राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ।
हाल सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत रहेकोमा घटाएर शतप्रतिशत कायम गरिने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।
यसले बैंकहरूको पुँजी कोषमा रहेको दबाब कम हुनेछ भने सेयर धितोमा जाने कर्जा लगानीमा बैंकहरू प्रोत्साहित हुनेछन्।
यसअघि ५० लाख रूपैयाँभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशत कायम गरिएको थियो। ५० लाख रूपैयाँमुनिको सेयर धितो कर्जाको जोखिमभार भने यस अघिदेखि नै १०० प्रतिशत थियो।
चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत) को अवधिमा बैंकहरूको प्रडक्ट अनुसार जाने कर्जामा आयातमा आधारित कर्जा र सेयर धितोमा जाने कर्जामा उच्च दरमा वृद्धि देखिएको हो।
सेयर धितोमा जाने कर्जा पनि ३७.८ प्रतिशतले बढेर एक खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ।
गत वर्षको यही अवधिसम्म भने ८६ अर्ब रूपैयाँ यस्तो कर्जा गएको थियो। चैत एक महिनामा मात्रै ६ अर्ब रूपैयाँले सेयर धितो कर्जा बढेको हो।
फागुनसम्म एक खर्ब १८ अर्ब यस्तो कर्जा गएको थियो।
राष्ट्र बैंकले सेयर धितोमा जाने कर्जालाई लगानी रकम अनुसार विभाजन गरेर हेर्ने गरेको छ। यस्तो विभाजन अनुसार सबै खाले कर्जामा वृद्धि भएको छ।
तर, एक करोड रूपैयाँभन्दा बढी रकमको यस्तो कर्जामा उच्च वृद्धि छ। एक करोडभन्दा बढी रकमको कर्जा ५१.४ प्रतिशतले बढेर ८४ अर्ब रूपैयाँ पुगेको हो।