अहिले सेयर कारोबार अनलाइन प्रणालीबाटै हुन्छ। त्यस्तै, लगानीकर्ता आफुले किनबेच गरेको सेयर समेत विद्युतीय रूपमा नै हितग्राही खाता (डिम्याट एकाउन्ट)मा देखिन्छ।
यस्तो डिम्याट खातामा नै लगानीकर्ताले कुन मूल्यमा कति परिमाणमा सेयर किनेको थियो भनेर देखाउँछ।
तर, यस्तो अनलाइन प्रणाली आउनु अघि किनिएको सेयर विद्युतीय रूपमा डिम्याट खातामा राख्दा (डिम्याट गराउँदा) भने देखिने सेयर मूल्य आफुले किनेको मूल्यभन्दा फरक पर्न सक्छ।
सामान्यतयाः यस्तोमा सेयर मूल्य प्रतिकित्ता अंकित मूल्य (एक सय रूपैयाँ) देखाइरहेको हुनसक्छ। आफुले किनेको मूल्य अंकित मूल्यभन्दा बढी छ भने लगानीकर्तालाई आफुले तिर्न नपर्ने कर समेत तिर्न पर्ने हुनसक्छ।
उदाहरणको लागि, ग्लोबल आइएमइ बैंकको २०७१ सालमा सेयर मूल्य ६ सय एक रूपैयाँसम्म पुगेको थियो। सो समय सेयर किन्नेको पनि पछि डिम्याट खातामा सेयर जम्मा हुँदा प्रतिकित्ता सेयर मूल्य एक सय रूपैयाँ नै देखाइरहेको पाइन्छ।
प्रतिकित्ता एक सय रूपैयाँमा किनिएको देखिँदा लगानीकर्ताले त्योभन्दा माथि जति मूल्य भएपनि कर तिर्नुपर्ने अवस्था हुन्छ।
अहिले एक वर्ष भित्रै सेयर बिक्री गर्नेलाई ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने गर्छ। त्यस्तै, सो अवधिपछि सेयर बिक्री गर्नेले पाँच प्रतिशत यस्तो कर तिनुपर्छ।
अहिले सेयर बजारमा ग्लोबल आइएमइ बैंकको सेयर मूल्य दुई सय ६१ रूपैयाँमा कारोबार भइरहेको छ। अघि कै उदाहरण अनुसार कसैले ६ सय एक रूपैयाँमा सेयर किनेको थियो भने अहिलेको दुई सय ६१ रूपैयाँमा सेयर बिक्री गर्दा उसलाई नोक्सान भइरहेको हुन्छ। नोक्सानीमा कर तिर्नुपर्दैन्।
तर, डिम्याटमा सो सेयर किन्दाको मूल्य एक सय रूपैयाँ देखिएको छ भने उसलाई अहिले सेयर बिक्री गर्दा फाइदा भइरहेको देखिन्छ।
यसरी लगानीकर्तालाई प्रतिकित्तामा एक सय ६१ रूपैयाँको दरमा फाइदा भईरहेको देखिनेछ। र, लगानीकर्ताले प्रतिकित्तामा पाँच प्रतिशतको दरमा कर लाग्दा करिब ९ रूपैयाँको दरमा कर लाग्ने हुन्छ। यही अनुसार एक सय कित्तामा आठ सय पाँच रूपैयाँ कर तिर्नुपर्ने हुन्छ। धेरै सेयर हुनेलाई अझै बढी कर तिर्नुपर्ने हुन्छ।
यसरी आफुले किनेको मूल्यभन्दा कम मूल्य देखिइरहेको छ भने त्यसलाई डिम्याट खातामै सच्याउन मिल्छ।
यस्तोमा आफुले सेयर कारोबार गरेको ब्रोकर कम्पनीलाई भनेर सेयर खरिद गरेको समय र दर निकालिदिन भन्न सकिन्छ। र, सेयरको औसत मूल्य (डब्लुएसिसी) निकाल्ने समयमा मूल्य सच्चाएर औसत मूल्य निकाल्न सकिन्छ।
तर, यसरी मूल्य सच्चयाउनु अघि नै लगानीकर्ताले भुलवस सेयरको औसत मूल्य निकालिसकेको रहेछ भने पनि त्यसलाई सच्याउन भने मिल्छ।
यसको लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को वेबसाइटको डाउनलोड भित्र रहेको फारम लेखिएको बटनमा क्लिक गर्नुपर्छ। त्यहाँ डब्लुएसीसी रिसेट फारम राखिएको हुन्छ।
सो फारम डाउनलोड गरेर भरेपछि त्यसको फोटो वा स्क्यान कपि संलग्न गरेर सिडिएससीको आधिकारीक मेलमा पठाउन सकिन्छ।
यसको लागि ग्राहकले एक सय रूपैयाँ शुल्क तिरे हुन्छ। फारममै उल्लेख भएको सिडिएससीको बैंक खाता नम्बरमा डिजिटल माध्यमबाटै रकम तिरेर यसरी रकम तिरेको फोटो समेत मेलमा संलग्न गर्नुपर्छ।
सिडिएससीले औसत मूल्य हाल्न सकिने गरेर डब्लुएसिसी रिसेट गरिदिन्छ। यससँगै लगानीकर्ताले औसत मूल्य सुधार गर्न सक्छन्।