मंगलबार राष्ट्र बैंकका गभर्नर नियुक्ति हुने सम्भावना बढेपछि सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ।
सत्ता साझेदार नेपाली कांग्रेस र एमाले नेतृत्वबीच मंगलबार बिहान छलफल भएसँगै दिउँसो गभर्नर नियुक्त सिफारिस समितिको बैठक बोलाइएको छ।
त्यसलगत्तै मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार बाहिरिएपछि १२ बजेर ४० मिनेटपछि बजार एकोहोरो बढ्न थालेको हो।
नप्से ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने केही घटेको छ।
सोमबार सात अर्ब ३५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४ करोड रूपैयाँ कमी आएको हो।
आज ३१० वटा धितोपत्रको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र राप्ति हाइड्रोको मूल्य ९.९७ प्रतिशतले बढेको छ।
यस्तै, बाराही हाइड्रोपावरको मूल्य सर्वाधिक ७.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १०१ रूपैयाँ ६० पैसामा झरेको छ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य ३.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३६६ रूपैयाँ कायम भएको छ।
मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७५० रूपैयाँमा ४१ करोड ८० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.५६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३७७ रूपैयाँ ३६ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशतले बढेको छ।
यस्तै, दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.०१ प्रतिशतले बढेको छ।