सेयर बजारको ओरालो गति साताको पहिलो दिन पनि थामिएन। बजार ४ दशमलव ६ अंकले घटेर १४६७ अंकमा कायम भएको छ।
दोस्रो चरणको चुनावपछि बीचमा एक दिन मात्रै बढेको बजार अरु दिनमा ओरालो लागिरहेको छ। गत साताका कुनै पनि दिन बजारको परिसूचक हरियो हुन सकेन।
आज कारोबार सुरु भएपछि डेढ घण्टासम्म बजार उकालो लागे पनि त्यसपछि टिक्न सकेन। साढे १२ बजेपछि ओरालो लागेको बजार अन्तिम समयसम्म सम्हालिन सकेन।
१६१ कम्पनीहरुको ५५ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। फाइनान्स बाहेकका उपसूचक राता रहे। सो उपसूचक १ अंकमुनि हरियो रह्यो।
बैंकिङ २, व्यापार २, होटल १२, विकास बैंक १७, जलविद्युत ३, बिमा ३६, उत्पादन १३, अन्य ३ र माइक्रोफाइनान्स उपसूचक ३ अंकले घटे।
कारोबारका आधारमा स्टान्डर्ड चार्टड अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ४५ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता २०७७ कायम भएको छ। शत प्रतिशत बोनसको घोषणा गरेको कम्पनीको केही दिनयता उल्लेख्य कारोबार भइरहेको छ।
जनता बैंकको २ करोड ७७ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक संस्थापक, नेपाल टेलिकम पनि कारोबारका आधारमा अगाडि रहे।
ग्रीन डेभलपमेन्ट बैंक र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाए। कन्काइ विकास, युनाइटेड फाइनान्स, तारागा रिजेन्सीका लगानीकर्ताले ४ प्रतिशत बढी कमाए।
सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८ प्रतिशत गुमाउँदा सहयोगी विकास बैंकको मूल्य ८.९ प्रतिशतले घट्यो। छ्याङ्दी हाइड्रो, वर्ल्ड मर्चेन्ट बैंकिङको मूल्य क्रमशः साढे ६ र ५ प्रतिशतले घट्यो।
यसैबीच टेलिकमको साधारणसभा पुस ३० गते बस्ने भएको छ। कम्पनीले ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको कारोबार बन्द भएको छ।
उसको परिपक्व अवधि समाप्त भएपछि कारोबार बन्द भएको हो। प्रतिइकाई २० रुपैयाँमा उसको कारोबार भएको थियो। केही महिनामै लगानीकर्ताले सावा फिर्ता पाउने छन्।