बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपांग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाति, सिमान्तकृत समूह, आश्रममा आश्रित, अपांगता र महिला स्वास्थ्य स्वयं सेविकाहरूको परिवारलाई स्वास्थ्य बीमामार्फत गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो।
गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत लोपोन्मुख जाति, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपांगता र महिला स्वास्थ्य स्वयं सेविकाहरूको परिवारका गरी १७ हजार आठ सय ३१ परिवारको स्वास्थ्य बीमा गराएको हो।
बीमा गराएकाहरूको प्रिमियमबापत हालसम्म बीमा कम्पनीलाई ६ करोड २५ लाख ९३ हजार ५५० भुक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा. रविन भुषालले जानकारी दिए।
सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ। सो कार्यक्रमअन्तर्गत हालसम्म सबैभन्दा बढी दोलखा जिल्लामा तीन हजार ४५२ परिवारको स्वास्थ्य बीमा भएको छ भने सबैभन्दा कम मकवानपुरमा १०१ परिवारको स्थास्थ्य बीमा भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चितवनमा तीन हजार १२७ परिवार, सिन्धुपाल्चोकमा दुई हजार ५९८ परिवार, धादिङमा एक हजार ५९३ परिवार, काभ्रेमा एक हजार ५४९ परिवार, काठमाडौंमा एक हजार २०६ परिवार, रामेछापमा एक हजार २९० परिवार, ललितपुरमा नौ सय ४८ परिवार, नुवाकोटमा ९०३ परिवार, सिन्धुलीमा ६४९ परिवार, रसुवामा २२५ परिवार र भक्तपुरमा १०५ परिवारको स्वास्थ्य बीमा गरिएको छ।
चार जना सदस्य भएको परिवारले तीन हजार र सात जना सदस्य रहेको परिवारले तीन हजार ५०० रुपैयाँ वार्षिक प्रिमियम तिर्नुपर्ने हुन्छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमा गराइएकामध्ये महिला स्वास्थ्य स्वयं सेविकाहरूको परिवारको बीमा बापतको प्रिमियम रकममा ५० प्रतिशत संघीय सरकारले र बाँकी ५० प्रतिशत प्रदेश सरकारले तिरिदिने व्यवस्था रहेको सूचना अधिकारी डा भुषालले बताए।
लोपोन्मुख जाती, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपांगताको प्रिमियम बापतको सम्पूर्ण रकम भने प्रदेश सरकारले बीमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था रहेको डा भुषालले बताए।
प्रत्येक स्थानी तहको वडामा खटिएका सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बीमा गर्ने गरिएको उनको भनाइ छ। स्वास्थ्य बीमा कार्यक्रम लागु भएका अस्पतालबाट बीमा गराएको परिवारले वर्षमा एक लाख रुपैयाँसम्मको निःशुल्क औषधोचार पाउने गरेका छन्। आयश्रोत कमजोर भएर बीमाको प्रिमियम बुझाउनै नसक्ने परिवारको स्वास्थ्य बीमा गराएर प्रदेश सरकारले लोकप्रिय काम गरेको स्थानीयको भनाइ छ।