हिमालयन बैंकले असार ३२ गतेदेखि थप सर्वाजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ।
बैंकले सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा ५७ रूपैयाँ थप गरी जम्मा १५७ रूपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ जारी गर्न लागेको हो।
हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रूपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपिओ जारी गर्न लागेको हो।
सो एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त एफपिओमा साउन ४ गतेसम्म आवेदन दिन सिकनेछ। सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिनेछ।
बैंकलाई केयर रेटिङ नेपालले 'केयर एनपी ट्रिपल बी इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिमस्तर मध्यम रहेको जनाउँछ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।