नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज भित्र्याउन बोर्ड सक्रिय रहेको बताएका छन्।
संघीय संसदको अर्थ समितिले आयोजना गरेको छलफलमा श्रेष्ठले स्टकका लागि परेका आवेदनहरूलाई 'नम्बरिङ' गर्न मात्र बाँकी रहेको र बोर्ड नयाँ स्टक ल्याउने प्रक्रियामा निरन्तर लागिरहेको बताए।
यसै छलफलमा सांसद ज्ञानबहादुर शाहीले भने अहिले दोस्रो स्टक एक्सचेन्ज आवश्यक नपर्ने बताए।
शाहीले आफ्नै कम्पनी सेयर बजारमा सूचीकृत गर्ने र फेरि स्टक पनि आफैंले चलाउने कुरा सही नभएको तर्क गरे। उनले यसअघि पनि आफ्नो असहमति हुँदाहुँदै यस्तो निर्देशन दिइएको भन्दै समितिले मुलुकलाई हानी पुग्ने निर्णय गर्न नहुनेमा जोड दिए।
धितोपत्र बोर्डले गर्ने कामका विषयमा संसदका दुई समितिले निर्देशन दिइरहेको सन्दर्भमा पूर्व अर्थमन्त्री तथा समिति सदस्य वर्षमान पुनले नेप्से र धितोपत्र बोर्ड अर्थ समिति मातहत नै रहेको बताए।
यसअघि सर्वसाधारणबाट लेखा समितिमा उजुरी परेकाले उसले यस विषयलाई हेरेको उनले स्मरण गराए। अर्थ समितिको दायरामा नेप्से रहने भए पनि धितोपत्र बोर्डले विश्वासको वातावरण बनाउन सक्नुपर्ने पुनको भनाइ थियो।
उनले पछिल्लो पटक बोर्ड अध्यक्षको लगानी रहेको जलविद्युत् कम्पनीबारेको उजुरी अर्थ समितिले नलिएको र सो विषय लेखा समितिमा दर्ता भएको पनि स्मरण गराए।