काठमाडौं उपत्यकामा द्रुत बस चल्न थालेको ६ महिनाभन्दा बढी भयो। गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सरकारले द्रुत बस उद्घाटन गरेको थियो।
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस चलेको एक महिना नबित्दै सेवा बन्द भएको थियो। गत मंसिर दोस्रो सातादेखि पुनः सुरू भएको यो सेवा अहिले नियमित छ।
यातायात व्यवस्था विभागका अनुसार हाल ४० वटा गाडीले यस्तो सेवा दिइरहेका छन्। द्रुत बस बिहान साढे ८ बजेदेखि ११ बजेसम्म र अपराह्न साढे ३ बजेदेखि साँझ ६ बजेसम्म चल्छन्।
अहिले यो बस सेवाको प्रभावकारितामाथि भने प्रश्न उठिरहेको छ।
सरकारले यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले यो सेवा सुरू गरेको थियो।
सडकमा डेडिकेटेड लेन नै छुट्ट्याएर थालिएको यो बसले सर्वसाधारणलाई कति सहज बनाएको छ? हामीले यही प्रश्न यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसा रिजाललाई सोधेका छौं।
उनले द्रुत बस सेवा प्रभावकारी नै भएको मान्नुपर्ने बताए।
'यसको प्रभावकारिता मापन गर्न हामीले तथ्यांक संकलन गरेका छौं। तथ्यांक हेर्दा प्रभावकारी देखिन्छ,' उनले भने।
उनका अनुसार द्रुत बसको प्रभावकारिता बुझ्न विभागले करिब चार महिनायता तथ्यांक संकलन गरिरहेको छ। बिहान सूर्यविनायकबाट बस छुटेको समयदेखि रत्नपार्क पुग्दासम्मको समय टिपोट गरिएको छ। यसबीच बस चढ्ने र अन्तिम स्टपमा पुग्दासम्म यात्रुको संख्या पनि टिपोट गरेको छ। यी कामका लागि प्रत्येक स्टेसनमा विभागले छुट्टै जनशक्ति खटाएको छ।
बिहान औसत ४८ देखि ५० मिनेटमा सूर्यविनायकबाट हिँडेको बस रत्नपार्क पुग्ने तथ्यांकले देखाएको छ। त्यस्तै बिहान साढे ८ बजेदेखि साढे ९ बजे गुडेको बसलाई औसतमा ५० मिनेट समय लाग्छ। साढे ९ देखि ११ बजेसम्म गुड्नेलाई भने ५१ मिनेट लाग्ने देखिएको छ।
यात्रु संख्या पनि ९ बजेदेखि ११ बजेसम्म चल्ने बसमा धेरै छन्। बसको सिट क्षमता ४० जना हो। कोटेश्वरबाट चढ्ने यात्रु धेरै छन्। बिहान एउटै बसमा ४५ देखि ५० जनासम्म यात्रु सवार भएको विभागले टिपोट गरेको छ।
अपराह्न-साँझ रत्नपार्कदेखि सूर्यविनायकसम्म जाने बसको समयबारे पनि विभागले टिपोट गरेको छ। यो समयमा चल्ने बसको प्रभावकारिता हेर्न पुस अन्तिम सातादेखि मात्र तथ्यांक संकलन गर्न थालिएको हो।
अपराह्न साढे ३ बजेदेखि ६ बजेसम्म चल्ने बसलाई रत्नपार्कदेखि सूर्यविनायक पुग्न औसत ५४ मिनेट लाग्ने देखिएको छ।
द्रुत बसहरू प्रत्येक तीन-तीन मिनेटमा बस स्टप (बिहान सूर्यविनायक र बेलुकी रत्नपार्क) बाट छुट्नुपर्ने हुन्छ। तर विभागको तथ्यांकले यस्तो देखाउँदैन। गाडी छुट्ने समय १० देखि ३० मिनेटसम्म ढिलो भएको देखिन्छ। त्यस्तै यात्रु संख्या पनि रत्नपार्कभन्दा कोटेश्वर पुग्दा बढेको देखिन्छ। एउटै गाडीमा ५५ जनासम्मले यात्रा गर्छन्।
द्रुत बस सेवालाई सहजीकरण गर्न सरकारले विभागलाई उपत्यका ट्राफिक प्रहरीसँग समन्वय गरी कौशलटार, लोकन्थली र जडिबुटी लगायत मुख्य चोकमा ३० मिटरसम्म अस्थायी 'बेरियर' व्यवस्था गर्न भनेको थियो।
यो काम पनि उति प्रभावकारी भएको देखिँदैन।
'द्रुत बसको लेन छुट्ट्याउन केही ठाउँमा ट्राफिक कोन राख्ने गरेका छौं,' काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने, 'छुट्टै लेन भए पनि यसलाई पूरै द्रुत बसका लागि मात्रै प्रयोग गर्ने गरी खाली गराउने कुरा हुँदैन। ठाउँठाउँमा ट्राफिक प्रहरीले सहजीकरण भने गरिरहेका छौं।'
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला द्रुत बस प्रभावकारी भएको दाबी गर्छन्। आवश्यक पूर्वाधार भने अद्यावधिक र विकास नभएको उनले बताए।
'छोटो समयमै द्रुत बसबारे धेरै यात्रुले बुझे। यो सेवा लिने नियमित यात्रु छन्,' उनले भने, 'सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका छौं। पूर्वाधार भने अपेक्षित ढंगले विकास भएको छैन। व्यवस्थित तरिकाले सेवा अघि बढाउने हो भने सडकमा निजी गाडी कम गुड्ने छन्। गाडीको चाप कम हुनेछ।'
बेग्लै लेन छुट्ट्याएकाले यो बसलाई अत्यावश्यक सवारी साधनका रूपमा हेरिनुपर्ने र निजी तथा अन्य सार्वजनिक सवारी साधनले यसलाई बाटो छोडिदिनुपर्ने उनी बताउँछन्।
हाल दैनिक ४० देखि आवश्यकताअनुसार ४३ वटासम्म द्रुत बस चलिरहेका छन्। भावी दिनमा यो संख्या बढाउने विभाग र महासंघको योजना छ।
द्रुत बस चिन्न सहज होस् भनेर छुट्टै रङको बनाउनेबारे पनि छलफल भइरहेको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए। अहिले बसको अगाडि 'उपत्यका द्रुत बस सेवा' लेखिएको छ।
भविष्यमा द्रुत बस सेवा विस्तार गर्ने योजना पनि छ। रत्नपार्कलाई प्रमुख स्टप बनाउने र यहाँदेखि थानकोट, बुढानीलकण्ठ, लगनखेल रूटमा द्रुत बस चलाउने सोच रहेको सिटौलाले बताए।
'भावी योजनाहरू छन्। तत्कालका लागि भने गाडी थप गर्ने तयारी छ,' उनले भने।
विभागका महानिर्देशक रिजालले बेलुकीको समयमा थप बस चलाउनुपर्ने आवश्यकता देखिएको बताए। यसनिम्ति व्यवसायीहरूसँग छलफल हुँदैछ।
हामीले द्रुत बस नियमित चढ्ने केही यात्रुसँग पनि कुराकानी गरेका थियौं। उनीहरूमध्ये केहीले यो सेवा सहज भएको बताए भने केहीले अरू बसको तुलनामा धेरै फरक नपरेको बताए।
'यो बस स्टपहरूमा थोरै समय रोक्छ। त्यसैले तुलनात्मक रूपमा केही समय अगाडि गन्तव्यमा पुगिन्छ,' एक यात्रुले भने।
उनी रत्नपार्क पुग्न सूर्यविनायकबाट द्रुत बस चढ्छन्। उनका अनुसार अन्य सार्वजनिक बसमा यात्रा गर्दा सामान्यतया डेढ घन्टा लाग्छ। बिहानको द्रुत बसमा भने ५० मिनेटदेखि एक घन्टामै पुगिन्छ।
'बिहानै पहिलो वा दोस्रो बस चढ्ने हो भने ४० देखि ५० मिनेटमा पुगिन्छ,' उनले भने।
बिहान चल्ने द्रुत बसले कलेजका विद्यार्थीलाई धेरै सहज भएको केही विद्यार्थीले बताए। खासगरी तीनकुने, बानेश्वर, बागबजार र पुतलीसडक आसपासका कलेजका विद्यार्थीलाई सजिलो भएको देखिन्छ। अपराह्नको बस चढ्दा भने समय बढी लाग्छ।
'साँझ अरनिको राजमार्गमा चल्ने गाडीको संख्या बढ्छ। त्यसैले द्रुत बसमै पनि ढिला हुन्छ,' महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, 'यसको व्यवस्थाका लागि सम्बन्धितहरू पक्षबीच छलफल आवश्यक छ। पहल पनि हुनुपर्छ'।
महानिर्देशक रिजाल यो बसलाई प्रणालीमा राख्नेबारे व्यवसायी र विभागबीच छलफल भइरहेको बताउँछन्।
'तत्कालका लागि चालकको मोबाइलको जिपिएस प्रयोग गरेर बस ट्र्याक गर्ने र तथ्यांक राख्ने योजना छ। यसमा व्यवसायी र चालकहरूबाट समर्थन चाहिन्छ,' उनले भने, 'यसको प्रभावकारिताबारे अध्ययन हुँदैछ।'
केही समयअघि विभागले द्रुत बसबारे जानकारी दिन 'एक्सप्रेस बस सर्भिस नेपाल' नामको एप सार्वजनिक गरेको थियो। यो एपबाट यात्रुले बस नम्बर, बस छुट्ने समय, कुन ठाउँमा पुग्यो वा बिसौनी कुन-कुन स्थानमा छन् भन्नेबारे जानकारी लिन सकिन्छ।