बीमा प्राधिकरणको तथ्यांकले अहिले पनि ५३ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर रहेको देखाएको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहित प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बको दोस्रो संस्करणमा यस्तो उल्लेख छ।
राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको २०७८ सालको जनगणना प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा वैशाख मसान्तसम्मको जनसंख्या प्रक्षेपण गरेर प्राधिकरणले पहुँचको गणाना गरेको हो।
म्यादी, वैदेशिक रोजगारमा जानेको बीमा सहितको आधारमा यस्तो पहुँच गणना गरिएको प्राधिकरणले उल्लेख गरेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्ममा जनसंख्याको ४७.३९ प्रतिशतमा बीमा पहुँच पुगेको प्राधिकरणको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको यही अवधिमा भने यस्तो पहुँच ४३.५६ प्रतिशत थियो।
त्यस्तै, चालु आर्थिक वर्षमा बीमा सम्झौताबीचमै भंग गरेर समर्पण गर्नेको संख्या घटेको छ।
यसरी समर्पण बीमा लेखको संख्या ८८ हजार ६ सय ३५ वटा छन्। गत आर्थिक वर्षको यही अवधिमा ८९ हजार ७७ वटा बीमा लेख समर्पण गरिएको थियो।
समर्पण बीमा लेखको रकममा भने वृद्धि भएको छ। यस्तो रकम १० अर्ब ९८ करोड रूपैयाँबाट बढेर १२ अर्ब २७ करोड रूपैयाँ पुगेको छ।
त्यस्तै, समयमै बीमा रकम नतिरिएको र समर्पण समेत हुन नसकेको बीमा लेख संख्या ११ प्रतिशतले बढेर एक सय २५ खर्ब ७४ अर्ब रूपैयाँ पुगेको छ।
यस्तो बीमा लेखको संख्या १८.९ प्रतिशतले बढेर ३६ अर्ब रूपैयाँ पुगेको छ।
शुल्क तिर्न नसक्दा बीमा समर्पण बढ्यो, जम्मा भएको ६ अर्ब फिर्ता लिए ग्राहकले