मंगलबार राष्ट्र बैंकका गभर्नर नियुक्तिको खबरले बढेको बजार बुधबार ७.९४ अंकले घटेको छ।
लगानीकर्ताहरूको मनोविज्ञान प्रतिविम्बित हुने सेयर बजार गभर्नर नियुक्तिसँगै बुधबार ९० अंकसम्म बढेको थियो। केही समयमै लगानीकर्ताको मनोविज्ञान सम्हालिन थाल्यो।
तर बजार बन्द हुँदा भने नेप्से ७ अंकले घट्यो। बजार उच्च अंकले बढ्दा केही लगानीकर्ताले नाफा बुक गर्न थाल्दा नेप्से घटेको देखिन्छ।
नेप्से २६६९.५१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने बढेको छ।
मंगलबार सात अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १० अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ३८ करोड रूपैयाँ वृद्धि आएको हो।
आज ३१६ वटा धितोपत्रको दुई करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९३१ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, सिन्धु विकास बैंकको मूल्य ५.११ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९२१ रूपैयाँ ११ पैसा कायम भएको छ।
स्वेत गंगा हाइड्रोपावरको मूल्य सर्वाधिक ८.३२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४४० रूपैयाँ ०६ पैसामा झरेको छ।
यसैगरी, मातृभूमि लघुवित्तको मूल्य ६.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १७८ रूपैयाँ ६८ पैसा कायम भएको छ।
बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७७१ रूपैयाँ १० पौसामा ७१ करोड ०३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५९३ रूपैयाँ ८० पैसामा ५९ करोड १० लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १ प्रतिशतले घटेको छ।