मौद्रिक नीति आएको दोस्रो दिन नै सेयर बजारमा देखिएको उत्साह हराएको छ।
गत शुक्रबार मौद्रिक नीति आएपछि आइतबार सेयर बजार परिसूचक २९ अंकले बढेको थियो। सोमबार भने सेयर बजार परिसूचक नेप्से ३५ अंकले घटेर २७२५ विन्दुमा आएको छ।
बार्षिक कारोबार मिलाउन मूल्य घटेर पनि सेयर किनबेच भएको ब्रोकरहरू बताउँछन्।
‘आज (सोमबार) बिक्री गरेको सेयरको पैसा असार ३२ गतेसम्म पाउँछन्,’ एक ब्रोकरले भने, ‘त्यसैले सेयर धितोमा रहेको कर्जाको किस्ता तिर्ने, कर तिर्ने, ब्रोकरमा रहेको उधारो मिलान गर्ने वा अन्य व्यवसायको हिसाब मिलाउन पनि सेयर बिक्री चाप बढेको हुनसक्छ।’
चालु आर्थिक वर्ष २०८१/८२ को अन्तिम महिनाको अन्त्यमा यस्तो हिसाब किताब मिलाउनु पर्ने भएकोले पनि लगानीकर्ताहरू यसतर्फ लागेका हुन्।
त्यसैले यस्तो दबाबको कारण मौद्रिक नीतिमा आएका सकारात्मक कुरा पछि पनि सोमबार बजार बढ्न नसकेको हो।
आइतबारको तुलनामा सोमबार सेयर कारोबारमा पनि कमि आएको छ। आइतबार ११ अर्ब ४१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार आठ अर्ब १७ करोड रूपैयाँको सेयर कारोबार भएको छ।
कारोबारमा आएकामध्ये जलविद्युत् समूहगत परिसूचक बाहेक सबै घटेका छन्। बैंकिङ समूहगत परिसूचक सबैभन्दा धेरैले घटेको हो। यो परिसूचक दुई प्रतिशतले घटेको छ।
‘बैंकिङ समूहमा लगानीकर्ताको आत्मविश्वास सधैजसो कमजोर रहने गरेको छ। त्यसैले अहिलेको दबाबमा सबैभन्दा धेरै यही समूहमा गिरावट आएको छ,’ ती ब्रोकरले भने।
बैंकहरूको चुक्ता पुँजी धेरै भएकोले सूचीकृत सेयर समेत धेरै छ। यसले गर्दा यो समूहमा सबैभन्दा धेरै आपुर्ति हुने गरेको छ।
केही वर्षयता केही बैंकहरू लाभांश दिन नसक्ने अवस्थामा देखिएका छन् भने धेरैजसोले कम लाभांश दिदै आइरहेका छन्। त्यसैले पनि यो समूहमा दबाब धेरै पर्ने गरेको हो।
यद्यपी पुँजी आवश्यक परेका बैंकहरूले राष्ट्र बैंकको स्वीकृतिमा हकप्रद सेयर जारी गर्न सक्ने जस्ता व्यवस्था आगामी वर्षको मौद्रिक नीतिले गरेको छ। यही कारण आइतबार यो समूहगत परिसूचकमा उच्च वृद्धि देखिएको छ।
माइखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशतले बढेर पाँच सय ५६ रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ४.४६ प्रतिशतले घटेर एक हजार पाँच सय २९ रूपैयाँमा कारोबार भएको छ।
यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै ४० करोड रूपैयाँको सेयर कारोबार भयो।
कारोबारमा आएका तीन सय २१ कम्पनीका सेयरमध्ये दुई सय ३४ वटाको मूल्य घटेको छ भने ७३ वटाको मूल्य बढेको छ।