ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ।
यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो।
ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकमा खुसी साट्दै आभार ब्यक्त गरे।
ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ।
ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबिसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको युओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एसएमबिसी लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो।
ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्नेछ।
यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।