बचत तथा मुद्धती खाताको ब्याजदर नबढाउने साझा सहमति विपरित कार्य गरेको भन्दै अन्य वाणिज्य बैंकले एनआइसी एसिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेका छन्।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनको शुक्रबार बिहान बसेको आकस्मिक बैठकले एनआइसी एसियाले सामुहिक सहमति विपरित ब्याजदर बढाएको भन्दै कुनै पनि प्रकारको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको हो।
एसोसियसनमा आवद्ध बैंकहरुले सो निर्णय गरेका हुन्।
गत हप्ता एसोसियसनको बैठकमा बैंकहरुले बचत खाता तर्फको ब्याजदर ८ तथा एक वर्षसम्मको मुद्धती खाताको ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने सहमति गरेका थिए।
यस सहमतिसँगै एनआइसी एसियाले ग्राहकलाई दिँदै आएको बचत खाताको ब्याजदरलाई १० प्रतिशतबाट झारेर ८ प्रतिशतमा सिमित गरेको थियो।
तर बैंकले बिहीबार पूर्वसहमति विपरित बचत खाताको ब्याज १० तथा मुद्धतीमा १२ प्रतिशत ब्याजदर कायम गर्ने सुचना जारी गरेसँगै एसोसियसनले सो निर्णय गरेको हो।
एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एनआइसीले पूर्वसहमती विपरित एकपक्षीय ढंगले निर्णय गर्दै समग्र अर्थतन्त्रलाई नै असर पर्ने गरी ब्याज बढाउने कार्य गरेकाले सो निर्णय गरिएको बताए।
‘एनआइसी एक्लौटीरुपमा अघि बढ्न खोज्यो। उसको निर्णयले समग्र अर्थतन्त्रमा नै जोखिम बढाएको छ। त्यसैले हामीले उसँग कारोबार नगर्ने निर्णय गरेका हौँ’, ढुगांनाले भने।
यसअघि एनआइसीका प्रमूख कार्यकारी अधिकृत लक्षमण रिसालले बिहीबार कार्यकाल नसकिँदै बैंकबाट राजिनामा दिएका थिए।
बैंकले भने एसोसियसनको सो निर्णयमा आधिकारिक रुपमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
उता राष्ट्र बैंकले भने आधिकारिक रुपमा आफूलाई जानकारी आइनसकेकाले केहि बताउन नमिल्ने बताएको छ।
बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले एकदुई वटा बैंकले एक आपसमा कारोबार नगरेको केही उदाहरण भएपनि यसरी सामुहिक रुपमा एक बैंकलाई अलग्याउने निर्णय पहिलो पटक भएको बताए।
पण्डितले एनआइसी एसिया र अन्य २७ वटा बैंकले राष्ट्र बैंकलाई आधिकारिकरुपमा पछिल्लो अवस्थाको जानकारी गराएपछि थप निर्णय लिइने जानकारी दिए।