समस्याग्रस्त २२ सहकारी मध्ये तीन वटा सहकारीको हिसाब राफसाफ गरिएको जानकारी सरकारले गराएको छ।
आर्थिक सर्वेक्षण २०८१/८२ मार्फत सरकारले तीन वटा सबै राफसाफ भएको जानकारी दिएको हो। १९ वटा त्यस्ता सहकारीको सम्पत्ती व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी भएको जानकारी गराइएको छ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि २०८१ जेठ १५ मा सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन समिति गठन भई समितिले प्रतिवेदन पेस गरेको थियो।
सो प्रतिवेदनले औल्याएका क्षेत्रमा सुधार गर्न नीतिगत तथा संरचनागत व्यवस्था गरिएको सरकारले जनाएको छ।
हालसम्म ६२ हजार ७ सय १० कुल दावीकर्तामध्ये ७ हजार १५५ सदस्यको सम्पूर्ण बचत फिर्ता भएको छ भने करिब १ हजार सदस्यको आंशिक बचत फिर्ता भएको छ। बाँकी सदस्यको बचत फिर्ता प्रक्रिया अगाडि बढेको बताइएको छ।
पीडित बचतकर्ताले गरेको मागदाबी ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७ सय १० रहेको छ जसमध्ये चालु आर्थिक वर्षको फागुनसम्म १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रूपैयाँ पीडित बचतकर्ताले फिर्ता पाएका छन्।