'गरिखान देऊ' का संयोजक मिराज ढुंगाना भदौ २३ र २४ को जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी थिएनन्। उनी आन्दोलन सकिएको केही दिनपछि मात्र बाहिर आएका थिए।
त्यसयता प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्ने माग अघि सारेका मिराजले आउँदो फागुन २१ गते हुने निर्वाचनमा आफू सहभागी नहुने बताउँदै आएका छन्। अन्य जेनजी समूहले यही लोकतान्त्रिक व्यवस्था र संविधान अनुसार आगामी चुनावमा सहभागी हुनुपर्ने माग उठाउँदै गर्दा मिराजको समूह फरक कित्तामा उभिएको छ। उनले संसदीय चुनावअघि प्रत्यक्ष कार्यकारीको चुनाव, संविधान संशोधन र प्रदेश सरकार पुनर्संरचनाको माग उठाइरहेका छन्।
राजनीतिक प्रतिशोधका आधारमा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन्। यिनै माग बुझाउन मिराजको समूहले केही दिनयता प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने प्रयास गरिरहेको छ। यसका लागि उनी सहितका जेनजी युवा सोमबार र मंगलबार गरी दुई पटक सिंहदरबार पुगेका थिए। दुवै पटक उनीहरूले सिंहदरबार प्रवेश गर्न पाएनन्। मंगलबार त प्रहरीले पछाडि धकेल्दै अनामनगर पुलसम्म पुर्याएको थियो। उनीहरूले बुधबार पनि प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन्।
यसबीच केही जेनजी प्रतिनिधिले भदौ २३ गते सडकमा नआएर अहिले किन, केका लागि र कसका लागि प्रदर्शन गरिरहेको भनेर मिराजमाथि प्रश्न पनि उठाएका छन्।
यसै सन्दर्भमा बुधबार हामीले जेनजी प्रतिनिधि मिराज ढुंगानासँग उनका माग र उनले गरिरहेका प्रदर्शनको सान्दर्भिकताबारे कुराकानी गरेका छौं।
हिजो (मंगलबार) सिंहदरबारभित्र छिर्न नदिएपछि तपाईंहरू छलफलमा हुनुहुन्थ्यो, के-के भयो?
सिंहदरबारबाट फर्किएपछि अब के गर्ने भन्ने विषयमा हाम्रो छलफल भइरहेको छ। तर त्यो फाइनल भइसकेको छैन। अहिले पनि हामी छलफलमै छौं। छलफल टुंगोमा पुगेपछि तपाईंहरूलाई राम्ररी भनिहाल्छु, अनि लेख्नुहोला। नत्र फेरि हामीलाई अप्ठ्यारो पर्छ।
फेरि मागपत्र बोकेर सिंहदरबार जाने तयारीमा हुनुहुन्छ कि?
डेफिनेट्ली, हामी तयारी गरिरहेका छौं। हाम्रो माग पूरा नभएसम्म यो जारी रहन्छ।
आज पनि जानुहुन्छ?
अहिलेसम्म त त्यसको केही तयारी छैन। आज जाँदैनौं होला। तर हामी निरन्तर प्रयास गर्छौं।
चुनाव नजिकिँदै छ। चुनावको वातावरण बनाउनुपर्ने बेला यसरी प्रदर्शन गरिरहँदा त्यसमा असर पर्दैन?
हामी यो चुनावको पक्षमै छैनौं। हामी अर्थपूर्ण चुनावको पक्षमा हो। यही तरिकाले र यस्तै स्थितिमा चुनावमा जाने कुरा चाहिँ छैन, हुँदैन।
अर्थपूर्ण चुनाव भनेको कस्तो हो?
नेपाली जनताको भावना बोकेर, चाहना बोकेर आएको उम्मेदवारले जित्ने खालको चुनाव हुनुपर्छ। अहिले जस्तो दलहरूको प्रोपगान्डा अगाडि सार्ने खालको चुनाव होइन। भोलिका दिनमा उहाँहरूले प्रोपगान्डा अगाडि सार्नु होला कि नहोला, त्यो पछि थाहा हुन्छ।
हाम्रो भनाइ के हो भने, चुनावमा वास्तविक जनप्रतिनिधिले जित्नुपर्यो, तब न देशमा केही हुन्छ। हामीले त्यस्तो खालको वातावरण बनाइदिनुपर्यो। अहिले भइरहने चुनावले के हुन्छ? केही हुँदैन। तिनै मान्छे दोहोरिन्छन्।
तपाईंले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव गर भन्ने माग राखिरहनुभएको छ। त्यो कसरी गर्न सकिन्छ? यसबारे केही होमवर्क गर्नुभएको छ?
छ, हामीसँग पूरै फर्म्याट नै छ।
कसरी गर्न सकिन्छ भन्नुहोस् न?
अब कसरी गर्न सकिन्छ भन्दाखेरि सबभन्दा पहिला त संविधान संशोधन गर्नुपर्यो। त्यसपछि कसरी चुनाव गराउने भन्ने हाम्रो एउटा मोडल नै छ।
एकदिन तपाईंहरू मलाई यो मोडल डिस्कस गर्ने तरिकाले बोलाउनुस्, म आएर भन्छु। मोडल पूरै स्लाइड शो गरेर देखाइदिन्छु। काम नगरिकन त हुँदै भएन नि हजुर। अब देशलाई सेफ ल्यान्ड गर्नुपरिहाल्यो नि।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्थापन गर्नुपर्यो पनि भन्नुभएको छ। यसका लागि त विभिन्न स्तरमा गृहकार्य भइरहेका छन्। तपाईंहरूसँग कसरी गर्न सकिन्छ भन्ने कुनै योजना छ?
छ, विदेशमा हाम्रा दूतावासहरू छन्। हाम्रो पासपोर्टमा बायोमेट्रिक्स सबै छ। यही पासपोर्टलाई भोटिङ कार्डसँग जोड्न सकिन्छ।
अर्को कुरा भनेको, अहिले इमेल भोटिङ पनि हुन्छ। विदेशमा सबै जना दूतावासको नजिक बसेका हुँदैनन्। अस्ट्रेलियाको कुरा गर्दा ठाउँ ठूलो छ, भूभाग ठूलो छ। धेरै ठाउँमा छरिएर बसेकाहरू एकैचोटि दूतावासमा जान सक्ने अवस्था हुँदैन। त्यो बेला उहाँहरूले इमेल भोटिङ गर्न पाउनुपर्यो।
तेस्रो कुरा, हुलाकमार्फत पनि भोटिङ गरेर पठाउन सकिन्छ। हुलाकमार्फत पठाउँदा महँगो पनि हुँदैन। जुन जुन देशमा नेपाली दूतावास छन्, त्यहीँ हुलाक राख्न सकिन्छ। नेपालसम्म पठाउन भने अलि लामो हुन्छ।
अहिले ८० लाख जनता देशबाहिर छन्। यो सानो संख्या होइन। उहाँहरूले पठाउने रेमिटेन्सले देश थेगिरहेको छ। अस्तिनै १८ खर्ब हो कि कति हो आएको थियो। नेपालकै बजेट बराबरको रेमिटेन्स भित्रन्छ। अनि उहाँहरूले नै भोट हाल्न नपाउने भन्ने हुँदैन नि।
सहिद परिवार र घाइतेहरूको उचित व्यवस्थापन गर भन्ने माग रहेछ। त्यो त सरकारले गरिरहेकै छ, त्यसबाहेक अरू के-के हुनुपर्ने हो?
सरकारले सहिद घोषणा गर्यो, १५ लाख रूपैयाँ पनि दिएको छ। तर त्यतिले मात्र हुँदैन। आन्दोलनका एक जना घाइते मसँग कनेक्सनमा हुनुहुन्छ। उहाँको टाउकोमा गोली लागेको छ। बिएन्डबी अस्पतालमा उपचार गराउनुभएछ। उहाँले अहिलेसम्म एक रूपैयाँ खर्च पाउनुभएको छैन। त्यसैले घाइतेलाई उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हामो माग हो।
सरकारले नि:शुल्क उपचार गराउने भनिरहेको थियो। त्यस्तो भन्दा पनि घाइतेसँग अस्पतालले पैसा लियो र?
उहाँले बिएन्डबीमा उपचार गराएको र खर्च नपाएको भन्नुभएको छ। त्यसबारे विस्तृतमा एकचोटि मैले उहाँसँग बुझ्नुपर्छ है।
अनि सहिद परिवारका लागि सरकारले के-के गर्नुपर्छ भन्ने हो तपाईंको माग?
जेनजी सहिद परिवार संघर्ष समितिका उपाध्यक्षले हामीसँग कुरा गरिरहनुभएको थियो, उहाँ हामीसँग जोडिनुभएको छ। सहिद परिवारका लागि रोजगारी, नि:शुल्क शिक्षा, नि:शुल्क स्वास्थ्य हुनुपर्छ भन्ने उहाँहरूको माग छ। उहाँहरूको माग अहिलेसम्म कार्यान्वयन भएको छैन। त्यसैले हामीले पनि सरकारलाई दबाब दिन सहिद परिवारका मागलाई सरकारसमक्ष राखेका हौं। सहिदहरूलाई साथ दिनु हाम्रो पनि जिम्मेवारी हो।
सहिद परिवारले मात्र यो कुरा उठाउँछ भन्ने हुँदैन। सम्पूर्ण नेपाली यसमा लाग्नुपर्छ। सरकारले सहिद परिवारको माग पूरा गर्न ढिलासुस्ती गरिरहेको छ।
भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएका दमनको निष्षक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरिरहनुभएको छ। यसमा त जाँचबुझ आयोगले काम गरिरहेकै छ, तपाईंको विचारमा कसरी छानबिन गर्नुपर्ने हो? कसले गर्ने हो?
हो, जाँचबुझ आयोग छ, त्यसलाई हामीले स्वीकार गरेका छौं। तर उहाँहरूले एकदमै ढिलो काम गरिरहनुभएको छ। अलि छिटो गर्नुपर्यो। सशक्त भएर लाग्नुपर्यो। साथै, छानबिनमा कुनै पनि लापरबाही र नातावादले स्थान पाउनु भएन। राजनीतिक दबाबमा कसैले उन्मुक्ति पाउनु हुँदैन। निष्पक्ष छानबिन र कारबाही हुनुपर्छ भनेर दबाब दिन यो माग गरेका हौं। खबरदारी गरिएको भनेर भन्दा हुन्छ।
हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकारसम्पन्न आयोग गठन गर भन्ने माग पनि छ नि?
भ्रष्टाचार जहिलेदेखि भयो, त्यही बेलादेखिको छानबिन हुनुपर्यो। धेरै पहिलादेखिको सकिँदैन होला, तर २०६३ सालयता उच्च पदमा रहेका सबै व्यक्ति, भ्रष्टाचार आरोप लागेका र जनताले प्रश्न गरेका व्यक्तिहरूमाथि छानबिन गर्नुपर्छ भन्ने हो।
२०६३ भन्दाअघिको सम्भव हुँदैन कि भन्ने लाग्छ। सकिन्छ भन्ने त्योभन्दा पहिलादेखि भ्रष्टाचारमा जोडिएका र आरोप लागेका व्यक्तिमाथि छानबिन गर्नुपर्छ।
भ्रष्टाचार आरोप लागेकामा उच्च तहका व्यक्ति धेरै छन्। अहिले भइरहेका कुनै पनि निकायले उनीहरूमाथि निष्पक्ष छानबिन गर्न सक्दैनन्। त्यसैले उनीहरूविरूद्ध छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्छ भनेर हामीले आवाज उठाएका हौं। यसका लागि ठुल्ठूला फाइल खोल्नुपर्यो। उनीहरूलाई कानुनी कारबाहीमा ल्याउनुपर्यो। आयोगले नागरिक विज्ञलाई प्रतिवेदन बुझाउनुपर्यो। त्यसपछि बल्ल जनताको हातमा वास्तविक शक्ति आउँछ। जनताले चाहेको सरकार बनाउन सक्छन्।
जेनजी आन्दोलन लगायतमा राजनीतिक प्रतिशोधका आधारमा चलाइएको मुद्दा फिर्ता गर र विधिको शासन कायम गर भनेको के हो? भदौ २३ गतेपछि त त्यस्तो कुनै मुद्दा दर्ता भएकै छैन। तपाईंले कोविरूद्धको मुद्दा भन्न खोज्नुभएको हो?
जसले अनुसन्धान गरिरहेको छ, उसलाई त पत्याउनै पर्यो। तर हामीसँग हेटौंडाबाट आउनुभएको एक जनाले कुरा गर्नुभएको थियो। उहाँ पीडित हो, उहाँले आफूमाथि नक्कली मुद्दा चलाएको भन्नुभयो।
एक जना व्यक्तिमाथि जेनजी समूहलाई समर्थन गर्यो भनेर हेटौंडामा खुकुरी नै प्रहार भएको छ। उहाँले जेनजी समूहलाई सहयोग गर्न आफ्नो गाडी दिएर आन्दोलनमा पठाउनुभएको रहेछ। त्यस कारण उहाँमाथि खुकुरी प्रहार भएको भनिएको छ। यो घटना भाइरल नै भएको थियो।
यसरी जेनजी समूहलाई सघाउने र सहयोग गर्नेहरूमाथि प्रतिशोध साधेर कानुनी कारबाही गर्नुभएन। गल्ती गर्नेहरूमाथि कारबाही हुनुपर्छ, तर गल्ती नै नगरेको व्यक्तिमाथि प्रतिशोध साधेर कानुनी दायरामा ल्याउनु हुँदैन भन्ने हाम्रो धारणा हो। त्यसैले यसबारे निष्पक्ष छानबिन हुनुपर्छ भनिरहेका हौं।
भदौ २३ गतेयता चलाइएको अलिकति चर्चित मुद्दा भनेको दुर्गा प्रसाईंको हो, कतै तपाईंले उहाँलाई नै भन्न खोज्नुभएको त होइन?
होइन, त्यस्तो होइन। मैले उहाँलाई भनेको होइन। आन्दोलनपछि केही युवाहरूमाथि मुद्दा चलाइएको छ, दु:ख दिइएको छ। जसलाई पनि राजनीतिक प्रतिशोध साधेर जबर्जस्ती फसाउन खोजिएको छ। तीमाथि निष्पक्ष छानबिन हुनुपर्छ भनेको हो।
कोही पनि नेपाली नागरिकले बिनागल्ती कठघरामा उभिन नपरोस् र गल्ती गरेकाहरूले छुट नपाऊन् भनेर हामीले सरकारसँग यो माग राखेका हौं।
कतिपय जेनजी प्रतिनिधिहरूले नै तपाईं भदौ २३ गते प्रदर्शनमा नआउने, अनि अहिले चाहिँ सडकमा किन आएको भनिरहेका छन् नि? यसबारे तपाईं के भन्न चाहनुहुन्छ?
त्यति बेला मैले नै मेरा साथीहरूलाई आन्दोलनमा पठाएको हो। आफूलाई अलिकति खतरा महसुस भइरहेको थियो। आज मान्छेहरू रिसाएका छन्, आन्दोलन तीन-चार दिन चल्छ, मान्छेहरू सेलाएपछि बिस्तारै सडकमा जाने भन्ने तयारी थियो। तर त्यही एक दिनमै के-के भयो!
अहिले किन आइस् भन्नेहरूका लागि म यति भन्छु, अहिले म देशका लागि आएको हुँ। आफ्नो मागपत्र राख्न आएको हुँ। स्थिर सरकार चाहियो भनेर आएको हुँ। किन आएको भन्नेहरूलाई हाम्रो मागपत्रमै जबाफ छ। देशमा शान्ति चाहिएर आएको हुँ। आर्थिक क्रान्ति हुनुपर्यो भनेर आएको हो। त्यसै आएको होइन। अब अहिले खुट्टा तान्छन् भने मेरो भन्नु केही छैन।
भदौ २३ गते सडकमा नआउनुको खास कारण केही छ कि?
होइन, यो विषय फेरि नकोट्याऊँ। मैले एकदमै धेरै कुरा भनिसकेँ। अरू ठाउँमा नि हेर्न सक्नुहुन्छ। यसलाई जति पछाडि छाड्यो, देशका लागि त्यति राम्रो हो। अब मेरै खुट्टा ताने भने मान्छेले गर्ने के त? यो सानो मान्छेलाई ठूलो बनाइदिए! यसरी त देशको विकास कसरी हुन्छ? जसको नि खुट्टा तानेर मात्र हुन्छ र, हुँदैन नि।
भदौ २२ गते जेनजी प्रतिनिधिहरूसँग भएको छलफलमा तपाईंको फरक एजेन्डा रहेछ नि? बिहान हुने प्रदर्शनमा सहभागी हुँदैनौं, बरू बेलुकी ६ बजेतिर हामी छुट्टै गर्छौं भन्नुभएको रहेछ नि? के यो सही हो?
यस्तो हो, आन्दोलन एक ठाउँमा मात्र केन्द्रित भयो भने दमन होला, सबैलाई समातेर लैजाला, आन्दोलन तुहिएला, त्यसैले फरक फरक ठाउँमा आन्दोलन गरौं भन्ने कुरा हो।
कुन कुन ठाउँमा गर्ने तयारी थियो?
एउटा माइतीघरमा गर्ने योजना थियो। अर्को तीनकुनेको मैदानमा गर्ने भन्ने थियो। हामीले दुवैतिर गर्ने सोचेका थियौं। खासमा बिहान माइतीघरमा साथीहरूको टोली पठाइयो। त्यसको अपडेट लिइरहेका थियौं। तर त्यही दिन धेरै कुरा भयो। माहोल बिग्रियो।
भदौ २३ गते प्रदर्शन गरेर साँझ छलफल गरी २४ गते पनि गर्ने तयारी थियो?
२३ गतेको प्रदर्शनपछि दोस्रो दिन के गर्ने भन्नेबारे साँझ छलफल गर्ने कुरा थियो। तर त्यो दिन साँझ के-के भयो, भयो। हामी अन्यौलमा पर्यौं। टिमसँग कुराकानी नै भएन। तैपनि २४ गते हामी गयौं। कान्तिपुर अस्पताल जल्नबाट हामीले नै बचाएका हौं।
तपाईंले जेनजी आन्दोलनभन्दा अगाडि पोस्ट गर्नुभएको एउटा भिडिओमा दुर्गा प्रसाईंको समर्थनमा बोल्नुभएको रहेछ। तपाईं उहाँको निकट हो?
मैले उहाँको बारेमा के बोलेको छु र? कुन भिडिओ हो? त्यो भिडिओ मलाई प्रोभाइड गराइदिनु होला। म हेरेर भन्छु नि।
हामीले त्यो भिडिओ उनलाई पठाइदियौं। त्यसपछि सोध्यौं — भिडिओ हेर्नुभयो त?
यसलाई कसरी भनुम् भने, त्यसमा अहिलेलाई नो कमेन्ट गरूम्। यसमा मेरो कुनै प्रतिक्रिया छैन। पछि केही भयो भने भन्छु नि है।
अहिले धेरैले तपाईंमाथि प्रश्न उठाइरहेका छन्, मिराज ढुंगानाले के आधारमा सरकारसँग माग राखिरहेको छ भनिरहेका छन् नि?
मेरो माग पहिलेदेखि नै प्रस्ट थियो। जहाँसम्म म को हुँ र के आधारमा यी माग राखिरहेको छु भन्ने कुरा छ; भदौ ४, ५, ६, ७ गतेदेखि नै मेरा भिडिओ आइरहेका थिए। म त्यही मान्छे हुँ। त्यही मिराज ढुंगाना हुँ, जसले सुरूबाटै यो आन्दोलनको कुरा गरिरहेको थियो र अहिलेसम्म गरिरहेको छ।
***