रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्म (साउनदेखि जेठ) मा विदेशी मुद्राको सञ्चिति २५ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १८ अर्ब ६५ करोड डलर छ।
रेमिटेन्समा भइरहेको वृद्धिले विदेशी मुद्राको सञ्चिति बढाएको हो। साउनदेखि जेठसम्ममा १५ खर्ब ३२ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १५ प्रतिशतभन्दा धेरैले बढेको हो।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १४ महिना २१ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। गत कात्तिकमा यस्तो सञ्चितिले १५ महिना तीन दिनसम्मको आयात धान्ने देखिन्थ्यो।
मुलुकले सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ।
लामो समय कमजोर देखिएको आयातमा सुधार हुन थालेसँगै सञ्चितिले धान्ने अवधि घट्न थालेको हो।
यो अवधिमा आयात १३.१ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब रूपैयाँको पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा १४ खर्ब ५३ अर्ब रूपैयाँको आयात भएको थियो।