पेट्रोल र डिजेल गाडीलाई निरुत्साहित गर्दै सन् २०२० सम्ममा नेपालमा कुल सवारीसाधनको २० प्रतिशत विद्युतीय बनाउने प्रधानमन्त्री ओलीको घोषणा ताजै छ।
गत कात्तिक ६ गते बिजुली बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यी विद्युतीय गाडीहरू यतिमैमात्र सीमित नभई ‘माछाले फुल पारेझै’ बिजुली गाडी थपिने दाबी गरे। तर प्रधानमन्त्रीको त्यो भाषण, भाषणमै सीमित भएको छ।
प्रधानमन्त्री, अर्थमन्त्री, नागरिक उड्ययन तथा पर्यटन मन्त्री, वन मन्त्री, काठमाडौं र ललितपुरका मेयर लगायत नेपालका उच्च व्यक्तित्व बोलाएर निकै तामझामको साथ सुरू गरिएको बिजुली गाडी उनीहरूलाई सिंहदरबार पुर्याएर त फर्कियो तर त्यसपछि भने न गाडीले सर्वसाधारण बोक्यो न त मन्त्री प्रधानमन्त्रीहरूले त्यसको बारेका चासो नै देखाए।
यी गाडी एसियाली विकास बैंकको सहयोगमा लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्टदेखि लुम्बिनीसम्म पर्यटक बोक्न ल्याइएको हो।
लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा नआउञ्जेल लुम्बिनी क्षेत्र विकास कोषले साझा यातायातलाई पैंचोमा दिएको हो।
नागरिक उड्ययन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले बिजुली बसको उद्घघाटनकै दिन १० महिनामा एयरपोर्ट सञ्चालनमा आउने बताएका थिए। त्यो भाषण गरेको १ महिना बितिसक्दा पनि गाडी भने सञ्चालनमा आएको छैन। पर्यटन मन्त्रीले भनेझैं भयो भने यी गाडी अब ९ महिनामात्र काठमाडौंमा चल्न पाउनेछन्।
केही प्राविधिक र प्रशासनिक काम बाँकी रहेकोले गाडी सञ्चालनमा ढिलाई भएको वातावरणविद् तथा साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले जानकारी दिए।
‘त्यो बेलामा चीनका पाहुना आउने र प्रधानमन्त्री ज्यूहरूको पनि समय मिलेका कारण कागजी प्रकृया पूरा नगरी उद्घाटन गरेका हौं। लुम्बिनी क्षेत्र विकास कोषसँग सम्झौता हुनै छ, त्यस्तै गाडी परीक्षण लगायतको प्राविधिक काम पनि भइरहेको छ,’ तुलाधरले सेतोपाटीसँग भने, ‘अब छिट्टै सम्पूर्ण प्रकृया पूरा भएर रुट टुंगो लागेपछि गाडी सञ्चालनमा आउँछ।’
गाडीको दर्ता लगायतको काम साझाले नभई लुम्बिनी क्षेत्र विकास कोषले नै गर्नुपर्ने भएकोले साझाको तर्फबाट केही गर्न नसकिएको उनले स्पष्ट पारे।
‘हामीले प्रकृया अगाडि बढाउन सक्दैनौं, बरु उहाँहरूलाई प्रकृया पूरा गर्न सहयोग भने गर्न सक्छौं,’ तुलाधरले भने।
प्रधानमन्त्रीले उद्घाटन गरी देशैभर विद्युतीय गाडीको लहर आउने बताएको १ महिना बितिसक्दा पनि रिवन काटेकै गाडी साझा यातायातको प्रांगणमा थन्किएर बस्नु बिडम्बना हो।
‘किनेर ल्याओस् वा पैंचोमा’ बिजुली बसले आम सर्वसाधारणको आशा भने अवश्य नै जगाएको थियो।
साझा वा लुम्बिनी क्षेत्र विकास कोष, गल्ती जो सुकैको होस् यो विषयमा सरोकारवालाहरू उदासिन भएको प्रष्टै बुझ्न सकिन्छ।
सबै तस्बिरहरू : सुधिर भण्डारी/सेतोपाटी