असोज महिनाबाट कर्जा प्रवाहमा सुधार हुन सक्ने संकेत देखिएको भए पनि कात्तिक आइपुग्दा कर्जा प्रवाह पुनः शिथिल हुन थालेको छ।
यही कारण बैंकहरूमा रहेको अधिक तरलतामा अझै सुधार हुन सकेको छैन।
कर्जा लगानी नभएर पैसा धेरै भएपछि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम असोज २९ गतेदेखि ३ खर्बबाट तल ओर्लिएको छैन।
बैंकहरूले राष्ट्र बैंकमा यसरी राख्ने रकम असोज महिनामा दुई खर्ब ५७ अर्बसम्म ओर्लिसकेको थियो। यो गत असोज १३ गतेको तथ्यांक हो। तर, यसरी राखिएको रकम असोज २९ यता तीन खर्ब तल आउन सकेको छैन।
राष्ट्र बैंकले तीन/तीन दिनमा स्थायी निक्षेप सुविधा अन्तर्गत बैंकहरूले लगानी गर्न नसकेको रकम तीन प्रतिशत ब्याजदरमा उठाउँछ। हाल यो सुविधा अन्तर्गत बैंकहरूले दुई खर्ब ८० अर्ब रूपैयाँ राखेका छन्।
त्यस्तै, राष्ट्र बैंकले बैंकहरूबाट सात दिने, १४ दिने र २१ दिने अवधिको लागि निक्षेप संकलन गर्दै आएको छ। यस्ता उपकरणमा हाल ४८ अर्ब ६५ करोड रूपैयाँ राखिएको छ।
हाल बैंकहरूमा ६६ खर्ब २६ अर्ब निक्षेप संकलन भएकोमा ५२ खर्ब ७१ अर्ब रूपैयाँ कर्जा लगानी भएको छ। बैंकहरूले अझै ६ खर्ब ९७ अर्ब बराबर रकम कर्जा लगानी गर्न सक्ने अवस्थामा छन्।
तर, कर्जा लगानीमा शिथिलता आएकै कारण बैंकहरूको मुख्य व्यवसाय ब्याज आम्दानी समेत घटेको छ।
वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी पहिलो त्रैमास (साउनदेखि असोज)मा करिब ७ प्रतिशतले घटेर ४५ अर्बमा सीमित भएको छ। गत वर्षको यही अवधिमा ब्याज आम्दानी ४९ अर्ब ४७ करोड रूपैयाँ थियो।
अर्थतन्त्रमा देखिएको शिथिलता हट्न नसकेकै कारण बैंकहरूमा कर्जा माग बढ्न नसकेको हो। असोज मध्यबाट ठूला चाडपर्व लागेकोले पनि अहिले कर्जाको माग खासै बढ्न नसकेको हो।
चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा घरजग्गाको कारोबारमा सुधार देखिएको भए पनि अहिले फेरि शिथिलता देखिन थालेको छ। गत वर्ष असोजमा भएको घरजग्गाको कारोबारको तुलनामा गत असोजमा २३.४५ प्रतिशतले घरजग्गाको कारोबार घटेको छ।
त्यस्तै, चाडपर्वको समयमा पनि आयातमा सुधार देखिएन। यसले गर्दा अझै उपभोग बढ्न नसकेको र अर्थतन्त्र चलायमान हुन नसकेको देखिएको हो।
गत साउनदेखि असोजसम्ममा आयात अघिल्लो वर्षको तुलनामा ४.१७ प्रतिशतले घटेर तीन खर्ब ९० अर्ब रूपैयाँ बराबरको भएको छ। गत वर्ष यो अवधिमा चार खर्ब सात अर्बको आयात भएको थियो।
भदौमा मासिक आयात केही बढेर एक खर्ब ३४ अर्ब रूपैयाँ पुगेकोमा असोज महिनामा मात्रै एक खर्ब २८ अर्बको आयात भएको छ।