बुंगल हाइड्रोले असार २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ८३ करोड रूपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रूपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ८ करोड ३० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ जिल्ला, बुंगल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा दुवै समूहका लगानीकर्ताले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाहरूले भने साउन २६ गते गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयरएनपी सिंगल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यु–१, कृषि विकास बैंक, बुंगल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।