सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी महत्वपूर्ण सूचक हो। कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै प्रतिसेयर आम्दानी हो। लगानीकर्ताले प्रतिसेयर आम्दानीकै आधारबाट कम्पनीले दिन सक्ने लाभांश अनुमान गर्न सक्नेछन्।
उच्च प्रतिसेयर आम्दानीले धेरै लाभांश दिन सक्ने क्षमतालाई जनाउँछ। यदी कम्पनीले शत प्रतिशत नाफा वितरण गरेमा लगानीकर्ताले प्रतिसेयर आम्दानी बराबरकै लाभांश पाउँछन्।
तर नियमअनुसार बैंकहरुको जगेडा कोषको आकार चुक्ता पुँजीकोभन्दा दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा २० प्रतिशत थप्नुपर्दछ। त्योभन्दा बढी रकम राख्न बैंकहरु स्वतन्त्र छन्।
हाल कुनै पनि बैंकको जगेडा कोषमा चुक्ता पुँजीभन्दा दोब्बर रकम छैन। त्यसकारण बैंकहरुले खुद नाफाको कम्तीमा २० प्रतिशत रकम कोषमा जम्मा गरेर बाँकी रकम मात्रै लाभांशको रुपमा दिन पाउँछन्।
चुक्ता पुँजीको दोब्बर रकम भइसकेपछि भने नाफाबाट १० प्रतिशत मात्रै छुट्याए पुग्छ। जगेडा कोषको रकम राष्ट्र बैंकको स्वीकृति नलिई रकमान्तर वा खर्च गर्न पाइँदैन। बैंक तथा वित्तीय संस्थासम्वन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐनको ४४ नं. बुँदामा यसलाई प्रष्ट्याइएको छ।
यदी चुक्ता पुँजी बढाउनु परेको अवस्थामा बैंकहरुले कोषमा भएको रकमबाटै बोनस सेयर दिन सक्नेछन्। जनता बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउनका लागि नाफाका साथै कोषबाट रकम जुटाएको थियो।
अर्को कुरा, कम्पनीले धेरै नाफा कमाउँदैमा उसको प्रतिसेयर आम्दानी धेरै हुन्छ भन्ने हुँदैन। नविल र नेपाल इन्भेष्टमेन्ट बैंकलाई दाँजेर यसलाई प्रष्टसँग बुझ्न सकिन्छ। तेस्रो त्रैमासमा नविलकोभन्दा इन्भेष्टमेन्टको नाफा ४ करोडले बढी भए पनि प्रतिसेयर आम्दानीका आधारमा नविल अगाडि छ।
इन्भेष्टमेन्टको ३५ रुपैयाँ हुँदा नविलको ४६ रुपैयाँ प्रतिसेयर आम्दानी छ। प्रतिसेयर आम्दानीलाई नाफाले मात्रै नभई जारी भएको सेयर संख्याले प्रभाव पार्दछ। नविलकोभन्दा इन्भेष्टमेन्टको जारी सेयर संख्या बढी भएकै कारण प्रतिसेयर आम्दानी कम देखिएको हो।
त्यसकारण बैंकको प्रतिसेयर आम्दानी हेर्नुअघि चुक्ता पुँजी पनि केलाउनु जरुरी हुन्छ। हाल केही बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पुगीनसकेकाले प्रतिसेयर आम्दानी बढी देखिए पनि ८ अर्ब पुग्दा घट्नेछ। हालसम्म ६ वटा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्न सकेको छैन।
तिमध्ये केही बैंक एफपिओ तथा केही हकप्रदको प्रक्रियामै छन्। केहीको लाभांश घोषणा गर्न बाँकी छ। जसले गर्दा आगामी दिनमा ति कम्पनीको प्रतिसेयर आम्दानी हाल तेस्रो त्रैमासमा देखाइएकोभन्दा खस्किन सक्नेछ।
बैंक | चुक्ता पुँजी | प्रतिसेयर आम्दानी |
नविल | ८ अर्ब ४ करोड | ४६ रुपैयाँ ८३ पैसा |
नेपाल इन्भेष्टमेन्ट | १० अर्ब ६४ करोड | ३५ रुपैयाँ ५५ पैसा |
नेपाल | ८ अर्ब ४ करोड | ४२ रुपैयाँ ५७ पैसा |
कृषि विकास | ८ अर्ब ५० करोड (साधारण) | २४ रुपैयाँ २० पैसा |
स्टान्डर्ड चार्टड | ८ अर्ब १ करोड | २५ रुपैयाँ १२ पैसा |
ग्लोबल आइएमई | ८ अर्ब ८८ करोड | २१ रुपैयाँ ६७ पैसा |
एभरेष्ट | ८ अर्ब १० करोड | २९ रुपैयाँ ९६ पैसा |
नेपाल एसबिआई | ८ अर्ब ४ करोड | २२ रुपैयाँ ८६ पैसा |
हिमालयन | ८ अर्ब ११ करोड | २५ रुपैयाँ ८१ पैसा |
सिद्धार्थ | ८ अर्ब १ करोड | २० रुपैयाँ ३६ पैसा |
एनआइसी एसिया | ८ अर्ब ३ करोड | १५ रुपैयाँ ४९ पैसा |
एनएमबि | ६ अर्ब ४६ करोड | २९ रुपैयाँ ९ पैसा |
सानिमा | ८ अर्ब | २० रुपैयाँ २२ पैसा |
सिटिजन्स | ८ अर्ब ३ करोड | १६ रुपैयाँ ७६ पैसा |
नेपाल बंगलादेश | ८ अर्ब ८ करोड | १२ रुपैयाँ |
माछापुच्छ्रे | ८ अर्ब ५ करोड | १३ रुपैयाँ ७५ पैसा |
प्राइम कमर्सियल | ८ अर्ब ३ करोड | २० रुपैयाँ ८९ पैसा |
लक्ष्मी | ८ अर्ब २२ करोड | १३ रुपैयाँ ६४ पैसा |
बैंक अफ काठमाण्डु | ७ अर्ब ७ करोड | १७ रुपैयाँ ५४ पैसा |
प्रभु | ८ अर्ब | १४ रुपैयाँ ४५ पैसा |
मेगा | ७ अर्ब ३७ करोड | ९ रुपैयाँ ५५ पैसा |
कुमारी | ५ अर्ब ९६ करोड | १५ रुपैयाँ ७६ पैसा |
सेन्चुरी कमर्सियल | ८ अर्ब ६ करोड | १० रुपैयाँ ४२ पैसा |
सनराइज | ८ अर्ब १५ करोड | १५ रुपैयाँ ४१ पैसा |
एनसीसी | ४ अर्ब ६७ करोड | १५ रुपैयाँ ४८ पैसा |
सिभिल | ६ अर्ब ९३ करोड | ८ रुपैयाँ ९१ पैसा |
जनता | ८ अर्ब | ९ रुपैयाँ ५९ पैसा |
राष्ट्रिय वाणिज्य | ८ अर्ब ५९ करोड | ४७ रुपैयाँ |