भक्तपुरका रवीन्द्र न्यौपानेलाई केही वर्ष अघिसम्म बिजुलीको बिल आयो कि तनाव हुन्थ्यो। पैसा तिर्न को जाने भनेर घरमा झगडा नपरेको कुनै महिना उनलाई याद छैन।
उनको घरबाट विद्युत प्राधिकरणको अफिस चार किलोमिटर दुरीमा छ। मोटरसाइकलमा जाँदा केही मिनेटको कुरा हो। त्यही भएर घरकाले रवीन्द्रलाई नै पठाउन खोज्थे। उनलाई भने महिनैपिच्छे प्राधिकरण धाएर, लाम लागेर पैसा तिर्न झन्झट लाग्थ्यो।
पछिल्लो समय रवीन्द्रले यस्तो झन्झट भोग्नुपरेको छैन। बिजुलीको बिल तिर्न को जाने भनेर घरमा झगडा पनि पर्दैन।
कारण हो — विद्युतीय भुक्तानी सेवा।
अहिले बिजुलीको बिल मात्र होइन; मोबाइल रिचार्ज गर्न, केटाकेटीको स्कुल शुल्क तिर्न, घरायसी उपभोग्य वस्तुहरू किन्न वा जुनसुकै किसिमको खरिदमा विद्युतीय भुक्तानी बढेको छ। युवा पुस्तामा त नगद कारोबार नगन्य हुन थालेको छ। उनीहरू पठाओ चालकलाई पैसा तिर्नदेखि रेस्टुरेन्टको बिलसम्म विद्युतीय भुक्तानी गर्छन्।
यसको प्रयोग कतिसम्म व्यापक भइसक्यो भने, घर–घरमा तरकारी/फलफूल ल्याउने बिक्रेता पनि क्युआर तेर्स्याउन थालेका छन्।
कुनै बेला नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना आफैमा सपना जस्तो थियो। आज तपाईंको मोबाइल विद्युतीय भुक्तानी सेवाको एप छैन भने दैनिक व्यवहार चलाउन असहज हुन्छ।
विद्युतीय भुक्तानीको निम्ति अहिले थुप्रै एप प्रयोगमा छन्। तीमध्ये इ–सेवा सबभन्दा बढी लोकप्रिय छ।
इ–सेवाले किनमेलको पैसा तिर्न मात्र होइन, विभिन्न किसिमका सरकारी दस्तुर तिर्ने सुविधा पनि दिएको छ। तपाईंलाई पासपोर्टको दस्तुर भुक्तानी गर्न परोस् वा ट्राफिक प्रहरीलाई जरिवाना तिर्न, नेपालभरिका स्कुललाई तिर्नुपर्ने शुल्क होस् वा सेयर कारोबारको रकम भुक्तानी; यी सबैमा इ–सेवाबाट सजिलै पैसा पठाउन मिल्छ।
यति मात्र होइन, खाडी मुलुक जानेहरूले गर्ने अनिवार्य बिमादेखि होटल, हवाई टिकट, सिनेमा, बस टिकट लगायत दुई हजारभन्दा बढी सेवामा पैसा तिर्ने सुविधा इ–सेवाले दिइरहेको छ।
अहिले नेपालका १० लाखभन्दा बढीले इ–सेवामार्फत् यी सुविधा लिइरहेको कम्पनीले जनाएको छ। यस्ता विभिन्न किसिमका अनलाइन भुक्तानीका कारण इ–सेवाले वर्षको लगभग चार लाख किलो कागज बचाएको कम्पनीको दाबी छ।
'नगदरहित कारोबारको परिकल्पना नै नगरिएको बेला इ–सेवा सुरू भएको थियो,' कम्पनीका प्रमुख रणनीतिक अधिकृत रवि शाक्यले भने, 'अब हामीले भुक्तानी उपकरणमा मात्र यसलाई सीमित गर्नु हुँदैन भनेर अन्य विभिन्न किसिमका सेवा पनि सुरू गरिरहेका छौं।'
इ–सेवाबाटै पाइन्छ कर्जा
भुक्तानी सेवाबाट एक कदम अघि बढेर इ–सेवाले ल्याएको नयाँ कार्यक्रम कर्जा योजना हो।
बैंकमा निक्षेप खाता नभएका मर्चेन्टहरूले पनि इ–सेवाबाट कर्जा पाउन सक्छन्। कर्जा दिने बैंकहरूले नै हो, तर मध्यस्थताको काम इ–सेवाले गर्छ।
यो कार्यक्रम अन्तर्तग ३० हजारदेखि दुई लाख रूपैयाँसम्म बिनाधितो कर्जा पाइन्छ। ब्याजदर बैंकहरूमा चले अनुसार नै हुन्छ। इ–सेवाले पहिलो चरणमा यो सुविधा मर्चेन्ट अर्थात् सेवा बिक्री गर्नेहरूका लागि ल्याएको छ। साना पसल वा अन्य बिक्रेताहरूले यसबाट फाइदा लिन सक्छन्।
कर्जा लिन केही सर्त लागू गरिएका छन्। जस्तो — कर्जा लिन चाहने ग्राहक इ–सेवामा जोडिएको ६ महिना पुगेको हुनुपर्छ। इ–सेवाबाट राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ गरेको हुनुपर्छ। त्यस्तै, विभिन्न कामको निम्ति पैसा तिर्न बढीभन्दा बढी इ–सेवा प्रयोग गरेको हुनुपर्छ।
यस्ता सर्त पूरा गर्ने मर्चेन्टहरूले इ–सेवाबाट कर्जा पाउँछन्। अहिलेसम्म तीन हजार जनाले यस्तो कर्जा सुविधा लिइरहेको कम्पनीले जनाएको छ।
'केही समयपछि हामी सबै प्रयोगकर्ताले यस्तो ऋण लिन पाउने गरी व्यवस्था मिलाउन लागेका छौं,' कम्पनीका प्रमुख रणनीतिक अधिकृत शाक्यले भने।
दैनिक एक रूपैयाँमा दुई लाख २० हजारसम्मको बिमा
इ–सेवाले पछिल्लो समय 'लाइफ केयर सेवा' पनि ल्याएको छ। यो कार्यक्रम अन्तर्गत वर्षको ७६० रूपैयाँ तिरेर ५ लाख ३० हजार रूपैयाँसम्म बिमा दाबी प्राप्त गर्न सकिन्छ।
यसमा दुर्घटना हुँदा एक लाख रूपैयाँसम्म उपचार खर्च प्राप्त हुन्छ। दुर्घटनाबाट मृत्यु नै भएको अवस्थामा पनि ग्राहकका वारिसले एक लाख रूपैयाँसम्म पाउन सक्छन्।
त्यस्तै, काजकिरिया वा यातायात खर्च भनेर २० हजारसम्म पाइन्छ। अस्पतालमै बसेर उपचार गर्नुपर्दा बढीमा १० दिनका लागि दैनिक एक हजार रूपैयाँका दरले खर्च दिने व्यवस्था छ।
त्यस्तै, तोकिएका विभिन्न फिटनेस सेन्टरमा ३५ प्रतिशतसम्म छुट पाइन्छ। यो बिमामा सहभागी भएको २४ घन्टापछि नै यी सुविधाहरू दाबी गर्न सकिन्छ।
इ–सेवाले वार्षिक तीन सय ६० रूपैयाँमा 'इ–सेवा केयर प्याकेज' पनि ल्याएको छ। यो भनेको दैनिक एक रूपैयाँ बराबर हो। यसबाट २ लाख ३० हजार रूपैयाँसम्म दाबी भुक्तानी पाइन्छ।
आफ्नो कारोबारको व्यवस्थापन
इ–सेवाका ग्राहकले अब महिनैपिच्छे पैसा तिर्नुपर्ने सेवाहरूको तालिका नै बनाउन सक्ने छन्।
एपमा 'सेड्युल पेमेन्ट' भन्ने ट्याब अन गरेपछि ग्राहकले अहिलसम्म गरेको भुक्तानीका आधारमा इ–सेवाले नै शुल्कको तालिका बनाइदिन्छ। यसरी ग्राहकको हरेक भुक्तानीका आधारमा इ–सेवाले नम्बर वा प्वाइन्ट्स दिँदै जान्छ। त्यो प्वाइन्टले रकमको काम पनि गर्छ।
इ–सेवाले रेमिटेन्स पठाउनेहरूलाई रकम लगानी गर्नमा पनि सघाइरहेको छ। सामूहिक लगानी कोषले ल्याएका इकाई र व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) मा लगानीको विकल्प दिइएको छ।
इ–सेवाले ग्राहकको खाता सुरक्षाका लागि 'वालेट बिमा' कार्यक्रम ल्याएको छ। इ–सेवाको अकाउन्टमा विभिन्न व्यक्तिहरूबाट हुन सक्ने ठगीको जोखिम कम गर्न यस्तो बिमा ल्याइएको हो।
वार्षिक ५० रूपैयाँ तिरेर बिमा सेवा लिन सकिन्छ। यस्तो दाबी वर्षको दुईपटक गर्न सकिने भए पनि वार्षिक अधिकतम २० हजार रूपैयाँसम्म बिमा दाबी भुक्तानी पाइन्छ।
***