गभर्नर डा. विश्वनाथ पौडेलसँग करिब २३ करोड सम्पत्ति रहेको छ।
गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार केही दिनअघि उनले यस्तो सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका हुन्।
उनीसँग दुई स्थानमा घरजग्गा रहेको छ। दुवै स्थानको जग्गा श्रीमती प्रतिभाको नाममा छ। ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ।
पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गाको किनेको उल्लेख गरेका छन्।
नवलपरासीको गैंडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रूपैयाँमा घर किनेको विवरणमा उल्लेख छ।
गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ। आजको मूल्यमा यो करिब ८६ लाख ४० हजार बराबर हुन आउँछ। त्यस्तै, करिब १५ लाख रूपैयाँ बराबरको हिरा छ। सुन भने पैतृक रूपमा पाएको उल्लेख छ।
पौडेल र उनको पत्नीका नाममा बैंकमा २० लाख ६८ हजार रूपैयाँ बचत छ। यो रकम सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरिएको छ। यसबाहेक डलर खाता पनि छ। उनको नामको डलर खातामा ६६ अमेरिकी डलर छ।
उनको पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर छ। जुन आजको दर अनुसार ६ लाख २२ हजार रूपैयाँ हाराहारी हुन आउँछ।
पौडेलको आफ्नो र पत्नीको नाममा गरेर १४ करोड रूपैयाँभन्दा बढी रहेको देखाएका छन्। बजार मूल्यको आधारमा कायम भएको सेयर सम्पत्ति भने थप बढी हुने देखिन्छ।
अहिले सानिमा माइ हाइड्रोको साधारण सेयर मूल्य बजारमा ६ सय २ रूपैयाँमा कारोबार भइरहेको छ। यस अनुसार पौडेलसँग रहेको हाइड्रोको सेयर मूल्य मात्रै ५ करोड ५७ लाख छ। उनीसँग रहेका अन्य सेयर भने प्रवद्र्धक सेयर हुन्।
उनको सानिमा बैंक, सानिमा माई हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी लिमिटेडमा सेयर रहेको छ।
पौडेलको पत्नीका नाममा ४४ लाख रूपैयाँमा खरिद गरेको सुजुकी कार छ।


