्षीय छोरा रसिक अनलाइनमा कुनै लुगा मनपर्यो भनेर देखाउँदै थिए।
त्यही बेला रसिकको मोबाइल बज्यो। उनी कौसीमा निस्किएर गफ गर्न थाले।
उनी फर्किएपछि रचनाले कसको फोन भनेर सोधिन्।
रसिकले साथीको फोन भने र नुहाउन गए।
'दारी काटिवरि चिटिक्क परेर निस्कियो र तपाईंको सनस्क्रिन लगाउँछु भन्दै तल गयो,' रचनाले त्यो दिन सम्झिँदै भनिन्।
उनीहरू घरमा प्रायः आमाछोरा मात्र हुन्थे। रचनाका श्रीमान कामको सिलसिलामा धादिङ बस्थे। छोरी विदेशमा छिन्।
'त्यसैले गफ गर्ने साथी भने पनि, जे भनेपछि छोरा नै मेरा लागि सबथोक थियो,' उनले भनिन्।
त्यस दिन बिहान ११ बज्न लागेपछि रसिक हतारिए। खाना पस्किदिनू भन्दै रचनाको अगाडि पुगे। उनले एकछिन पर्खिन भन्दा पनि मानेनन्। रचनाले आफै पस्किएर खा भनिन्। त्यो पनि उनले मानेनन्।
'तपाईं पस्किदिनु, म आफै त पस्किएर खान्नँ भन्न थाल्यो। त्यसपछि कुचो छाडेर खाना पस्किदिएँ,' रचनाले भनिन्।
रसिक हतारमा खाँदै थिए। रचनाले किन हतार गरेको भनेर सोधिन्।
उनले जेनजी आन्दोलनमा जान लागेको भने।
'साथीहरू सबै जना जान्छन्, म पनि एकछिन पुगेर आउँछु, यो आन्दोलन हाम्रै लागि हो भन्यो,' रचनाले सुनाइन्, 'हामी विदेश जानु नपरोस् भनेरै यो आन्दोलन भएको हो, त्यसैले हामी जानुपर्छ भन्यो।'
रचनाले पटक पटक नजान भनिन्। रसिकको फोन फेरि बज्यो। उनी टेबलबाट उठे र हतार हतार उभिएरै खाना खाएर हिँड्न लागे।
रचनाले अनेक भनेर रोक्न खोजिन्। रसिक उल्टै सम्झाउन थाले।
यो आन्दोलनमा हामी जानैपर्छ भन्दै बरू बीचमा जान्नँ, छेउमा बस्छु, दुई बजे आउँछु भनेर निस्किए।
उनका दुई जना साथी बाइकमा घरै आइपुगे। रसिक निस्किए र जाँदाजाँदै दुई बजे जसरी पनि आइपुग्छु भनेर फेरि बाचा गरे।
रसिक प्रायः आफूले भनेकै समयमा आइपुग्थे। त्यस दिन पनि आइपुग्छ भन्ने विश्वास भयो। रसिक दुई बजे चिया, खाजा बनाएर रचनालाई खुवाँउथे। होटल म्यानेजमेन्ट विषयमा प्लस–टू सकेर बसेका उनी सबै परिकार मिठो बनाउँथे।
त्यसपछि रचना घरको काममा लागिन्। बेला बेला छोरा फर्किने समय भयो कि भन्दै घडी हेरिरहिन्।
साढे १ बजेतिर उनले रसिकलाई फोन गरिन्। फोन उठ्यो तर उताबाट कोही बोलेन। मानिसको चर्को आवाज र होहल्ला मात्र सुनियो। रचनाले फोन काटिदिइन्।
दुई बज्दा पनि छोरा नआएपछि उनी आत्तिन थालिन्। बारम्बार फोन गरिन्। तर लागेन।
'छोराको फोन नलाग्दा मन बेचैन भयो। त्यस्तो छट्पटी कहिल्यै भएको थिएन,' उनले भनिन्, 'कहिले कोठा, कहिले तल र कहिले छतबाट छोरा आयो कि भन्दै हेरी मात्र रहेँ।'
उनले फोन पनि गरिरहिन्। तर लाग्दै लागेन।
अपराह्न साढे ४ बजेतिर रसिकका दुई साथी घर आइपुगे। रचना बाहिर निस्किइन्।
साथीहरूले रचनालाई रसिकको ज्याकेट र मोबाइल दिँदै भने — रसिक एकछिनमा आउँछ। बाटोमा छ। ज्याकेट र मोबाइल क्याफेमा छाडेको भएर हामीले ल्याइदिएका हौं।
रसिक आफ्नो मोबाइल कहिल्यै छाड्दैन थिए। शौचालय जाँदा समेत लिएर जान्थे। साथीहरूलाई रचनाले यही कुरा भनिन्। साथीहरूले पनि आफ्नै कुरा दोहोर्याए र निस्किए।
त्यसपछि रचना झन् अलमल परिन्। छोराको मोबाइल नै आफ्नो हातमा भएपछि कसलाई फोन गर्ने!
उनी छट्पट गर्दै बसिरहिन्। साँझ ६ बजेसम्म पनि रसिक नआएपछि उनको शरीर काम्न थालिसकेको थियो। विदेशमा भएकी छोरीले पनि पाँच–पाँच मिनेटमा फोन गरेर 'ममी भाइ आयो' भनेर सोधिरहेकी थिइन्।
डरैडरमा भए पनि छोरो भोकाएर आउँछ भनेर खाना पकाइन् र पर्खिरहिन्।
बेलुकी ८ बजेतिर छोरीले फेरि फोन गरिन्। त्यति बेला उनले भाइ आइपुग्यो कि पुगेन भनेर सोधिनन्। अलिकति खाना खानु भन्दै सम्झाइबुझाइ गरिन्।
'छोरीको रून्चे स्वर सुनेपछि डरले मन आत्तियो,' रचनाले भनिन्, 'मैले भाइ नआएसम्म खान्नँ भनेँ।'
त्यसपछि छोरीले उनलाई नआत्तिनु है भन्दै भाइबरमा एउटा भिडिओ पठाइन्।
भिडिओ खोल्नासाथ रचनाको सातो उड्यो— रसिक रगताम्मे थिए र उनलाई सिपिआर दिइँदै थियो।
पूरा भिडिओ हेरी नसक्दै रचना चिच्याइन्।
रूँदै तीन तला माथिबाट सडकमा पुगिन्। राति सवा ८ बजे सडक सुनसान जस्तै थियो। उनी रूँदै, चिच्याउँदै हिँडेको देखेपछि एक जना मोटरसाइकल चालकले के भयो भनेर सोधे। ती व्यक्तिलाई उनले आफूलाई अस्पताल पुर्याइदिन भनिन्।
तर रसिक कुन अस्पतालमा छन् भन्ने उनलाई थाहा थिएन। नजिककै अस्पताल ट्रमा सेन्टर लगिदिनू भनिन्।
रचनाहरूको पुरानो घर काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० मा हो। विगत ८ वर्षदेखि काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुमा बस्दै आएका छन्।
ट्रमा सेन्टरको गेटमा पुगेपछि रचना बाइक राम्ररी नरोकिँदै हामफालिन्। त्यहाँ भिड थियो, अरू मान्छे पनि रोइरहेका थिए। प्रहरी भिड नियन्त्रण गर्ने प्रयासमा थियो।
फेसबुक बन्द र दिनभर छोराको पिरमा भएकाले उनले आन्दोलनबारे धेरै जानकारी नै पाएकी थिइनन्। त्यसैले त्यहाँ पुग्दा झनै आत्तिइन्।
भिडमै छोराको नाम लिएर चिच्याउन थालिन्। उनी रोएको देखेर रूपेश ठाकुर भन्ने एक व्यक्तिले उनलाई सम्हाले।
'रूपेशलाई छोरा खोजिदिनू न भनेँ। रूँदै, चिच्याउँदै कोठाकोठा हेर्न थालेपछि एक जना डाक्टरले घाइते र मृतकको नाम हेर्न भनेर एउटा कागज दिए,' रचनाले भनिन्, 'आँसुले आँखै देखिनँ। रूपेशलाई नै हेर्न भनेँ।'
त्यति बेलै छोरीले फोन गरेर रसिकको भिडिओमा एभरेस्ट अस्पताल लेखेको छ, त्यहाँ जानू भनिन्।
उनी त्यहाँबाट निस्किइन्। रूपेश पनि साथै गए। कर्फ्यू जारी भइसकेको थियो। गाडीहरू थिएनन्। एउटा ट्याक्सीलाई रूँदै रोकिन्।
रचनाले एभरेस्टको गेटमा पुग्नासाथ रसिकको भिडिओ देखाएर सोधिन्। डाक्टरहरूले मुखामुख गरे। एकछिनपछि एक जना डाक्टरले रसिकलाई टिचिङ अस्पताल पुर्याएको जानकारी दिए।
अर्धबेहोस अवस्थामा रचना टिचिङ अस्पताल पुगिन्। मेरो छोरा खोइ भन्दै चिच्याइन् र केही समयपछि त्यहीँ बेहोस भइन्। होसमा आउँदा वरिपरि डाक्टरहरू थिए।
होसमा आउनासाथ फेरि छोरा खोइ भन्दै चिच्याइन्।
'डाक्टरहरूले उपचार हुँदैछ भने। अनि म धेरै चिच्याएर कमजोर भइसकेको भन्दै शान्त बनाउने औषधि दिन खोजे। मैले लिनै मानिनँ,' रचनाले सुनाइन्।
उनी टिचिङ अस्पताल पुगेपछि आफन्तहरू पनि आइपुगे। डाक्टरले देवर र रूपेशलाई अलि पर लगे र केही कुरा भने।
'देवर रूँदै फर्किएको देखेपछि छोरा अब छैन कि भन्ने लाग्यो,' उनले भनिन्, 'तर मलाई कसैले केही भनेनन्।'
अस्पतालले उनीहरूलाई भोलि बिहान ८ बजे आउनू भनेर फर्काइदियो। राति ११ बजेतिर उनी कोठा आइपुगिन्। बिहान ७ बजेसम्म आँखा झिमिक्क नगरी सोफामा बसिन्। केही आफन्त उनका श्रीमानलाई लिन धादिङ गए।
आफन्तहरू उनका अगाडि बसेर रूँदा उनले छोरालाई केही भएको छैन भनिरहिन्।
बिहान ८ बजे उनीहरू टिचिङ अस्पताल पुगे। १० बजेसम्म पनि रसिकलाई देख्न पाएनन्। सवा १० बजेतिर उनीहरूले अस्पतालले एउटा गेटको ताला फोडे। त्यसपछि डाक्टरहरूले मान्छे पहिचान गर्न विभिन्न कोठा डुलाए।
'आफन्तहरूले रसिकलाई उपचार भइरहेका कोठाहरूमा भेटेनन्। त्यसपछि शवगृह पुग्यौं,' उनले भनिन्, 'त्यहाँ पुगेपछि मलाई डाक्टरले तपाईंको छोराको हातमा दुवैतिर ट्याटू छ भनेर सोधे।'
त्यो सुनेपछि रचना छाँगाबाट खसेझैं भइन्। रसिकका दुवै हातमा ठूला ट्याटू थिए।
रसिक भएको ठाउँमा पुग्नासाथ रचनाले रसिकको छाती र कोखामा गोली लागेको देखिन्। उनी रसिकका खुट्टा समाउँदै चिच्याइन्। अनि बेहोस भइन्।
उनको होस एक दिनपछि मात्र आयो। उनी अस्पतालको बेडमा थिइन्।
'होस आएदेखि छोराको न्यायका लागि अस्पतालबाटै आवाज उठाउन थालेँ,' रचनाले भनिन्, 'गोली हान्ने र हान्न लगाउनेलाई कारबाही हुनुपर्छ भनेर हाम्रो परिवारले अस्पतालबाटै अभियान सुरू गरेको हो।'
उनीहरूले न्याय नपाएसम्म रसिकको शव नउठाउने भने। त्यसपछि अरू मृतकका परिवार पनि जोडिँदै गए।
सरकारले मृतकहरूलाई सहिद घोषणा गर्यो। क्षतिपूर्ति पनि दियो। तर दोषीलाई कारबाही नगरेसम्म आफूहरू चुप नलाग्ने उनले बताइन्।
'मेरो छोराले दुई गोली खाएर परिवर्तनका लागि ज्यान दियो। म दस गोली खाएर भए पनि लडिरहन्छु,' रचनाले भनिन्, 'देशमा पहिलो महिला प्रधानमन्त्री आइन्। उनले आमाहरूको पीडा बुझ्छिन् भन्ने लाग्थ्यो तर अहिलेसम्म कारबाही प्रक्रिया अगाडि बढाउन सकेकी छैनन्।'
सहिद परिवारको कुरा सरकारले नसुनेको उनको भनाइ छ।
'मैले एक थप्पड नलगाएको मेरो छोरालाई सरकारले छातीमा गोली हान्यो,' उनले भनिन्, 'दोषी सबैलाई कारबाही हुनैपर्छ।'
सहिद परिवारका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्