गत सोमबार बिहान पौने छ बजे सृष्टि पन्त डेराबाट कलेज हिँडिन्।
पशुपति क्याम्पसमा जाँदै गरेकी उनलाई सुकेधारा चोकमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दियो।
उनको ओम उपचारको क्रममा मृत्यु भयो। यो घटनामा चालकको दोष देखिएको प्रहरीको भनाइ छ।
नेपालमा हुने कुल दुर्घटनाको ८० प्रतिशत चालकको लापरबहहीको कारण हुने गरेको छ। बाँकी २० प्रतिशत यान्त्रिक गडबडी, सडकको अवस्थालगायत कारणले हुने गरेको तथ्याङ्क छ।
यातायात व्यवस्था विभागले यस्ता कारणले हुने दुर्घटना कम गर्न संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा नयाँ नियम प्रस्ताव गरेको छ।
विभागले सार्वजनिक सवारी साधन चलाउनुपूर्व दुईदेखि तीन महिने कोर्स लिनुपर्ने मस्यौदामा उल्लेख गरेको विभागका महानिर्देशक गोगनप्रसाद हमालले जानकारी दिए।
‘पहिले लाइसेन्स लिनु पर्यो र सार्वजनिक यातायात चलाउने हो भने त्यो कोर्स सकेको सर्टिफिकेट हुनुपर्छ,’ हमालले सेतोपाटीसँग भने।
यो कोर्समा ट्राफिक नियम कानुन, गाडीको यान्त्रिक अवस्थाको बारेमा जानकारी, यात्रुसँग व्यवहार लगायतको तालिम दिइने उनले जानकारी दिए।
त्यस्तै, ट्रायलको विधि परिवर्तन गर्न पनि प्रस्ताव गरिएको उनले जानकारी दिए।
‘सार्वजनिक यातायात चलाउनेलाई र व्यक्तिगत सवारीसाधन चलाउनेलाई एकै प्रकारले ट्रायल लिनु हुँदैन,’ उनले भने, ‘सार्वजनिक यातायात चलाउनको लागि ट्रायल पास भएपछि छ महिना वा एक वर्षको परीक्षण अवधि तोक्ने। यो अवधिमा राम्रोसँग सवारी साधन चलायो, कुनै दुर्घटना गरेन भने त्यसलाई प्रोफेसनल लाइसेन्स दिने।’
विभागले यो लगायत समग्र कानुनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग १३ र १४ गते काठमाडौंमा छलफल गर्ने उनले जानकारी दिए।
‘प्रदेश सरकारसँग छलफलपछि हामी ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउँछौं। मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय तथा सुझाव लिन्छ। त्यसपछि संसदमा जान्छ,’ हमालले भने।
संसदले अनुमोदन गरेपछि यो ऐन लागू हुन्छ। यो ऐन लागू भएपछि चालकको गल्तीको कारण हुने दुर्घटना कम हुने हमालको तर्क छ।
‘दुर्घटनालाई सिस्टमले मिनिमाइज गर्ने हो। चालकको त्रुटि मात्र हटाउन सकियो भने पनि धेरैको ज्यान जोगाउन सकिन्छ,’ उनले भने, ‘सरकारले चालकलाई पनि लगानी गर्नुपर्छ। चालकलाई जिम्मेवार बनाउन सक्यौं भने दुर्घटना धेरै घटाउन सक्छौँ।’