न्युरोड र आसपासको क्षेत्रमा जाँदा धेरैलाई एउटा चिन्ताले सताउँछ, पार्किङ कहाँ गर्ने होला ?
अब भने यो समस्याको समाधान हुने भएको छ। अर्को हप्ता देखि न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ संचालनमा आउने भएको भएको छ।
काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको गरी कुल पाँच स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागेको हो।
सम्पुर्ण काम सकेर कर्मचारिलाई ट्रेनिङ दिने काम भइरहेको ह्विल्स टुलीका सूचना प्रविधि कोअडिनेटर हरिश अग्रवालले जानकारी दिए। ‘हाम्रो म्यानपावरलाई ट्रेनिङ दिने, ‘पिओएस’ मेसिन चलाउन सिकाउने लगायतको काम भइरहेको छ। अर्को हप्ता देखि पार्किङ औपचारिक रुपमा सुरु हुन्छ,’ उनले सेतोपाटीसँग भने।
यो योजना लागू भएपछि मोबाइल एपबाट पार्किङ छ कि छैन भन्ने हेर्न सकिनेछ। ठाउँ खाली भए बुक पनि गर्न सकिने अग्रवालले बताए।
पार्किङ बुक गर्न त्यहाँ जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्नु पर्नेछ। पार्किङ बुकिङ १५ मिनेट अगाडि मात्र गर्न सकिनेछ।
त्यस ठाउँमा पार्किङको अवस्था जानकारी दिन एलइडी स्कृन राखिएको हुन्छ। रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्।
पार्किङको लागि दुई पांग्रे सवारीले प्रतिघन्टा २५, चार पांग्रेले ६० रुपैयाँ तिर्नुपर्नेगरी शुल्क निर्धारण गरिएको छ। पार्किङलाई मर्यादित र व्यवस्थित बनाउन ५५ जना पार्किङ अटेण्डेन्ड खटाइने छ।
यो सेवा लिन मोबाइलमा ‘पार्क केटिएम’ नामक एप डाउनलोड गर्नुपर्नेछ। यो एप एन्ड्रोइड स्टोरमा उपलब्ध भइसकेको अग्रवालले जानकारी दिए। वैशखदेखि स्मार्ट पार्किङ सुरु गरिने भनिए पनि प्राविधिक काम पुरा नहुँदा ढिलाई भएको ह्विल्स टुलीले जनाएको छ।