पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले 'राइड फर अ कज' अभियान सुरू गरेको छ।
डा.भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले यही जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकि मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन्।
आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान सुरू गरेको उनको भनाइ छ।
अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ।
'यसरी छुट्याइने रकम राइडरबाट नभइ कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ,' हमालले भनिन्, 'पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो।'
अभियानबाट संकलन हुने रकम बालमैत्री अस्पताललाई दिइने छ। उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिदलगायतमा खर्च हुनेछ। डा. कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो।
डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि सारेका छन्।
कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ भने अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ।