रत्नपार्कस्थित नेपाल विद्युत प्रधिकरण केन्द्रको प्राङ्गढमा रहेको चार्जिङ स्टेशनको विद्युत कनेक्सन छुटाइयो। कारण थियो विवाईडी कम्पनीको लापरबाही।
चार्जिङ स्टेशन राखेको १ वर्ष पुग्न लाग्दासमेत कम्पनीले मिटर जोड्नेलगाएतको अन्य केही प्रकृया पुरा नगरेपछि बाध्य भएर कनेक्सन छुटाउनु परेको विद्युत प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले जानकारी दिइन्।
‘सुरूमा विद्युतीय गाडी प्रचार गर्न प्राधिकरणले ठाँउ उपलब्ध गरायो। तर, उनीहरूले प्रकृया पुरा नगरेपछि कनेक्सन छुटाउनु परेको हो,’ अर्यालले सेतोपाटीसँग भनिन्, ‘कम्पनीले सम्झौता गर्न मान्छे पठाउँछु त भन्छ तर, सधै आलटाल गर्छ।’
कम्पनीले प्रकृया पुरा नगरे अब चार्जिङ स्टेसननै हटाउन बाध्य हुने उनले चेतावनी दिइन्।
‘प्राधिकरणले १ वर्षको लागि ठाउँ उपलब्ध गराएको हो त्यसैले अहिले तार मात्र छुटाइयो पछि कम्पनीको यही रवैया भयो र प्राधिकरणलाई ठाउँ आवश्यक परेमा चार्जिङ स्टेसन हटाउनुपर्ने पनि हुन सक्छ,’ अर्यालले सेतोपाटीसँग भनिन्।
यसैबीच बिवाईडी कम्पनीकै ३ वटा नयाँ गाडी प्राधिकरण आइपुगेको छ। बा २ छ ४०९, बा २ छ ४१३, बा २ छ ४१५ नम्बरको गाडी ऊर्जा मन्त्री, सचिव र प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको लागि ल्याइएको अर्यालले जानकारी दिइन्।
गाडी आए पनि प्राधिकरणको चार्जिङ स्टेसन बेवारिसे हुँदा कुलमान घिसिङकै गाडी पनि फास्ट चार्ज गर्नुपरेमा थापाथलीस्थित प्राधिकरणको इन्जिनियरिङ निर्देशनालयमा राखेको चार्जिङ स्टेसन लैजानुपर्ने हुन्छ।
सरकारी निकायले कुनै प्राइभेट कम्पनीलाई यती सुविधा दिनु सानो कुरा होइन। प्राधिकरणले चार्जिङ स्टेसन राख्ने इजाजत दिएपछि बिवाईडि कम्पनी एकाएक चर्चामा आयो। राष्ट्रपतिदेखि मन्त्रीहुँदै सरकारी कर्मचारीले समेत यो कम्पनीको गाडी खरिद गरे। तर, कम्पनीले प्राधिकरणले दिएको स्थानमा निर्माण गरेको चार्जिङ स्टेशन हात्तिको देखाउने दात मात्र भएको छ।