मंगलबार पनि नेप्से परिसूचक बढेको छ।
गत आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
आइतबार २६.५३ अंक, सोमबार ९.१९ अंक र मंगलबार २८.९१ अंक गरी यो तीन दिनमा नेप्से ६४.६३ अंकले बढेको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
सोमबार ६ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ७ अर्ब तीन करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०९ वटा धितोपत्रको एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको घटेको छ।
यसदिन सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५२१ रूपैयाँ ८२ पैसा कायम भएको छ।
यस्तै, न्यादी हाइड्रोपावरको मूल्य पनि ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४७० रूपैयाँ ३६ पैसा पुगेको छ।
युनिलिभर नेपालको मूल्य सर्वाधिक २.१३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४६ हजार रूपैयाँमा झरेको छ।
यसैगरी, सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य १.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १० रूपैयाँ ५० पैसा कायम भएको छ।
मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता दुई हजार १७३ रूपैयाँमा ४६ करोड १६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०५ रूपैयाँ १० पैसामा ४५ करोड ५५ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको बढेको छ।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ।