दश दिनदेखि नेप्से परिसूचक एक सय अंकको अन्तर (रेञ्ज)मा घटबढ भइरहेको छ।
अन्तिम पटक गत जेठ १९ गते २७२६ को उचाइ छोएको नेप्सेले त्यसयता २७ सयको तह उक्लिनै सकेको छैन। यो अवधिमा नेप्से घट्दा २६२६ विन्दुसम्म पुगेको थियो।
नेप्से परिसूचकको उतारचढावको रेञ्ज घट्दै गइरहेको छ। लामो समय १८ सयदेखि २२ सय विन्दुको रेञ्जमा बसेको नेप्सेले वृद्धि समात्दै २०८१ साउन ३१ मा तीन हजार माथि पुगेको थियो। तर सो वृद्धि टिक्न सकेन।
त्यसपछि घट्दै २४४२ विन्दुसम्म पुगेर नेप्से फर्किन खोजिरहेको हो। यो क्रममा नेप्से लामो समयदेखि २४ सय देखि २७ सयको रेञ्जमा रहिरह्यो।
त्यसपछि केही समय २५ सयदेखि २८ सय मुनि बसिरहेको नेप्सेको रेञ्ज अहिले साघुरिँदै गइरहेको छ। अहिले करिब १० दिन यता नेप्से २६२६ विन्दुभन्दा तल गएको छैन भने २७२६ बाट उकालो लागेको छैन।
यसरी बढ्दो क्रममा घटबढको अन्तर साघुरिदै जाँदा बजारले नयाँ प्रवृत्ति समात्ने विश्लेषण गरिन्छ।
चलिरहेको प्रवृत्ति बढेर अन्त्य भएमा बजारले नयाँ उचाइ समात्ने र घटेर प्रवृत्ति अन्त्य भए थप घट्ने विश्वास गरिन्छ।
यसैबीच, बिहीबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
बुधबार नौ अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १२ अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ६१ करोड रूपैयाँ कमी आएको हो। बजारमा तीन महिनापछि १२ अर्बको कारोबार रूपैयाँको कारोबार भएको छ। यसअघि २०८१ फागुन २० गते १२ अर्ब ९४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
आज ३११ वटा धितोपत्रको दुई करोड ८६ लाख सात हजार ६८५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ।
यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य ८२४ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, चन्द्रागिरि हिल्सको मूल्य ६.९१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९८३ रूपैयाँ कायम भएको छ।
गुराँस लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४७३ रूपैयाँ ९० पैसामा झरेको छ।
यसैगरी, रिभर फल्स पावरको मूल्य ७.११ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६१८ रूपैयाँ ८० पैसा कायम भएको छ।
केही साता यता हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण बढेको छ।
कम मूल्यमै हाइड्रोका धेरै कित्ता किन्न पाएपछि यो क्षेत्रमा लगानीकर्ता झुम्मिएका हुन्।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ४०८ रूपैयाँमा १ अर्ब ८ करोड १४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३६ रूपैयाँमा ७५ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।