मालिका इन्कर्पोरेटले गत कात्तिक ५ गते देखि लाइसेन्स (स्मार्ट कार्ड) छाप्न सुरु गरेको हो।
करिब ६ लाखले लाइसेन्सको प्रकृया पुरा गरे पनि रसिदको भरमा हिँड्नुपरेपछि विभागले ‘ब्याक लक’ हटाउन ‘आउटसोर्सिङ मार्फत’ मालिकालाई ४५ दिनभित्र करिव ५ लाख लाइसेन्स छाप्ने जिम्मा दिएको थियो।
विभागको मालिकासँग ४५ दिनमा ५ लाख लाइसेन्स छाप्ने सहमति भए पनि ३८ दिन बितिसक्दा छपाई भने ‘कछुवाको गति’मा अघि बढेको छ।कात्तिक देखि नै लाइसेन्स छाप्न सुरु गरे पनि ‘डाटा इरर’ भएर पुरा क्षमताअनुसार छाप्न नसकिएको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले दाबी गरे।
‘हामीलाई विभागबाट उपलब्ध डाटा मध्ये करिव ५० प्रतिशत इरर हुन्छ’ उनले भने ‘विवरण नै नपाएपछि हामीले कसरी छाप्ने।’
यस सम्वन्धी विभागलाई लिखित निवेदन दिन लागिएको ढकालले जानकारी दिए। ‘हामीले बारम्बार मौखिक रुपमा यो समस्याको बारेमा जानकारी गराएका थियौँ। समस्या कायमै रहेकोले आज लिखित निवेदन दिन लागेका हौँ’ उनले सेतोपाटीसँग भने।
लाइसेन्स छाप्न नपाउँदा सेवाग्राहीसँगै आफुहरुलाई समेत समस्या परेको उनले बताए।‘हामीले ४५ दिनको लागि भनेर कलेजका विद्यार्थी लगायत कर्मचारी राखेका छौँ, छपाई जति ढिलो भयो हामीलाई त्यति नै घाटा हो’ ढकालले भने।
यो समस्या प्रति विभाग पनि उदासिन रहेकोमा उनको आपत्ति छ।‘पहिले यो समस्या हटाउन विभागले भारतबाट इन्जिनियर बोलाएर प्रयास गरेको थियो तर तिहार पछि त्यो पनि छैन।’ उनले भने।
उता विभागले भने आफ्नो गल्ती नभएको दावी गर्दै आएको छ। ‘उहाँहरुको सफ्टवयेर नमिलेर त्यो समस्या आएको हो। हामीले पहिले इन्जिनियर बोलाएर सहयोग गरेका मात्र हौँ’ विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने ‘अबको जिम्मा उहाँहरुको हो।’
लाइसेन्स छपाइमा निर्धारित समय भन्दा धेरै लाग्ने उपाध्यायले स्वीकार गरे।
‘हाम्रो ४५ दिनमा ५ लाख लाइसेन्स बुझाउनु पर्ने सम्झौता थियो। प्राविधिक समस्या र दसंैतिहार परेको हुनाले कहिलेदेखि ४५ दिनको गिन्ती सुरु गर्ने छलफल भैसकेको छैन’ उनले भने।
१ लाख भन्दा धेरै लाइसेन्स छापियो
मालिकाले १ लाख ४ हजार भन्दा धेरै लाइसेन्स छापिसकेको छ। छापिएको लाइसेन्स आज र भोेलिमा विभागलाई जिम्मा लगाइने ढकालले जानकारी दिए।‘विभागले लाइसेन्स जिम्मा लगाउन सहज वातावरण बनाइदिएको छ। आज करिव ६० हजार र भोलि ४० हजार लाइसेन्स बुझाउने तयारी छ,’ ढकालले भने।