अन्तरदिनको कारोबारमा नेप्से परिसूचकले साढे चार महिनापछि २८ सय विन्दुलाई छोएको छ।
बुधबार कारोबार समयमा २८ सय विन्दुसम्म पुगेको नेप्से बजार बन्द हुँदा २७.९४ बिन्दुमा सीमित भयो। परिसूचकमा अघिल्लो दिनको तुलनामा भने ३४.६१ अंकले वृद्धि भएको हो।
गत फागुन २४ गते २८ सय बिन्दुमा बन्द भएको सेयर बजार फागुन २५ गते भने अन्तरदिनको कारोबारमा २८ सय विन्दुसम्म पुगेको थियो। त्यसयता पहिलो पटक नेप्सेले २८ सय विन्दु भेटेको हो।
कारोबार रकम पनि साढे चार महिना यताकै उच्च भएको छ। बुधबार एकै दिन १४ अर्ब तीन करोड रूपैयाँको कारोबार भएको हो। यसअघि फागुन १९ गते १४ अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ।
वाणिज्य बैंकहरूले दुई महिना स्थिर राखेको निक्षेपको ब्याजदर साउनको लागि भने घटाएका छन्।
राष्ट्र बैंकले आर्थिक गतिविधि चलायमान बनाउने भन्दै नीतिगत ब्याजदर घटाएपछि निक्षेपको ब्याजदर पनि घटेको हो।
यसले सेयर बजारमा आर्थिक गतिविधिमा सुधार हुने अपेक्षा बढेको छ। त्यस्तै, निक्षेपको ब्याजदर घट्दा सेयर बजार बढ्ने विश्लेषण समेत गरिन्छ।
चालु आर्थिक वर्ष २०८१/२०८२ अन्त्य हुँदै गर्दा बैंकहरूको कर्जाको किस्ता असुलीमा सुधार भइरहेको खबर समेत बाहिरीन थालेको छ। यसले पनि बैंकहरूको नाफामा सुधार हुने प्रक्षेपण बढेको छ।
सेयर बजारमा बाहुल्य रहेको यो समूहमा सुधार आउँदा परिसूचक वृद्धिमा पनि सहयोग पुग्छ।
बुधबार सबै समूहगत परिसूचक बढेका छन्। विकास बैंक, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा कम्पनी र वाणिज्य बैंकहरूको परिसूचक १.७४ प्रतिशतदेखि ३.७१ प्रतिशतसम्म बढेको छ।