सेयर बजारबाट एक वर्षमा झण्डै डेढ अर्ब रुपैयाँ पुँजीगत लाभकर वापतको राजश्व रकम उठ्ने गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४५ करोड रुपैयाँ यस्तो लाभकर उठेको छ।
बेचेको मूल्यबाट किनेको मूल्य घटाउँदा आउने धनात्मक अंकको रकमबाट व्यक्तिगत लगानीकर्ताले ५ तथा संस्थागत लगानीकर्ताले १० प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ।
म्युचुअल फण्डलाई भने पुँजीगत लाभकरमा छुट दिइएको छ। हकप्रद र बोनसको विभिन्न आधार मूल्यलाई समेत नेप्सेले पुँजीगत लाभकर गणना आधारको रुपमा लिंँदै आएको छ।
२०५८ सालदेखि नै पुँजीगत लाभकर उठाइँदै आएको नेप्सेले जनाएको छ।
सेयर बजार उकालो लाग्दा यस्तो पुँजीगत लाभकर बढी उठ्ने गरेको र घट्दा कम हुने गरेको नेप्सेका एक अधिकारीले बताए। २०६९/७० मा जम्मा १६ करोड ७९ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो। २०६८/६९ मा नेप्से परिसूचक घटेर २९२ अंकसम्म पुगेको तथ्याङ्क छ। सो परिसूचकले पुँजीगत लाभकरमा प्रभाव पारेको देखिन्छ।
सेयर बजार बढ्दै जाँदा बेच्नेहरु पनि बढ्दै जाने गरेको र कारोबार पनि उच्च हुने भएकाले पुँजीगत लाभकर बढी उठ्ने गरेको नेप्सेले जनाएको छ। २०७३ साउन महिनामा नेप्से हालसम्मकै उच्च १८८१ अंकमा पुगेको थियो। जसले गर्दा सो आर्थिक वर्षमा सबैभन्दा धेरै पुँजीगत लाभकर पनि उठेको छ। हालका दिनमा नेप्से १४ सय अंकको आसपासमा छ।
अर्कोतर्फ बजार ओर्लिँदा घाटामै पनि लगानीकर्ताले सेयर बेच्ने गरेका छन्। नोक्सानमा पुँजीगत लाभकर तिर्नुपर्दैन। त्यस्तै घट्दो बजारमा नाफा कम हुने भएकाले पनि पुँजीगत लाभकरमा असर पर्ने गरेको नेप्सेका अधिकारीले बताए।
नाफाको आकार नै सानो हुँदा लाभकर पनि थोरै हुने गर्दछ भने घट्दो मनोविज्ञानले नोक्सानमै पनि सेयर बिक्री हुने भएकाले पुँजीगत लाभकरमा असर परेको उनले बताए। तिरिने पुँजीगत लाभकरमा समयावधिको भने कुनै असर पर्दैन। यद्यपी वाहय देशमा भने अवधिकै आधारमा यस्तो लाभकर तिर्ने व्यवस्था छ।
‘पुँजीगत लाभकर नै लामो अवधिसँग जोडिएको विषय हो, त्यसैले विभिन्न देशमा निश्चित अवधिपछि हुने सम्पत्ति वृद्धिबाट लाभकर तिर्ने गरिन्छ, यहाँ भने त्यस्तो अवधिको हिसाव गरिँदैन’ उनले भने।
उनका अनुसार यहाँ एक सातामै सेयर बिक्री गरेर नाफा आए पनि लगानीकर्ताले लाभकर तिर्नुपर्दछ। यसअघि व्यक्तिगत लगानीकर्ताका लागि १० र संस्थागत लगानीकर्ताका लागि १५ प्रतिशतसम्म पनि पुँजीगत लाभकर लगाइएको उनले स्मरण गरे।
तरलता व्यवस्थापन मात्रै नभई सरकारले पनि पर्याप्त राजश्व रकम उठाउन सक्ने भएकाले सेयर बजारलाई व्यवस्थित बनाई लैजानुपर्नेमा लगानीकर्ताको जोड छ। बजार व्यवस्थित हुन सकेमा यस्तो राजश्व रकम पनि बढ्ने उनीहरुको भनाइ छ।